• १९ असार २०८१, बुधबार

जोशीलाई ‘कौसी क्वीन’ उपाधि

blog

तस्बिर:रासस

काठमाडौँ, असार १७ गते । कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन-२०८१ सम्पन्न भएको छ । चौथो संस्करणको कौसी क्वीनको उपाधि अन्जना जोशीले पाउनुभएको छ । 

आज बानेश्वरस्थित होटल अर्यालमा भएको कार्यक्रममा उहाँलाई कृषि तथा पशुपन्क्षी विकासमन्त्री ज्वालाकुमारी साहले विजेताको ताज पहिरिनुभयो । यस वर्षको कोसी क्वीनको ’फस्ट रनर अप’ गङ्गादेवी तिमल्सिना, ‘सेकेन्ड रनर अप’ कमला घिमिरे र ‘थर्ड रनर अप’ कमलमाया श्रेष्ठ हुनुभयो । 

उहाँहरूलाई मन्त्री साहलगायत सचिव राजेन्द्र मिश्र, तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेशप्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख तेजप्रसाद दवाडीलगायतले संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभएको थियो । प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले प्रत्येक वर्ष कौसी क्वीन प्रतियोगिता आयोजना गर्दै आएको छ । 

प्रतियोगितामा देशभरबाट २५ जना भन्दाबढीको सहभागिता रहेको थियो । बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने र कौसीखेती गरिरहेकाहरूलाई थप प्रोत्साहित गर्न कार्यक्रम गर्दै आएको प्रज्ञान क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले बताउनुभयो । रासस