• १८ असार २०८१, मङ्गलबार

महिला नेतृत्वले राष्ट्रको एजेण्डा उठाउनुपर्छ : महासचिव पोखरेल

blog

अखिल नेपाल महिला सङ्घले आइतबार ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमका अतिथिहरू ।

गोरखापत्र अनलाइन

ललितपुर, असार १६ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले महिला नेतृत्वले समग्र राष्ट्रको एजेण्डा उठाउनुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घले आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीति र जनताको बहुदलीय जनवाद विषयक विचार गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो । 

महासचिव पोखरेलले महिला नेतृत्वले महिलाको सवाल मात्र उठाउने परम्परागत शैलीबाट प्रतिस्पर्धामा सफल हुन समाजका अरू विषय पनि उठाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “महिलाले समग्र राष्ट्रको एजेण्डा उठाउन सुरु गर्नु पर्दछ । प्रतिस्पर्धामा सफल हुन महिलाको विषय मात्र उठाउने परम्परागतभन्दा समाजका अरू विषय पनि उठाउनुपर्दछ ।”

विचार गोष्ठीमा सहभागीहरूबाट उठेका राजनीतिक नेतृत्वमा महिला प्रतिनिधित्व कसरी सुनिश्चित हुन सक्छ भन्ने प्रश्नहरूको जवाफ दिनुहुँदै उहाँले महिलाको नेतृत्व विकास हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिमा महिला सहभागिता वृद्धि हुनुपर्दछ । नेतृत्व विकासको सन्दर्भमा सदस्यता वृद्धि गर्नु पनि महत्त्वपूर्ण पक्ष हो । उच्च शिक्षामा महिलाको सहभागिता बढेको छ ।” 

राजनीतिक अधिकारको सुनिश्चितता सँगसँगै आर्थिक तथा सामाजिक मुद्दालाई अगाडि लान सके नेतृत्व विकासको आधारशिला तयार हुने उहाँको भनाइ छ ।

उहाँले स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । यसका लागि पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार, कार्यशैली जनपक्षीय बनाउने, आन्तरिक लोकतन्त्रमा प्रतिस्पर्धापछि कसरी एकता निर्माण गर्ने र सामाजिक सञ्जालको जमानामा जनतासँगको सम्बन्ध र सरोकार कसरी पैरवी गर्ने भनेर मुख्य तीन सवाललाई पार्टीमा छलफल हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।


संविधानविद् प्राध्यापक डा. विपिन अधिकारीले विगतमाभन्दा व्यावसायिक महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको धारणा राख्नुभयो । डा. अधिकारीले भन्नुभयो, “महिलाको राजनीतिक प्रतिष्ठा बढ्दो छ । राम्रा सर्जन, लयर महिला आइसके । समावेशीमा लिडरसिपको महत्त्व छ । माया र स्नेह एक ठाउँमा छ नेतृत्वमा क्षमता पनि हेरिनुपर्छ । महिला आन्दोलन पोलिसी मेकिङमा पुगेका छैनन् ।”

उहाँले अल्पसङ्ख्यक महिलाको हकमा पनि पार्टीले नेतृत्व लिनुपर्ने बताउनुभयो । संसदमा महिला नेतृत्वको भूमिका कम देखिएको र कस्तो भूमिका खेल्ने हो भनेर पार्टी र सरकारले बुझाउन सक्नुपर्ने उहाँको भनाइ छ । 

अनेमसंघका अध्यक्ष टुका हमालले नेतृत्वमा ३३ प्रतिशतको विषय उठिरहे पनि पुरुषसँग बराबर अर्थात् ५० प्रतिशत महिला अधिकार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी सदस्यता ३३ प्रतिशत पुगाउने मात्र होइन, बराबरी अधिकार छ भने ५० प्रतिशत पार्टी सदस्यता बनाउनुपर्छ । समानताको लक्ष्य पूरा गर्ने कर्तव्य भुल्न हुँदैन । इतिहास रच्नुपर्ने हुन्छ ।”

सो अवसरमा पूर्व राजदूत महेन्द्रबहादुर पाण्डेले समेत धारणा राख्नुभएको थियो । कार्यक्रममा पूर्वमन्त्री तथा महिला नेतृहरूको सहभागिता थियो ।