• २२ असार २०८१, शनिबार

रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै

blog

काठमाडौँ, असार १९ गते । मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्‍याइने गरिएको छ । 

किसानले खुला सीमापारिका बजारमा सहजरुपमा रासायनिक मल पाउने तथा अवैधानिक व्यापारबाट पनि भित्रिने गरेकाले सरकारले वि.सं.२०६५ चैत १२ गतेदेखि अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्‍याउने निर्णय लिएको थियो । कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायका अनुसार यस वर्षका लागि मल मौज्दात रहेको बताउँदै थप मल आयात हुने प्रक्रियामा रहेकाले अभाव नहुने जानकारी दिनुभयो । 

जैविक (कम्पोस्ट) मल ठुलो मात्रामा उत्पादन भएर सहज ढुवानी गर्नसके किसानले थप प्रतिफल प्राप्त गर्न सक्ने उहाँले बताउनुभयो । “सरकारी प्रयासमा एकपटक जैविक मल (भर्मिक कम्पोस्ट) उत्पादन र वितरणको प्रयास भएको थियो तर त्यो सफल भएन”, उपाध्यायले भन्नुभयो, “ठुलो मात्रामा नियमित माग हुने भएकाले निजी क्षेत्रबाट उत्पादन हुने जैविक मल प्रयोगमा आउनुलाई सकारात्मक मान्न सकिन्छ । किसानका मागका आधारमा यसको उत्पादन र ढुवानी भने भएको छैन ।” कम्पनीका अनुसार मुलुकमा हाल २६ हजार मेट्रिक टन युरिया मल मौज्दात छ भने ३० हजार मेट्रिक टन युरिया आउने प्रक्रियामा छ । 

डिएपी मल १२ हजार मेट्रिक टन मौज्दात रहेको जनाउँदै कम्पनीका सूचना अधिकारी उपाध्यायले थप ३५ हजार आयात गरिएको बताउनुभयो । उहाँका अनुसार पोटास मल सात हजार मेट्रिक टन मौज्दात छ । कृषिप्रधान नेपालमा रासायनिक मलको बढ्दो मागका कारण बर्सेनि आयात बढाउनुपर्ने बाध्यता रहनुका साथै रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति खेर गइरहेको उहाँको भनाइ छ । वैदेशिक व्यापारघाटालाई सन्तुलित तुल्याउन सरकारले नीतिगत व्यवस्था गरेकाले निजी क्षेत्रको लगानीमा स्वदेशमै जैविक मल उत्पादन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

धनुषाको धनुषाधाम नगरपालिका-३ स्थित ‘आरोह फर्टिलाइजर्स प्रालि’ले किसानको जैविक मलको मागलाई ध्यानमा राखी गत आइतबारदेखि आफ्नो उत्पादनलाई बजारमा पठाउन थालेको छ । स्वदेशका अधिकांश कच्चा पदार्थको प्रयोगबाट जैविक दानेदार र तरल मल उत्पादन गरेको प्रालिका कार्यकारी अध्यक्ष शैलेन्द्रशम्शेर राणाले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीले ‘हरियो नेपालतर्फ एक पाइला’ भन्ने अवधारणाअनुरूप वातावरणमैत्री र माटोमा उर्वराशक्ति बढाउने मल बजारमा पठाउन थालेको हो ।  

हिमाल, पहाड र तराई क्षेत्रका विभिन्न ठाउँका माटोको परीक्षणपछि उपयुक्त प्रमाणित भएसँगै मल बजार पठाउन थालिएको राणाले बताउनुभयो । रासायनिक मलको जथाभाबी प्रयोगले जमिनको उर्वराशक्ति नष्ट हुने मात्र नभई मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै मलमा हुने परनिर्भरतालाई घटाउन जैविक मल उत्पादन गरिएको उहाँको भनाइ छ । प्रालिका प्रबन्ध निर्देशक आङकामी लामाले उद्योगले कच्चा पदार्थ सहज उपलब्धता भएसँगै मलको मागलाई दृष्टिगत गरी वार्षिकरुपमा ३० हजार मेट्रिक टनसम्म जैविक मल उत्पादन गर्ने योजना बनाएको जानकारी दिनुभयो । 

उत्पादित जैविक मलको प्रयोगले जमिनको उर्वराशक्ति पाँच वर्षमा पुरानै अवस्थामा पुर्‍याउने, कृषि उत्पादन बढाउने र उत्पादित वस्तु सम्पूर्ण हिसाबले अर्ग्यानिक हुने उहाँले दाबी गर्नुभयो । जैविक मलको प्रयोगले माटोमा पोषण तत्त्व बढाउनाका साथै माटोका प्राकृतिक गुण जोगाउन सहयोग पुग्ने प्रबन्ध निर्देशक लामाले बताउनुभयो । उहाँका अनुसार कम्पनीले हाल  छ  किसिमका झोल मल, चार किसिमका दानेदार मल र दुई किसिमका जैविक किटनाशक औषधि उत्पादन गरिरहेको छ ।

कम्पनीका कार्यकारी निर्देशक सवार्थशम्शेर जबराले नेपाली कृषकले बालीनाली लगाउने मनसुनमा सधैँ रासायनिक महलको हाहाकार भोग्नुपरेको घटनालाई सम्बोधन गर्न आधुनिक प्रविधिबाट मुलुकको माटो र हावापानी सुहाउँदो बायो अर्ग्यानिक (जैविक) मल उत्पादनमा जोड दिइएको बताउनुभयो । उहाँका अनुसार जैविक मलका लागि आवश्यक मुख्य कच्चा पदार्थ गाईबस्तुको गोबर भएकाले उद्योगले स्थानीय सङ्कलनका अतिरिक्त सिरहा, सर्लाही, महोत्तरीका साथै काभ्रे, भक्तपुर, काठमाडौँलगायत स्थानबाट गोबर सङ्कलन गर्दै आएको छ । 

जैविक मलका लागि गोबर बेचेर पशुपालक किसान पनि लाभान्वित भएका उहाँले बताउनुभयो । प्रालिले बायो गेडा मल प्रतिकिलो ७० र झोल मल प्रतिलिटर छ सय ५० बजार मूल्य तोकिएको छ । “दानेदार मल एक कठ्ठा जमिनका लागि एक बोरा चाहिन्छ भने एक लिटर तरल मलले पहाडमा आठ रोपनी र तराईमा १२ कठ्ठामा पर्याप्त हुन्छ”, कार्यकारी निर्देशक जबराले भन्नुभयो । बायो मल धान, मकै, गहुँ र तरकारीका अतिरिक्त स्याउ, चिया, उखु, अलैँची, केरा, किबी, तर्बुजाका लागि फलदायी हुने उहाँको दाबी छ । 

यसको प्रयोगबाट उत्पादित वस्तु अर्ग्यानिक भएकाले लामो समयसम्म टिक्ने कम्पनीले जनाएको छ । उद्योगका लागि आवश्यक ९० प्रतिशत कच्चा पदार्थ मुलुकमा उपलब्ध हुन्छ भने विशेष प्रकारको माटोसहितका केही कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको कार्यकारी निर्देशक जबराले बताउनुभयो । बजारमा आउनुअघि मुस्ताङका स्याउ बगानदेखि इलामको चिया र अलैँचीका लागि माग भइसकेको प्रालिले जनाएको छ । किटनाशक औषधिको अन्धाधुन्ध प्रयोग र अत्यधिक रासायनिक मलको प्रयोगबाट उत्पादित वस्तु खानाले क्यान्सरलगायत घातक रोग निम्त्याएको पाइन्छ ।  

विभिन्न बायो उद्योगबाट खेर गइरहेको पदार्थ मल उत्पादनमा कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ । कृषि तथा पशुपक्षी मन्त्रालयका पूर्वसचिव डा.योगेन्द्र कार्कीले जैविक मलको प्रयोगले माटो नबिगार्ने र उर्वराशक्ति बढाउने बताउनुभयो । “यो मलको प्रयोगले साधारण अवस्थामा कृषि उत्पादन वृद्धि हुन्छ । जथाभाबी रासायनिक मलको प्रयोगबाट उर्वराशक्ति गुमेको माटोलाई पहिलेकै अवस्थामा पुर्‍याउन सहयोग हुन्छ”, उहाँले भन्नुभयो । रासस