• २२ असार २०८१, शनिबार

बाँकेमा दस प्रतिशत मात्र रोपाइँ

blog

बाँकेको राप्ती सोनारीमा रोपाइँ गर्दै किसानहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार १९ गते । बाँकेमा दस प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले यस वर्ष जिल्लामा ढिला वर्षा सुरु भएकोले अहिले मात्रै सबै ठाउँमा ब्याड राख्ने काम सकिएको र रोपाइँ पनि सुरु भएकोले दस प्रतिशत मात्रै रोपाइ हुन सकेको बताउनुभयो । 

तीन चार दिनदेखि भएको वर्षाले जिल्लाका सबै पालिकामा रोपाइँ सुरु भएको जनाउँदै उहाँले अब रोपाइँले गति लिने बताउनुभयो । 

कृषि ज्ञान केन्द्रका प्रमुख खाँले थप्नुभयो, "असार १५ सम्ममा जिल्लामा पानी नपरेकोले अधिकांश किसानले बिउँ समेत राख्न पाएका थिएनन्, तर असार १७ पछि वर्षा सुरु भएकोले बिउँ राख्ने काम सकिएको छ, रोपाइ पनि सुरु गरिएको छ ।"

पानी अभावले ढिलै सुरु भएपनि जिल्लामा रोपाइँ शतप्रतिशत हुने र उत्पादन समेत राम्रो हुने आशा गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । रोपाइँ गर्न नसक्दा चिन्तामा परेका जिल्लाका किसानले वर्षा सुरु भएपछि राहत महसुस गरेका छन् । बाँके डुडुवा–५ का किसान रमेश यादवले खडेरीका कारण निकै चिन्ता बढेकोमा अहिले पानी पर्न थालेपछि धेरै राहत महसुस भएको बताउनुभयो । 

जिल्लाका अधिकांश किसानले आकासे पानीको भरमा खेती गर्ने बाध्यता समाप्त नभएसम्म हरेक वर्ष यस्तै हुने गरेको बताएका छन् । खजुरा ३ का किसान रामु थापाले बाँकेमा हरेक वर्ष ढिला पानी पर्ने भएकोले धान खेतीमा समस्या हुने गरेको बताउनुभयो । 

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख खाँले यो वर्ष ढिला गरी रोपाइ सुरु भएपनि बाढी र डुबान भएन भने विगत भन्दा राम्रो उत्पादन हुने सम्भावना रहेको बताउनुभयो । बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जग्गा छ । गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सोही क्षेत्रफलमा धानखेती गरिने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।