• १८ असार २०८१, मङ्गलबार

आलोचनात्मक विमर्श

blog

सम्भवतः आलोचना कसैलाई मन पर्दैन । व्यङ्ग्य सबैलाई बिझाउँछ । प्रायः मान्छे आलोचनासँग तर्कने र भाग्ने गर्छन् । व्यङ्ग्यलाई व्यङ्ग्य गरिएकाले निको ठान्दैनन् ठान्छन् । आलोचना र व्यङ्ग्य प्रक्षेपित मान्छेहरूको अरुचिकर विषय हो । तथापि समाजमा क्रियापछि प्रतिक्रिया विभिन्न रूप र सन्दर्भमा प्रकट हुन्छन् । व्यङ्ग्यलाई स्वाद मानेर सुन्ने लेख्ने पढ्नेहरू पनि हुन्छन् । कसैले प्रतिक्रियालाई समर्थन गरेर सघाउँछन् भने कसैले आलोचना र व्यङ्ग्यमार्फत विरोध र असन्तोषमा प्रतिक्रिया गर्छन् । मूलतः व्यङ्ग्य र आलोचना जे भने पनि त्यसको अपेक्षा सुधारका लागि र कमजोरी औँल्याउन गरिन्छ । 

आलोचनात्मक सङ्कथन विश्लेषण (क्रिटिकल डिस्कोर्स एनालाइसिस वा ‘सिडिए’ ) भनेको भाषिक प्रयोग र त्यो प्रयोग गरिने सामाजिक एवं राजनीतिक सन्दर्भबिचको सम्बन्ध उल्लेख गर्ने विश्लेषणको एउटा तरिका हो । समस्या उद्घाटनको माध्यम हो । पब्लिक डिस्कोर्सलाई सामाजिक अन्तर्क्रियाको एउटा रूप मानिन्छ । जसले गलत ज्ञानको विरोध गर्दै सही ज्ञानको निर्माण र उत्पादन गर्न विमर्श गर्छ । विमर्शमा समाजका सबै तह र तप्काका व्यक्ति आफ्नो रुचि र समझ अनुसार सहभागी हुन्छन् । जसको चर्चा खेतबारीमा काम गर्नेदेखि, चिया पसल हुँदै, साहित्यिक रचनादेखि, बिग मिडिया हुँदै संसद्सम्म पुग्छ र अन्तमा नीति निर्माण गरिने स्थिति बन्छ । 

राजनीतिमा व्यक्त भाषा, गालीगलौज, प्रतिस्पर्धा, आलोचना, वैचारिक धरातल, निर्मित संस्कृति, अवलम्बन गरिएको पद्धति, मुखरित आचरण आदिका आधारमा विश्लेषण, मूल्याङ्कन र सन्दर्भका रूपमा चर्चा परिचर्चा गर्न पनि आलोचनात्मक सङ्कथनको उपप्रयोग व्यापक रूपमा गरिन थालेको छ । राजनीतिमा प्रयोग भएका भाष्य, कथ्य, झुठ, सत्य, प्रोपोगान्डा, पर्चा, प्रयोग, भ्रम, नकाव आदिलाई सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक पक्षसँग तुलनात्मक अध्ययनको कोणबाट हेर्न मिल्छ । राज्य स्रोतमा पहुँचको अवस्था र असमान वितरण बारे पनि प्रश्न उठाइरहन्छ । राज्य स्रोतको दुरुपयोग र सदुपयोगबारे विहङ्गम दृष्टिबोध गर्न सकिन्छ । 

आलोचनात्मक हुनु भनेको शक्ति सम्बन्धमा रहेको जटिलतालाई स्पष्ट पार्नु हो । किनाराकृत विचारधाराको उद्घाटन गर्नु, वञ्चितीकरणमा पारिएका समुदाय, जातजाति, समाजमा रहेका वर्गीय, लैङ्किङ, क्षेत्रीय जातीय विभेद केलाउनु र समाधानको वैकल्पिक बाटो प्रस्ताव गर्नुसँग सम्बन्धित छ । राजनीतिक भाष्यमा रहेका असम्बद्धता, विपर्यास र विरोधाभास बाहिर ल्याएर आममान्छेलाई सजग गराउँदै तिनका अधिकार र कर्तव्यका बारेमा जानकारी गराउन आलोचनात्मक विमर्श अनिवार्य मानिन्छ । 

व्यक्ति, समुदाय र समाजलाई जागृत गर्न समाजका बौद्धिक, प्राज्ञिक र विश्लेषक, पत्रकार आदिको सत्यनिष्ठ अवधारणाको माग गर्छ । राज्य र वर्चस्वशाली निकाय धर्म, वर्ग र समुदायबाट हुने ज्यादती उत्पीडन, दमन र अधीनस्थ स्थितिको व्याख्या विश्लेषण र अनुगमनमा आलोचनात्मक दृष्टिबोध चाहिन्छ । आलोचनात्मक हुनु भनेको विरोध भनेर बुझ्ने सोचमा परिवर्तन चाहिन्छ । त्यसैले राजनीतिमा पोलिटिकल पब्लिक डिस्कोर्सलाई डाइरेक्ट डेमोक्रेसीको अभिन्न पक्ष भनेर बुझ्नु बुझाउनु जरुरी छ । आलोचना खराबी हटाउने उपायको एउटा विधि हो । 

स्वस्थ आलोचनाले राजनीतिक भाष्यमा आएका गुढ रहस्य वा अप्रत्यक्ष रूपमा आएका विचारधारात्मक पक्षहरूको पर्दाफास गर्न र त्यसलाई सतहमा ल्याउन भूमिका निर्वाह गर्छ । यसबाट शक्तिमा रहेका र अरूलाई अधीनमा राखेर व्यवहार गरिरहेका सत्ताधारीका कार्यलाई छताछुल्ल पारेर तिनका वैचारिकता र अभिरुचिलाई तार्किक रूपमा प्रभाव पार्ने र दबाब सिर्जना गर्ने काम गर्छ । आफ्नो शक्तिलाई दुरुपयोग गर्ने शक्तिशाली वर्ग र सम्भ्रान्तहरूले फैलाएका अवधारणाले मान्छेका मनमा सिर्जना गरेका गलत भाष्य, भ्रम र मस्तिष्कमाथि गरेको नियन्त्रणलाई विनिर्माण गर्न र प्रतिपक्षी स्थान ग्रहणयोग्य बनाउन यसको आलोचनात्मक दक्षता उपयोग भएको हुन्छ । यसले केन्द्र भन्जन गरेर स्थानीयकरण र विकेन्द्रीकरणमा जोड दिन्छ । स्थानीय स्वायत्तताको कुरा गर्छ । गरिब, दुःखी, दीनहीन, असहाय, दलित महिला र सीमान्तकृत समुदायलाई राज्यको मूल प्रवाहमा समेट्न राज्यलाई दबाब सिर्जना गर्छ । 

दमित वर्गसँग सहकार्य गर्न र तिनका पक्षमा आवाज उठाउन सकिने प्रकारको दृष्टिकोण निर्माण गर्न प्रयासरत हुन्छ । यसबाट समाजमा प्रचलित र वर्चस्ववाली विचारधारालाई चुनौती दिने प्रतिशक्ति विचारधाराको विकास हुन्छ भन्ने यसको मान्यता छ । दमन, जलन र पीडामा परेकालाई सामूहिक प्रतिरोधमा उत्रन, आफ्नो स्वपहिचान र प्रतिनिधित्वमूलक उपस्थिति राज्यका हरेक निकायमा खोज्न र सामाजिक रूपान्तरणमा आफ्नो भूमिका स्पष्ट गरी विभेद अन्त्यका लागि योगदान गर्न उत्प्रेरित गर्छ । विशेष गरी दलित, जनजाति, महिला, पछाडि पारिएको वर्ग र क्षेत्रको हित प्रवर्धन मानवाधिकारको रक्षा र समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्न राज्यलाई खबरदारी, निगरानी र साझेदारीमा जोड दिनु यस दृष्टिकोणको उद्देश्य हुन्छ । हरतरहले सकारात्मक बन्न प्रेरित गर्नु आलोचनात्मक विश्लेषणको ओपन सेक्रेट अवधारणा मानिन्छ । 

राजनीतिका पात्र र प्रवृत्ति, निश्चित परिवेश र विचारमा कसरी षडषन्त्र, उत्पीडन र दादागिरीको भाषा अभिव्यक्त भएको छ । भाषामा कुन कुन मानक कसरी प्रयोग भएकोे छ, त्यसको सङ्केत के हो र त्यसले देश, काल र परिस्थितिलाई कसरी प्रतिविम्बित गर्छ त्यसको खोजीमा यसलाई लगाउन सकिन्छ । समाज, साहित्य, इतिहास, संस्कृति र देश दुनियाँका प्रकटित अप्रकटित रहस्यको उजागर गर्न पनि आलोचनात्मक विमर्शले मद्दत पु¥याउँछ । 

कतिपय राज्य सञ्चालक नेता र पार्टीहरूको सम्बोधनको भाषा जनतासँग अनुन्यात्मक (पस्र्युएसिभ) हुन्छ भने कतिपयको एग्रेसिभ र निर्देशनात्मक हुन्छ । यी दुई चरित्रको भिन्नता प्रस्ट पारी नेताको बोलीलाई जनताप्रति उत्तरदायी बनाउन निरन्तर खबरदारी गर्नु आलोचनात्मक विमर्शको प्राकृतिक धर्म र दर्शन हो । जैविक बुद्धिजीवीको अभिभाराकै रूपमा यसलाई लिनु सान्दर्भिक हुन्छ । जैविक बुद्धिजीवीले बृहतर हितको विषयलाई आफ्नो अभीष्ट बनाएका हुन्छन् भन्ने मान्यता इटालेली चिन्तक ग्राम्सीले राख्छन् । 

नेपाली राजनीतिमा वर्चस्वशाली निर्मम हुन्छन् त्यसैले एक पार्टी र एक उम्मेदवारप्रति सबै खनिएका छन् । राज्यस्रोत नै कब्जा गरेर चुनावको प्रचार भएको छ । वैकल्पिक र उदीयमान शक्तिको विरुद्ध कसरी परम्परागत शक्ति र विचार परिचालित भएका हुन्छन् । निषेध र प्रतिशोधको राजनीति कसरी गरिन्छ र गरिएको छ, नेपालको राजनीतिको आधुनिक काल २००७ देखि आज पर्यन्तसम्मको दृष्टान्त हेर्न सकिन्छ । 

उदीयमान शक्तिलाई घेराबन्दी गर्न राजनीतिक पार्टी चुनावमा गठबन्धन गरेर जानु र कुनै एक पार्टीविरुद्ध सबै एक भएर लड्नु बहुदलीय शासन पद्धतिविरुद्ध हो । राजनीतिमा असंस्कृति निर्माण भइरहेको छ । यस्ता प्रवृत्ति र विचारको विरुद्ध पब्लिक डिस्कोर्स निरन्तर भइरहेको छ । 

पार्टीहरूको अप्राकृतिक र अस्वाभाविक गठबन्धनमाथि बेस्सरी प्रश्न तेर्सिएका छन् । चुनावअघिको गठबन्धनविरुद्ध थुप्रै नैतिक, चारित्रिक र सैद्धान्तिक तर्क वितर्क उब्जिएका छन् । सर्वत्र विरोध भएको छ । यद्यपि पार्टीहरू बहुदलीय व्यवस्था र संस्कृतिविरुद्ध छन् यस्तो बेला पार्टीहरूकै सैद्धान्तिक विचलनविरुद्ध बोल्नु, लेख्नु र आवाज उठाउनु आजको आलोचनात्मक राजनीतिक विमर्श हो । 

बाटो बिराएको राजनीतिलाई सही ट्र्याकमा ल्याउन बौद्धिक जमातको यथेष्ट आलोचना र खबरदारी चाहिन्छ । राजनीतिकर्मीलगायतको भुत्तो चेतलाई पाइन् लगाउने धारिलो पार्ने र उड्याउने काम आलोचनात्मक विमर्शको हो । विषय र मुद्दाको प्रकृति, अख्तियार दुरुपयोगको स्थिति हेरेर आलोचना अधिक र न्यून हुने गर्छ । पब्लिक डिस्कोर्सको प्रधान विषय भ्रष्टचारमुक्त देश र सुशासनको पक्ष बनेको छ । भ्रष्टचारविरुद्ध जसरी जनमत बनेको छ त्यस्तै गरी गलत रवैया अपनाएर सम्पति थुपार्नु पनि गलत हो । सम्पत्ति नै मात्र सबथोक होइन सामाजिक मान प्रतिष्ठा इज्जत र सम्मान ठुलो कुरा हो भन्ने सामाजिक चेतमा पनि आलोचनात्मक विमर्श अपरिहार्य देखिएको छ । राजनीति र पद सम्पत्ति आर्जन गर्ने माध्यम बनेकोमा आपत्ति गर्ने समय आएको छ । राजनीतिलाई पेसा व्यवसाय मान्ने र अकुत आर्जनको साधन बनाउनेविरुद्ध राजनीतिको तीर खिचिनुमा आलोचनात्मक विमर्शले काम गर्नु पर्छ । 

राजनीतिमा आलोचनात्मक डिस्कोर्स एनालाइसिस अनिवार्य टुल्सको रूपमा विकास गरी अधीस्थ स्थापित मान्यता दिएर लैजानु पर्छ, अन्यथा राजनीति अझ दिग्भ्रमित हुने सम्भावना ज्यादा रहन्छ । 

सामाजिक मूल्य निर्माणमा समाजको सामूहिक विचारको भूमिका हुन्छ भन्ने इमाइल दुर्खिमको धारणा हो । यो धारणालाई उपयोग गरेर सामाजिक मूल्यको निर्माणमा समाजको सामूहिक प्रतिनिधित्वको सिद्धान्तले समाजमा सम्प्रेषण हुने धारणा, मत, अभिवृत्ति, मूल्याङ्कन विम्ब र व्याख्या नभई त्यस समूहको बौद्धिक आदानप्रदानका युक्तिहरू हुन् भन्ने मान्छ । सामाजिक सम्पत्ति सम्झन्छ । यसैका आधारमा सामाजिक पहिचानको निर्मित हुन्छ । यसरी सामाजिक संरचनाबाट सङ्कथनको मापन पनि गर्न सकिन्छ । आलोचनात्मक विमर्श विश्लेषणात्मक, व्याख्यात्मक र वर्णनात्मक हुन्छ । क्रिटिकल पब्लिक डिस्कोर्स एनालाइसिस अभिन्न चलिरहने रूप र विचारधारा हो । अन्तर्क्रियाको एउटा शैली हो । समाजका यावत् पक्षको शुद्धीकरणको एउटा विधिको रूपमा क्रिटिकल पोलिटिकल डिस्कोर्स एनालाइसिसलाई बुझ्नु र बुझाउनु पर्छ ।