• १२ साउन २०८१, शनिबार

निर्माणाधीन पुलको पिल्लर बाङ्गियो

blog

निर्माणाधीन पक्की पुलको कोशीतिर झुकेर बाङ्गिएको पिल्लर । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, असार ९ गते । सुनकोशी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खोटाङपट्टिको पिल्लर बाङ्गिएपछि पुल निर्माणको काम थप प्रभावित भएको छ । खोटाङको वराहपोखरी गाउँपालिका–२, सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने जोड्ने धाप्लाङस्थित पुलको पिल्लर नदीतर्फ ढल्किएको हो ।

निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौँका ठेकेदारको गैरजिम्मेवारीका कारण पाँच वर्ष पहिले नै अर्थात् २०७६ साल असार मसान्तमा निर्माण सम्पन्न भई सञ्चालनमा आउनुपर्ने सो पुल हालसम्म पनि बन्न सकेको छैन । सो निर्माण कम्पनीले २२ करोड २५ लाख रुपियाँमा सम्झौता भएको मितिदेखि ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरानसँग २०७३ साल असार ३० गते सम्झौता गरेको हो ।

दुवैपट्टि फुटपाथसहित १० मिटर चौडाइ र ४० मिटर लम्बाइका पाँच वटा स्पानसहित दुई सय मिटर लम्बाइ रहेको र जगको किसिम ओपेन वेल फाउन्डेसन भएको पुलको हालसम्म वारि र पारि दुई किनारमा एक/एक वटा पिल्लर बनाउनेभन्दा अरू कुनै काम हुन सकेको छैन । वर्षा सुरु नहुँदै नदीको बहावले कटान गरेपछि खम्बा बाङ्गिँदै गएको स्थानीयवासीले बताए ।  निर्माण कम्पनीले ठेक्का लिएको पुल तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गर्नुभएको थियो । 

२०७६ सालमा निर्माण सम्पन्न हुने गरी सम्झौता भएको पुलको काम नभएपछि सम्बन्धित कार्यालयले निर्माण कम्पनीलाई कालो सूचीमा राखेर आवश्यक कारबाही अगाडि बढाउने तयारी गरेपछि पुनः २०८० साल फागुन २८ गतेदेखि डिजाइन परिवर्तन गरेर 

‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ । त्यही ‘पाइल’ फाउन्डेसन बनाउने क्रममा खोटाङतर्फ फर्काइएको नदीको बहावले कटान गरेपछि पहिले निर्माण गरिएको पिल्लर बाङ्गिएको वराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जाराले बताउनुभयो । स्थानीय धाप्लाङघाटका मानवहादुर माझी भन्नुहुन्छ, “पिल्लरको माथिल्लो भागको माटो नदी कटानमा परेपछि नदीतिर ढल्किँदै गएको छ । कति बेला ढल्ने हो भन्ने अवस्थामा पुगेको छ ।  

सडक विभाग पुल सेक्टर धरान, सुनसरीका योजनाका प्रमुख इन्जिनियर दारोगा प्रसादले भने पुलको खम्बा बाङ्गिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । सुरुमा यहाँ ‘वेल’ फाउन्डेसन प्रविधिको पुल बनाउने ठेक्का सम्झौता भएको थियो । शिलान्यास गरेको सात वर्षपछि गत वर्ष ‘पाइल’ फाउन्डेसन प्रविधिको पुल बनाउने गरी डिजाइन परिवर्तन गरिएको हो । 

निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गिएपछि गुणस्तरमा समेत प्रश्न उठेको छ । धाप्लाङघाटमा पक्की पुल नहुँदा सबैभन्दा बढी कृषि उपज लोड अनलोड गर्दा किसानले व्ययभार खेप्न बाध्य छन् । त्यसो त भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने सोही प्रकृतिको अर्को पुल पनि निर्माण हुन सकेको छैन । उति नै लागतमा सम्पन्न गर्ने गरी रसुवा स्वच्छन्द पप्पु जेभीले एउटै ठेक्कामार्फत दुई वटा पुल निर्माणको जिम्मा लिएको थियो ।