• ९ मंसिर २०८१, आइतबार

सहकारी संसदीय छानबिन विशेष समिति, सरोकारवालासँग परामर्श तीव्र

blog

सूर्यबहादुर थापा क्षेत्री, सभापति सहकारी संसदीय छानबिन विशेष समिति

काठमाडौँ, असार २१ गते । सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले नीति निर्माण, संरचनागत व्यवस्थापनसहित सहकारी क्षेत्रका बेथिति निराकरणका सन्दर्भमा सरोकारवालासँगको परामर्श तीव्र पारेको छ ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार समितिको बिहीबारको बैठकमा समस्यामा परेका सहकारीको विभिन्न निकायबाट भइरहेको छानबिन, अनुसन्धानसहित नीतिगत तहको छलफल भएको हो । महालेखा परीक्षक तोयम राया, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेसहितका पदाधिकारीसँग सहकारीको नियमनको स्थिति, प्रभावकारी निकायको आवश्यकतासहितका विषयमा छलफल भएको छ । 

सभापति थापाले समितिले माग गरेका कागजात छिटो उपलब्ध हुने गरी संयोजन गर्न सहकारी विभागको नेतृत्वलाई ध्यानाकर्षण गरिएको बताउनुभयो । उहाँका अनुसार शुक्रबारको बैठकमा गृह मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख र अपराध अनुसन्धान विभागका प्रमुखसँग सहकारीका समस्या र भइरहेको अनुसन्धानका सन्दर्भमा छलफल हुने छ । 

उहाँले २०७५ देखि नै सहकारीका समस्याका सन्दर्भमा महालेखाको प्रतिवेदनमा र विशेष गरी महालेखाको ६० औँ र ६१ औँ प्रतिवेदनमा सहकारी क्षेत्रका समस्याबारे उल्लेख भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यद्यपि महालेखाको कार्यक्षेत्र सिधै सहकारी संस्थासम्म जोडिँदैन । सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्डसँग जोडिन्छ ।”

सभापति थापाले सहकारी विभागले सहकारी क्षेत्रको सूचना प्रणाली तयार गरेको भए पनि त्यसको कार्यान्वयन राम्रोसँग नभएको पाइएको बताउनुभयो ।  उहाँका अनुसार महालेखा परीक्षक रायाले सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने सन्दर्भमा कुरा राख्नुभएको छ । त्यसै गरी शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक भट्टराईले सम्पत्ति शुद्धीकरण गर्नुपर्नेसहित सुपरीवेक्षणका सन्दर्भमा देखाइएका हैसियतको सम्बोधन र कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार सम्पत्ति शुद्धीकरण विभागले विभिन्न सहकारी संस्थाको अध्ययन गरेको छ । 

विभागले समस्याग्रस्त सहकारीहरू पशुपति सेभिङ क्रेडिट कोअपरेटिभ लिमिटेड, शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, कृषि विकास बहुद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र गौतमश्री बहुद्देश्यीय सहकारी संस्था लिमिटेडमाथि अध्ययन अनुसन्धान गरिरहेको छ ।

त्यसै गरी इमेज बचत तथा ऋण सहकारी संस्था, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारीमाथि पनि विभागले अध्ययन अनुसन्धान गरिरहेको छ । उहाँका अनुसार ३९ वटा सहकारी छानबिन प्रक्रियामा रहेका, समस्याग्रस्त ११ वटामध्ये चार वटाको अध्ययन पूरा भएको छ । 

उहाँले सहकारी रजिस्ट्रारसँग पत्राचार गरेर मागिएको कागजातका सन्दर्भमा छलफल भएको बताउनुभयो । उहाँले २९ सहकारीका सञ्चालकलाई देशविदेशमा जहाँ भए पनि समितिको सम्पर्कमा आउन आग्रह गर्नुभयो ।