• २३ असार २०८१, आइतबार

मुस्ताङमा फल्यो तरबुजा

blog

शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा परीक्षण गरिएको तरबुजा । तस्बिर: गोरखापत्र

अमृतप्रसाद पौडेल

म्याग्दी, असार २० गते । शीतोष्ण हावापानीमा फल्ने फलफूल तथा तरकारीको बिउ तथा बेर्ना उत्पादनका लागि सक्रिय हिमालपारिको जिल्ला मुस्ताङमा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले गर्मी ठाउँमा फल्ने तरबुजा चिसोमा पनि फलाएको छ । 

तराइ क्षेत्रमा फल्ने तरबुजा समुद्री सतहदेखि दुई हजार छ सय ५० मिटरको उचाइमा रहेको मार्फामा रहेको सिसाघरमा रोपेर फल फलाइएको हो । गत वर्ष पनि तरबुजा रोपिएको र पहिलो प्रयोग पटक नै तरबुजा फलाइएको र अहिले थप फरक विधि प्रयोग गरेर रोपिएको केन्द्रका निमित्त केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । उहाँका अनुसार तराइको आँप सँगै तरबुजा फल्ने सोची रहेका नागरिकहरूका लागि आँप नभएर हिमालको स्याउ सँगै तरबुजा फलाउन सकिन्छ कि भनेर गरेको प्रयोग केही हदसम्म सफल भएको उहाँको भनाइ छ । 

फलफूल तथा तरकारीको अध्ययन तथा हाइब्रिड बिरुवा  उत्पादन तथा अध्ययन अनुसन्धान हुने मार्फामा गरिएको परीक्षण पुनः सफल भएको उहाँको भनाइ छ । 

गत वर्ष खुल्ला र प्लास्टिक घरभित्र तथा सिसाको घरभित्र गरी तीन स्थानमा परीक्षण गरिएकोमा खुल्लामा गत वर्ष नफले पनि सिसा र प्लास्टिक घरभित्रको तरबुजा फलेको उहाँको भनाइ छ । हिमालपारिको जिल्ला मुस्ताङमा दिनमा भन्दा रातमा तापक्रम निकै चिसो हुने भएकाले पनि वनस्पतिमा वृद्धि विकासमा चिसोले प्रतिकूल असर पर्ने देखिएकोले पनि बाहिर रोपिएको तरबुजालाई केही असहज भएको उहाँको भनाइ छ ।

तरबुजाको परीक्षण उत्पादन सफल भएकोले चिसो स्थानमा पनि तरबुजा फलाउन सकिने देखिएकाले तरबुजाको चिसो सहन सक्ने जातको खोजीमा रहेको केन्द्र प्रमुख आत्रेयले बताउनुभयो । उहाँले भन्नुभयो गत वर्ष पनि हामीले सिसाघर र प्लास्टिक घर भित्रको फलेको र बाहिरको भने फलेको थिएन । तरबुजा फलेको र फूल पनि राम्रै फुलेको भए पनि यसको स्वाद परीक्षण हाल नगरिएको आत्रेयको भनाइ छ । गत वर्षको फलको स्वाद पनि राम्रो थियो तर अहिले के हुन्छ हेर्न बाँकी रहेका उहाँको भनाइ छ ।