• १२ साउन २०८१, शनिबार

दियालो बङ्गला दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुल्ला

blog

तस्बिर : शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, असार २३ गते । चितवनको भरतपुर १ आँपटारीस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको दियालो बङ्गला दरबार सङ्ग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । राजपरिवारले बिदा मनाउन प्रयोग गरिँदै आएको उक्त ऐतिहासिक दरबार क्षेत्रमा आइतबार एक औपचारिक कार्यक्रम गरी आजकै दिन देखि आम सर्वसाधारणको लागि अवलोकन खुल्ला गरिएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सङ्ग्रहालयको मूलद्वारमा रिबन काटेर सङ्ग्रहालयको सर्वसाधारणको लागि प्रवेश अवलोकन खुल्ला गर्नुभएको हो । उद्घाटन मन्तव्य व्यक्त गर्दै मन्त्री तामाङले दियालो बङ्गला अध्ययन अनुसन्धानको लागि महत्त्वपूर्ण गन्तव्यस्थल बन्न सक्ने बताउनुभयो ।

भरतपुर भ्रमण वर्ष २०२४ लक्षित गरी भरतपुर महानगरपालिकाले नेपाल ट्रस्टसँग सम्झौता गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी उक्त सङ्ग्रहालय अवलोकनको व्यवस्था मिलाउने तयारी गरेको थियो । महानगरले पहिलो चरणका २०८२ चैत सम्म उक्त सङ्ग्रहालय अवलोकनको व्यवस्था मिलाउने सम्झौता गरेको छ ।

राजपरिवारका सदस्यहरू काठमाडौँको जाडो छल्न, चितवन राष्ट्रिय निकुञ्जमा सिकार खेल्न र मनोरञ्जनको लागि उक्त दरबारमा आउने र बस्ने गरेको बताइन्छ । उक्त सङ्ग्रहालयमा राजपरिवारले प्रयोग गरेका सामग्रीहरू, सिकार गरी मारेका वन्यजन्तुका छालालगायतमा अखेटोपहारले सजाइएका छन् । 

दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ राजाको सुरक्षा गार्डका लागि एडीसी क्वाटर छ भने मूल दरबारमा व्यवस्थित बैठक कोठा, राजाले प्रयोग गरेका पलङ, भान्सा, डाइनिङ र बार समेत देख्न सकिन्छ ।

२०२८ सालमा तत्कालीन राजा महेन्द्रको देहावसान भएको उक्त दरबारमा ठुलो बैठक कक्षको भित्तामा राजा महेन्द्र रत्नराज्य लक्ष्मी र वीरेन्द्र र ऐश्वर्याको तस्बिर सजाएर राखिएका छन् । भित्तामा बाघको टाउको जस्ताको तस्तै राखिएको छ । राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही भर्‍याङमा सजाइएको छ । सिकारका सौखीन राजा महेन्द्र तराईमा सिकार खेल्न जाँदा दियालोमै बस्थे । उनको २०२८ माघ १७ मा दियालो बङ्गलामै निधन भएको थियो । त्यसपछि वीरेन्द्र राजा महेन्द्रको वार्षिक तिथि पारेर राजा वीरेन्द्र बङ्गलामा आउने गर्थे। राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाएका थिए ।

सर्वसाधारणलाई खुल्ला गरिएको उक्त कार्यक्रमको सभाध्यक्षता गर्नुभएकी भरतपुर महानगर प्रमुख रेनु दाहालले आफ्नो माग सहर्ष स्वीकार गरी कार्यरुप दिएकोमा नेपाल ट्रस्टलाई धन्यवाद दिनुभएको छ । उहाँले भरतपुर भ्रमण वर्ष २०२४ को लागि उक्त सङ्ग्रहालय एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुने पनि बताउनुभयो । उहाँले सङ्ग्रहालयसँगै भरतपुर विमानस्थल विस्तारको लागि महत्त्वपूर्ण भूमिका खेल्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उक्त मन्त्रालय सम्हाल्दै आउनुहुने मन्त्रीहरूलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाल ट्रस्ट सञ्चालक समिति सदस्य सुनिता गौतम, भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारी लगायतले बोल्नुभएको थियो।