• १२ साउन २०८१, शनिबार

सिन्धुलीमा पचास प्रतिशत रोपाइँ

blog

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, असार २५ गते । सिन्धुलीमा पचास प्रतिशत धान रोपाइँ भएको छ । यस वर्ष बेलैमा मनसुन सुरु भएकोले सिन्धुली जिल्लाका नौ वटै स्थानीय तह गरी ५० प्रतिशतभन्दा बढी अर्थात् करिब छ हजार हेक्टरमा रोपाइँ सकिएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको हो । 

जिल्लामा कुल खेती योग्य जमिन ६९ हजार २५३ हेक्टरमध्ये वर्षे धान खेतीयोग्य जमिनको क्षेत्रफल ११ हजार १८८ हेक्टर छ । गत वर्ष जिल्लामा साउन महिनाको अन्तिमसम्ममा करिब १२ हजार हेक्टर जमिनमा धान खेती भएको कार्यालयको सूचना अधिकारी उमादेवी श्रेष्ठले जानकारी दिनुभयो । 

नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा धान खेतीका लागि कमलाखुजँ, मरिण र तीनपाटन  उर्बर क्षेत्र मानिन्छ ।

श्रेष्ठका अनुसार दुधौली, कमलाखोंच, मरिण क्षेत्र, कमलामाई नगरपालिका, हरिहरपुरगढी लगायत जहाँ सिंचाइको सहज सुविधा छ ती ठाँउमा धान रोपाइँ यो वर्ष बढी भएको छ । अन्य क्षेत्रमा पनि मनसुनको आगमनसँगै रोपाइँ सुरु भएको र सिन्धुली जिल्लामा साउनको तेस्रो सातासम्म रोपाइँ हुने गरेको उहाँले बताउनुभयो । 

जिल्लामा खेती हुने धानका प्रमुख जातहरुमा सावित्री, रामधान, म्वानपुर १, राधा ४, सुख्खा ३, र हाइब्रिड जात अन्तर्गत युएस ३१२, युएस ३०५ आदि रहेका कार्यालयले जनाएको छ ।

यस्तै, कमलामाई नगरपालिका–१० निवासी किसान हरिबहादुर भुजेलका अनुसार मनसुनी वर्षासँगै सिन्धुली जिल्लाका किसानलाई रोपाइँ गर्ने चटारो बढेको छ । आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतका रूपमा बर्खे धानखेती रहेकाले रोपाइँ गर्ने चटारो बढेको किसानको भनाइ छ ।