• १८ असार २०८१, मङ्गलबार

फक्ताङ्लुङमा प्रकोप व्यवस्थापन कोष स्थापना

blog

तापेथोकस्थित फक्ताङ्लुङ गाउँपालिका कार्यालय । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । हरेक वर्ष बर्खा याममा पालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरो, खोला तथा नदीले गर्ने कटान, डुबान जस्ता प्राकृतिक प्रकोपको समस्याले पिरोल्ने हुँदा पीडित पक्षलाई सहयोग पुर्‍याउन गाउँपालिकाले कोष स्थापना गरेको हो ।

बर्खायामको मनसुनजन्य घटनाबाट अर्थात् बाढीपहिरोका कारण जनधनको क्षति बेहोर्ने र विस्थापितसँगै प्रभावित हुने परिवारलाई सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार पीडित परिवारका लागि सङ्कलन हुने सहयोग रकमलाई व्यवस्थित गर्नसमेत कोष स्थापना गरिएको हो ।

प्रकोप व्यवस्थापन कोषमार्फत प्राप्त हुने सहयोग रकम वास्तविक पीडित परिवारलाई वितरण गर्न पनि सहज हुने गाउँपालिकाको विश्वास रहेको अध्यक्ष लिम्बूको भनाइ छ । कुनै समय सहयोगी निकाय वा संस्थाले उपलब्ध गराउने सहयोग वास्तविक पीडितसमक्ष नपुग्ने गरेको पाइएकाले प्राप्त हुने सहयोगलाई व्यवस्थित गर्न कोष स्थापना गरेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले सहयोगदाता तथा सङ्घ संस्थालाई अबदेखि आधिकारिक रुपमा स्थापना भएको कोषमार्फत सहयोग गर्न पनि आह्वान गरेको छ । कोषमा जम्मा हुने सहयोग रकम वास्तविक प्रकोप प्रभावित साथै पीडित परिवारको पहिचान गरी वितरण र हस्तान्तरण गर्ने गाउँपालिकाले जनाएको छ । यस्तै कोषमार्फत परिचालन हुने आयव्यय रकम गाउँपालिकाले प्रत्येक तीन महिनामा सार्वजनिक गर्ने पनि उल्लेख गरेको छ ।

यस वर्ष मनसुनको सुरुवातमै फक्ताङ्लुङ गाउँपालिकामा बाढीपहिरोले जनधनसहित भौतिक संरचनामा ठूलो क्षति गरेको छ । जिल्ला विपत् व्यवस्थापन समितिको तथ्याङ्कअनुसार मनसुनको सुरुवात अर्थात गर्न जेठ ३२ गते अविरल वर्षासँगै गएको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा एकै परिवारका चारजनाको मृत्यु भएको छ । 

यस्तै अर्को एक परिवारका दुई जना घाइते हुनुभएको समितिले जनाएको छ ।