• २० असार २०८१, बिहिबार

उर्लाबारीलाई फोहोर व्यवस्थापनको समस्या

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, असार १८ गते । मोरङको उर्लाबारी नगरपालिकाले फालेको फोहोर उर्लाबारी–८ र रतुवामाई–१० का किसानको गरा गरामा पुगेको छ । नगरले फोहोर व्यवस्थापनको जिम्मा जयश्री पाथीभरा इन्भाइरोमेन्ट केयर प्रालिलाई दिएको छ । प्रालिले बक्राहा खोला किनारको पूर्वपट्टि झुम्रामा फोहोर फाल्दै आएको छ । बक्राहा खोलाले धार परिवर्तन गरी पूर्वतर्फ कटान गर्न थालेपछि सोही फोहोर खोलाले बगाएर किसानका गरा गरामा पुगेको हो । किसानका गरा मात्र होइन, यतिबेला पूर्वपश्चिम राजमार्ग अन्तर्गत उर्लाबारीमा पर्ने बक्राहा खोला नै प्रदूषित भएको छ । राजमार्गसँगै जोडिएको बक्राहा घाटमा सिसाका टुक्रा, खाली बोतल, प्लास्टिकजन्य फोहोर, अस्पतालजन्य फोहोर तैरिरहेको जोकोहीले देख्न सक्छन् । 

पाँच वर्षअघिदेखि जयश्री पाथीभरा इन्भाइरोमेन्ट केयरले झुम्रा खोला र बक्राहा खोलाको बिचमा फोहोर डम्पिङ गर्दै आएको छ । कहिले झुम्राखोलाको पानी फोहोरतर्फ फर्काएर फोहोर बक्राहामा हाल्ने र कहिले भवितव्य रूपमा खोलाले फोहोर गाडेको ठाउँमा कटान हुँदा किसानले बर्सेनि सास्ती बेहोर्दै आएका छन् । उर्लाबारी–८ को खैदुगसरा (खैरेनी, दुर्गापुरी, गगटे, सखुवानी, रातेहोली) सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद निरौलाले भन्नुभयो, “धान रोप्ने बेला भयो । नहरको हेडवक्र्स फोहोरले टालिएको छ । कति गर्दा पनि फोहोर रोक्न सकिएको छैन । नहरको मुखमा बियरका बोतल, प्लास्टिकका टुक्रा, सिसाका टुक्रा, अस्पतालका प्याड थुप्रिएका छन् ।” उहाँले नगरपालिकासँग पटक पटक गुनासो गरे पनि सुनुवाइ नभएको बताउनुभयो । 

बक्राहाको पानीले उर्लाबारीको एक हजार पाँच सय हेक्टर जमिन सिँचाइ हुने गरेको छ । खोला लाग्ने सबैतिर समस्या उस्तै छ । निरौलाले नहरको हेडवक्र्समा फोहोरको चाङ लागेको बताउँदै सफा गर्न जानेहरू नै  घाइते हुने गरेका गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हेडवक्र्स सानो राखेका छौँ । खोलाले बगाएका साना साना फोहोर सबै खेतका गरा गरामा पु-याउँछ ।”

जयश्री पाथिभरा इन्भाइरोमेन्ट केयर प्रालिका सञ्चालक नेत्र घिमिरेले भने प्राकृतिक प्रकोपका कारण फोहोर खोलामा पसेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो भवितव्य हो, सुनियोजित होइन ।” उहाँले आफ्नो निजी खेतमा लगेर फोहोर व्यवस्थापन गरिरहेको दाबी गर्नुभयो । घिमिरेले खोलाले दैनिक आफ्नो खेत कटान गरिरहेकोसमेत बताउनुभयो । 

विसं २०७५ भन्दा अघि नगरपालिकाले उर्लाबारी–३ स्थित आफ्नै जमिनमा फोहोर डम्पिङ गथ्र्यो तर बव्रmाहा खोलाले धार परिवर्तन गरी उक्त जग्गा कटान भयो । त्यसपछि नगरले जयश्री पागीभरालाई २०७५ साल चैत २१ देखि फोहोर व्यवस्थापनको जिम्मा दिएको हो ।

नगरपालिकाका दुई ट्याक्टरले दैनिक ८/१० ट्याक्टर फोहोर क्राहा खोलाको किनारमा डम्पिङ गर्दै आएका छन् । प्रालिले दुई बिघा जग्गा फोहोर विसर्जनकै लागि व्यवस्था गरेको सञ्चालक नेत्र घिमिरेले बताउनुभयो । घिमिरेले पाँच वर्षको सम्झौता २०८० चैत १९ गते सकिएको बताउनुभयो । नगरले अर्को व्यवस्था नभएसम्म भनेर तीन महिना म्याद थपेको थियो । उक्त म्याद असार १८ गते सकिँदै छ । घिमिरेले अहिले आफ्नो जग्गामा तारजाली लगाएर तटबन्ध गरिरहनुभएको छ । 

नगरपालिकाका सूचना अधिकृत भरत अधिकारीले जयश्री पाथीभरासँगको सम्झौता सकिनु एक वर्षअघिदेखि जग्गा खोजी गरिरहेको बताउनुभयो । जग्गा भेटिन्छ तर फोहोर डम्पिङ गर्ने भनेपछि छिमेकीले सहमति दिँदैनन् । उहाँले नगरको फोहोर व्यवस्थापन सबैभन्दा ठुलो चुनौती भएको बताउनुभयो । सेवाग्राहीसँग सङ्कलन भएको रकमको १० प्रतिशत रकम नगरपालिकालाई जम्मा गर्ने सर्तमा कम्पनीले फोहोर व्यवस्थापनको ठेक्का लिएको थियो ।