• १७ असार २०८१, सोमबार

देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री

blog

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड ।

भरतपुर (चितवन), असार १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र नभई देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

भरतपुर महानगरले आज यहाँ आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट पार्नुभयो ।

सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिचाइ र बिउँ एवम् मल उपलब्धता गर्ने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने विश्वास व्यक्त गर्नुभयो ।

धान बाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीन वटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गर्नुभयो । 

कृषि क्षेत्रमा आधारित व्यापार-व्यवसायमा लाग्न र देशको आर्थिक क्षेत्रको प्रवर्द्धन गर्न जोड दिँदै प्रधानमन्त्री प्रचण्डले कृषि कर्मका माध्यमबाट देश समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले दुग्ध किसानलाई अनुदान उपलब्ध गराउने, कृषि प्रवर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि बढाएको बताउनुभयो ।

भरतपुर महानगरका मेयर रेणु दाहालले चितवनका सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिचाइ उपलब्ध गराउने व्यवस्था मिलाइने विश्वास दिलाउनुभयो । कृषकमैत्री कार्यक्रम कार्यान्वयन गरेर उत्पादकत्व वृद्धि गरिने उल्लेख गर्दै उहाँले खाद्यान्नमा चितवनलाई आत्मनिर्भर बनाउन लागिपरेको जानकारी दिनुभयो ।