• २३ असार २०८१, आइतबार

सेज ऐन कार्यान्वयन नहुँदा आकर्षण देखिएन

blog

विशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवामा आयोजना गरेको कार्यक्रममा उद्योगीहरु । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, असार २० गते । उद्योगीहरूले विशेष आर्थिक क्षेत्र (सेज) सम्बन्धी ऐन प्रभावकारी कार्यान्वयन नहुँदा समस्या देखिएको बताएका छन् । 

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा सरकारको तर्फबाट समाधान गर्नुपर्ने समस्या भए पनि समाधान नभएको उद्योगीको गुनासो छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले बुधबार भैरहवामा आयोजना गरेको उद्योगी लगायत सरोकारवालासँगको छलफलमा उद्योगीले सरकारी उदासीनताले समस्या भोगिरहेको बताएका छन् ।

साढे दुई दशक अघि निर्यात बृद्धिगरी व्यापार घाटा कम गर्ने भन्दै सरकारले विशेष आर्थिक क्षेत्रको अवधारणा ल्याएको थियो । सोहीअनुरूप मुलुकमै पहिलो पटक दुई दशक अघि भैरहवामा जग्गा अधिग्रहण गरी सेज निर्माण सुरु भयो । सरकारी संरचना निर्माण भए पनि लामो समय भैरहवा सेजमा उद्योगी आएनन् । बरु मन्त्री फेरिएसँगै सधैजसो सेज उद्घाटन र निरीक्षण गर्नेक्रम चलिरह्यो । 

पछिल्लो पटक केही उद्योग निर्माण भएर सञ्चालनमा आएका छन् । सञ्चालित उद्योगले बाह्य मुलुक निर्यात पनि गरेका छन् । तर, सेज भने अझै पूर्ण सञ्चालनमा आउन सकेको छैन ।

सेजमा सञ्चालन हुने उद्योगका लागि उपलब्ध गराउने भनिएको सेवा सुविधा उपलब्ध गराउन सरकारीस्तरबाट गरिएको प्रतिबद्धता दुई दशकसम्म पनि कार्यान्वयनमा नआएको र अन्य पूर्वाधार पनि उपलब्ध नभएकाले उद्योग सञ्चालनमा कठिनाइ हुने गरेको भनाइ व्यवसायीहरूको छ ।

भैरहवा सेजमा फर्नेस आयल उत्पादनका लागि उद्योग सञ्चालनको तयारी गरिरहनुभएका उद्योगी अजयमान श्रेष्ठले उद्योग सञ्चालन गर्ने व्यवसायीका लागि दर्तादेखि अन्य सबै प्रक्रिया पूरा गर्न सेज ऐनमा एकद्वार प्रणाली भनिए पनि त्यसअनुरूप सेवा उपलब्ध हुन नसकेको बताउनुभयो । 

सेजमा भाडादर बढी भएको गुनासो उनीहरूको छ । अहिले सेजमा रहेका उद्योगीले प्रतिवर्गमिटर २० रुपियाँ भाडा तिरिरहेका छन् । यसलाई १० रुपियाँमा झार्नुपर्ने उद्योगीको माग छ । ‘अहिलेको भाडादर निकै कम गर्नुपर्छ’, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भन्नुभयो, ‘हामीले पहिल्यैदेखि माग गरिरहेको गुनासो अझै सम्बोधन भएको छैन ।’ 

पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहुले सेजमा उद्योग सञ्चालन गर्दा धेरै दुःख पाएको गुनासो गर्नुभयो । भनिएअनुसारको सेवासुविधा नपाइएकाले सेजमा उद्योग स्थापना गरेकोमा पछुतो लाग्न थालेको उहाँले बताउनुभयो । 

५२ बिघा क्षेत्रफलमा रहेको भैरहवा सेजमा उद्योग सञ्चालनका लागि एक हजार ५०० देखि तीन हजार २०० वर्गमिटरका ६९ वटा प्लट छन् । एक अर्ब रुपियाँ हाराहारीको लगानी भएको भैरहवा सेज पूर्णरुपमा सञ्चालनमा नआउँदै जीर्ण बनेको छ । सेजमा एकद्वार प्रणालीसहित बन्द हडताल निषेध, बैङ्क, बिमा कम्पनी, २४ घण्टा उपलब्ध हुने बिद्युत डेडिकेटेड लाइन, खानेपानी, उत्पादित बस्तुको प्रदर्शनी हल, सेमिनार हल, चाइल्ड केयर सेन्टर, विद्यालय, हुलाक, स्वास्थ्य चौकी, मनोरञ्जन स्थल लगायतका सुविधा उपलब्ध हुनुपर्ने प्रावधान छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक तुल्सीराम मरासिनीले भैरहवा सेजमा व्यवसायीले भोग्नु परेका कठिनाइको पहिचान गरी समस्या समाधानका लागि प्राधिकरणले पहल गर्ने बताउनुभयो । मरासिनीले भन्नुभयो, ‘सेज प्राधिकरणबाट समाधान हुन सक्ने समस्या तत्काल र नीतिगत रूपमा सुधार गर्नुपर्ने समस्यालाई मन्त्रालयसमक्ष लगेर व्यवसायीको समस्या समाधान गरिने छ ।’