• २३ असार २०८१, आइतबार

दलीय दाउपेचले प्रदेश लोक सेवा आयोग नेतृत्वविहीन

blog

राममणि दाहाल 

हेटौँडा, असार २० गते । बागमती प्रदेश लोक सेवा आयोग साढे तीन महिनादेखि नेतृत्वविहीन बनेको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठको उमेर हदका कारण अवकाश भएपछि अध्यक्ष नियुक्त हुन सकेको छैन । 

सत्तारूढ दल र प्रमुख विपक्षी दलबिच कसलाई र कसको भागमा अध्यक्ष पार्ने भन्ने सवालमा सहमति जुट्न नसक्दा अध्यक्ष नियुक्तिमा ढिलाइ हुँदै आएको हो ।

ऐनमा आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्ष हुने व्यवस्था छ । साथै अध्यक्ष वा सदस्यको पद रिक्त निजको उमेर ६५ वर्ष पूरा भएमा हुने ऐनको दफा ६ को (ख) मा व्यवस्था छ । श्रेष्ठ चैत ३ बाट उमेर हदका कारण पदमुक्त हुुनुभएको थियो ।

आयोगको अध्यक्षमा गत फागुन २९ गते नै सिफारिस गर्ने सरकारले तयारी गरे पनि तयारी नपुगेको भन्दै अध्यक्षको नियुक्ति रोकिएको थियो । 

आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्न सिफारिस समिति बन्ने ऐनको दफा ३ मा व्यवस्था गरिएको छ । प्रदेश लोक सेवा आयोगको गठनका लागि मुख्यमन्त्री अध्यक्षतामा प्रदेश सभाको सभामुख र प्रदेश सभाको प्रमुख विपक्षी दलको नेता सदस्य रहेको सिफारिस समितिले अध्यक्ष र सदस्यमा नियुक्तका लागि सिफारिस गर्ने छ ।

तर मुख्यमन्त्री शालिकराम जम्कट्टेल र प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफूनिकटलाई बनाउन खोज्दा दुवै पक्षका बिचमा सहमति जुट्न सकेको छैन । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आयोगको अध्यक्षमा नियुक्तिका लागि बसेर छलफल गरी सहमति जुटाउनुपर्ने प्रतिव्रिmया दिनुभयो । 

यसअघि गत फागुनमा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिँदै सरकार अल्पमतमा परेकोले दीर्घकालीन महìवको निर्णय र प्रदेशको संवैधानिक आयोगमा नियुक्तिलगायतका कार्य नगर्न भनेपछि त्यसयता आयोगको अध्यक्ष नियुक्तिका लागि अझै सहमति बन्न सकेको छैन । 

आयोगको सदस्यद्वय सुदर्शन ढकाल र शर्मिला नेउपानेमध्ये कांग्रेसलाई नेउपानेलाई अध्यक्ष बनाउने पक्षमा देखिएको छ तर सहमति जुट्न ढिलाइ हुँदै आएको जनाइएको छ ।

मुख्यमन्त्रीकै प्रश्न

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश लोक सेवा आयोग झन्डै चार महिनादेखि नेतृत्वविहीन रहेको तर हामीले यसलाई किन पूर्णता दिन सकेनौँ भन्दै प्रश्न गर्नुभएको छ ।

बागमती प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरूले यसअघि प्रदेश लोक सेवा आयोग बागमतीले परीक्षा लिएका कर्मचारीको परीक्षाफल प्रकाशित गर्न ढिलाइ भएको प्रश्न राखेपछि उहाँले यसमा सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । 

यसलाई (प्रदेश लोक सेवा आयोगलाई) हामीले पूर्णता दिन सकेका छैनौँ भन्दै मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “प्रदेश लोक सेवा आयोग झन्डै चार महिनादेखि नेतृत्वविहीन छ, दुई जना सदस्यको भरमा चलेको छ, अब केही समयमा पछि एक जना सदस्यको पनि समय सकिँदै छ र सायद मलाई लाग्छ अब यो खाली हुनेतर्फ जाँदै छ ।” उहाँले थप्नुभयो, “यो अत्यन्तै गम्भीर विषय भएको छ, हाम्रो संरचना छ तर पनि हामीले किन पूर्णता दिन सकिरहेका छैनौँ ?”

प्रदेश लोक सेवा आयोग २०७६ को दफा ४ मा भएको व्यवस्था अनुसार २०७६ साल मङ्सिर २ गते प्रदेश लोक सेवा आयोगको अध्यक्षमा श्रेष्ठको नियुक्तिसँगै प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश गठन भएको थियो । आयोग गठनपछि यस प्रदेशमा प्रदेश निजामती सेवालगायतका कर्मचारी नियुक्तिका प्रव्रिmया सुरु भएको थियो  ।

आयोगमा कम्तीमा एक महिला हुने गरी अध्यक्षसहित बढीमा तीन जना सदस्य रहने ऐनमा भएको व्यवस्था अनुसार सदस्यहरूमा ढकाल र नेउपानेलाई २०७६ साल माघ ६ गते नियुक्तिसँगै आयोगले पूर्णता पाएको थियो ।

सदस्य ढकालको पदसमेत आगामी मङ्सिरमा उमेर हदका कारण रिक्त हुने छ भने नेउपानेले पूरै कार्यकाल अर्थात् २०८२ साल माघको पहिलो सातासम्म रहनु हुने छ । अध्यक्ष र सदस्यका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्ति हुँदाको समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, अध्यक्षको हकमा ४५ वर्ष र सदस्यको हकमा ३५ वर्ष पूरा भएको र उच्च नैतिक चरित्र भएको योग्यता हुनुपर्ने व्यवस्था छ ।