• २२ असार २०८१, शनिबार

महामन्त्री ढकालमाथि कारबाहीको तयारी

blog

काठमाडौँ, असार २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकाललाई कारबाही गर्ने तयारी गरेको छ । महामन्त्री ढकालले समीक्षा प्रतिवेदनका विषय र अन्य कुरा पनि सार्वजनिक गरेर पार्टीको गोपनीयता भङ्ग गरेको भन्दै अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो । 

पार्टी कार्यालय चःमतीमा बुधबार बसेको बैठकमा महामन्त्री ढकालले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण हुनुपर्ने तथा आफूले पेस गरेको समीक्षा प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग राख्नुभएको थियो ।

पार्टीका सभापति रवि लामिछानेसहित अधिकांश पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी बैठकले महामन्त्री ढकालको प्रस्ताव अस्वीकार गरेपछि ढकालले बैठक बहिष्कार गर्नुभयो । उहाँ बैठक छाडेर हिँडेको उपसभापति डोरप्रसाद (डिपी) अर्यालले जानकारी दिनुभयो ।

तर, केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले पेस गरेको प्रतिवेदनमाथि छलफल भएको अर्यालले जानकारी दिनुभयो । सो प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूलाई बोल्न सात मिनेटका दरले समय उपलब्ध गराइएको थियो ।

ढकालले प्रस्तुत गरेको प्रतिवेदन आफूलाई वाचन गर्न नदिएको भन्दै विरोधस्वरूप उहाँले मुखमा कालोपट्टीसहितको माक्स लगाएर केही समय बैठकमा सहभागी रहनुभयो  ।  महामन्त्री ढकालले तयार पारेको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको रास्वपाले जनाएको छ । बैठकमा सहभागी एक नेताका अनुसार सभापति रवि लामिछानेले महामन्त्रीको प्रस्ताव अस्वीकार गरी प्रतिवेदन वाचन गर्नसमेत वञ्चित गराएकाले ढकालले केन्द्रीय समितिको बैठक बहिष्कार गरेको बताउनुभयो ।

महामन्त्रीको प्रतिवेदन केन्द्रीय समितिको बैठकमा वाचन भए पनि त्यसलाई हुबहु वा परिमार्जनसहित पास गर्ने, नगर्ने, अपनत्व लिने नलिने वा कार्यान्वयन गर्ने नगर्नेबारे निर्णय भइसकेको छैन । महामन्त्री ढकालले पार्टी निर्माणका लागि भनी ल्याएको सय दिनको पूरक प्रस्तावसमेत केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्न नदिएको आरोप लगाउनुभएको छ । 

महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेको कार्यशैली र व्यवहारप्रति गम्भीर प्रश्न उठाउनुभएको छ । ढकालले भन्नुभयो, “गोरखा मिडिया प्रालिको निर्देशक र रास्वपाको महामन्त्री पदको मानक उस्तै हो । जतिबेला रवि लामिछाने गोरखा मिडियाको निर्देशक हुनुहुन्थ्यो, सञ्चालक जिबी राई दोषी । रास्वपाको सभापति हुनुभयो, सबै दोष महामन्त्रीलाई लगाउनुभयो । पत्रकार हुँदा नेता दोषी, नेता हुँदा पत्रकार दोषी, प्रतिपक्षमा हुँदा सत्ता दोषी, सत्तामा हुँदा प्रतिपक्ष दोषी, यो शैली अत्यन्तै गलत छ ।”

प्रतिनिधि सभा सदस्यतर्फको उपनिर्वाचनमा इलाममा रास्वपाका उम्मेदवारको जमानत जफत हुने गरी हार बेहोरेपछि सङ्गठन तथा पार्टीको जनाधार बुझ्न पार्टीले महामन्त्री ढकाललाई समीक्षा यात्रामा खटाएको थियो ।