• १७ असार २०८१, सोमबार

राष्ट्रिय धान दिवसमा पञ्चे बाजाको रमाइलो

blog

राष्ट्रिय धान दिवसको अवसरमा कमलामाई नगरपालिका–४ मा पञ्चेबाजा सहित रोपाइँ गर्दै किसान । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, असार १५ गते । सिन्धुली जिल्लामा यो वर्ष राष्ट्रिय धान दिवस-२०८१ विभिन्न कार्यक्रम गरी मनाइएको छ । कमलामाई नगरपालिका-४ का किसानले खेतमै पञ्चेबाजा सहित धान दिवस मनाइएको हो । 

कमलामाई नगरपालिकाको आयोजना र जनज्योति माध्यमिक विद्यालयको सहआयोजनामा उक्त विद्यालयको कृषि फिल्डमा पञ्चेबाजा सहित धान दिवस मनाइएको हो । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस मनाएको किसानले बताएका छन् ।

कलाघर सिन्धुलीका कलाकारले बजाएको पञ्चेबाजाको तालमा रोपाइँमा आएका हली, लाठ्ठे, रोपाहार सहित उक्त दिवसमा सहभागी जनप्रतिनिधि, शिक्षक, विद्यार्थी लगायतका व्यक्ति हिलाम्य भई धान रोप्न व्यस्त देखिन्थे । परनिर्भरतालाई निर्मूल पार्न सबैले कृषि पेसालाई सम्मान र प्रोत्साहन गर्नु पर्ने कार्यक्रममा सहभागी कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रलले बताउनुभयो ।

त्यस्तै, कमलामाई नगरपालिका–४ खट्टारमा पनि कृषि विकास कार्यालय सिन्धुलीको आयोजना र कोइलादेवी महिला कृषक समूहको समन्वयमा राष्ट्रिय धान दिवस मनाइएको छ । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, कृषि विकास कार्यालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

उता मरिण गाउँपालिकाले पनि वडा नं. ६ स्थित नयाँ बस्तीमा राष्ट्रिय धान दिवस मनाएको छ । जिल्लाका अन्य स्थानीय तहले पनि राष्ट्रिय धान दिवस मनाएको जनाएका छन्। बेलैमा मनसुन सुरु भएकोले किसान रोपाइँको चटारो छ । यो वर्ष बेलैमै मनसुन सुरु भएकोले सिन्धुली जिल्लाको नौ वटै स्थानीय तहमा गरी हालसम्म करिब ३४ प्रतिशत अर्थात् तीन  हजार ६९२ हेक्टरमा रोपाइँ सकिएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । 

सिन्धुली जिल्लामा कुल खेती योग्य जमिन ६९ हजार २५३ हेक्टर मध्ये बर्से धान खेतीयोग्य जमिनको क्षेत्रफल ११ हजार १८८ हेक्टर रहेको छ । गत वर्ष जिल्लामा करिब १२ हजार  हेक्टर जमिनमा धान खेती भएको कार्यालयको सूचना अधिकारी उमादेवी श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा तरकारी खेती, अन्य बाली र बाँझो जमिन बढ्दै गएकाले धान खेती हुने जमिन घट्दै गएको उहाँको भनाई छ। दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा धान खेतीका लागि कमलाखुजँ, मरिण, र तीनपाटन  क्षेत्र उर्वर क्षेत्र मानिन्छ ।