• १२ साउन २०८१, शनिबार

बाँकेमा २५ प्रतिशत रोपाइँ

blog

बाँकेको डुडुवामा रोपाइँ गर्दै किसानहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २५ गते । बाँकेमा २५ प्रतिशत रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म दुई प्रतिशत मात्र रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले २५ प्रतिशत रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले बताउनुभयो । 

उहाँले यो साता जिल्लामा पर्याप्त वर्षा भएकोले आठ वटै पालिकामा रोपाइँ तीव्र गतिले भइरहेको जनाउँदै आगामी दस दिनभित्र ८० देखि ९० प्रतिशत रोपाइँ सम्पन्न हुने अनुमान गरिएको बताउनुभयो । त्यसपछि बाँकी रहेको रोपाइँ छिटपुट रूपमा केही दिनसम्म भइरहने पनि कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । 

असार १५ गते धान दिवस मनारइरहँदासम्म जिल्लामा पानी नपरेकोले अधिकांश किसानले बिउँ समेत राख्न पाएका थिएनन् । सोही कारणले सो अवधिसम्म दुई प्रतिशत मात्र रोपाइँ भएको थियो । पानी अभावले ढिलै सुरु भएपनि जिल्लामा धान उत्पादन हुने सब खेतमा रोपाइँ हुने र उत्पादन समेत राम्रो हुने आशा गरिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख खाँले बताउनुभयो । 

समयमा रोपाइँ सुरु गर्न नसक्दा चिन्तामा परेका बाँके डुडुवा–५ का किसान रमेश यादवले आफूले हालसम्म २५ प्रतिशत भन्दा बढी रोपाइँ गरिसकेको जनाउँदै पछिल्लो समयको वर्षाले उत्पादन राम्रो हुने आशा बढाएको बताउनुभयो । खजुरा ३ का किसान रामु थापाले ढिलै भएपनि धेरै राम्रो वर्षा भएकोले सोचे भन्दा राम्रो रोपाइँ गरेको बताउनुभयो । 

कृषि ज्ञान केन्द्र बाँकेले पनि यस वर्ष ढिला गरी रोपाइ सुरु भएपनि बाढी र डुबान भएन भने विगत भन्दा राम्रो उत्पादन हुने सम्भावना रहेको जनाएको छ । बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जग्गा छ । गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सोही क्षेत्रफलमा धानखेतीका लागि रोपाइँ भइरहेको छ ।