• ३ जेठ २०८२, शनिबार

हिउँदे बाली भित्र्याउँदै मुस्ताङी

blog

म्याग्दी समाचारदाता

म्याग्दी, असार ६ गते । हिमालपारिको जिल्ला मुस्ताङमा हिउँदे बाली थन्क्याउनेतर्फ कृषक सक्रिय हुन थालेका छन् । हिउँदमा लगाइने बाली अहिले थन्क्याउनका लागि उपयुक्त भएकाले कृषक अहिले आफ्नो खेतीपातीमा व्यस्त हुन थालेका हुन् । 

परम्परागत रूपमा लगाउँदै आएको रैथाने बाली करु (उवा) अहिले पाकेर पहेँलपुर भएकाले यसलाई थन्क्याउन मुस्ताङी जनतालाई भ्याइनभ्याई छ । गुम्बामा हुने पूजाअर्चनामा महत्वका साथ प्रयोग हुने र पौष्टिकताले भरिपूर्ण हुने करुलाई थन्क्याउनका लागि अहिले मुस्ताङीले मेहनत गरिरहेका छन् ।

मुस्ताङको तल्लो क्षेत्र अन्तर्गत पर्ने बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका किसानले अहिले आफूले लगाएको उवा भित्र्याउनका लागि भ्याइनभ्याइ रहेको रपझोङ गाउँपालिका मार्फाका अगुवा कृषक दीपक लालचनले बताउनुभयो । लामो समयसम्म प्रयोग गर्न मिल्ने पोसिलो खानाका रूपमा लिइने उवा धमाधम थन्क्याउन कृषकहरू व्यस्त छन्, उहाँले थप्नुभयो । उवाको परिकार मानव स्वास्थ्यका लागि पनि राम्रो हुने मान्यता रहेकाले गर्दा पनि यसको महत्व रहको उहाँको तर्क छ । 

अहिले उवा थन्क्याउँदा उवाको नल पनि सुरक्षित तबरले भण्डारण गरिने र हिउँदयाममा पशुका लागि घाँसका रूपमा निकै उपयुक्त हुने उहाँको भनाइ छ । हिउँदको चिसोयाममा पशुलाई चरनमा लैजान असम्भव हुने भएकाले पनि नल त्यो समयका लागि राम्रो आहारा हुने उहाँको भनाइ छ । आफ्नो खेतबारीमा रहेको पाकेको उवालाई काटेर केही दिन सुकाएपछि बालाबाट दाना छुट्याएर भित्र्याउने गरिन्छ । 

पानी परेको खण्डमा अनाज बिग्रन सक्ने भएकाले पनि अहिले कृषकले चाँडो चाँडो गरी भित्र्याउन लागेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।

हिमालपारिको जिल्ला मुस्ताङमा हुने शीतोष्ण हावापानीमा उत्पादन हुने उवा र जौ खेतीले यहाँको धार्मिक तथा सांस्कृतिक परम्परालाई समेत जोड्ने गरेको छ ।

यहाँको उत्पादनसँग धार्मिक तथा सांस्कृतिक परम्परालाई जोड्नुका साथै जोगाउन पनि ठुलो योगदान पुगेको लालचनको भनाइ छ । गहुँ प्रजातिको उवालाई तल्लो मुस्ताङ क्षेत्रमा स्थानीय भाषामा करु पनि भन्ने गरिन्छ । 

समुद्री सतहको एक हजार ९८४ मिटर उचाइदेखि तीन हजार नौ सय मिटरको उचाइमा उवा खेती गर्न मिल्ने शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयको भनाइ छ । 

मुस्ताङमा परापूर्वकालदेखि नै जौ, उवा, फापर, लगाउने गरेको भए पनि अहिले नगदेबालीतिर स्थानीयहरू लागेका कारणले गर्दा उवा, जौ तथा फापर खेती कम हुने गरेको छ । 

थकाली बाहुल्य रहेको मुस्ताङ क्षेत्रका गुम्बामा हुने पूजामा पनि उवालाई पवित्र तवरले चढाउने हुनाले अहिले पनि यसको उत्पादनले महìव पाइरहेको घरपझोङ गाउँपालिकाका कृषि शाखाका अधिकृत रोशन थकालीको भनाइ छ । 

उपल्लो मुस्ताङमा भदौ/असोज महिनामा थन्क्याउने भए पनि तल्लो भेगमा भने असारको पहिलो हप्तासम्ममा थन्क्याउने उहाँले जानकारी दिनुभयो ।

बौद्ध तथा बोनपो धर्मावलम्बी रहेको मुस्ताङ क्षेत्रमा उवाको धार्मिक अनुष्ठान, काजक्रिया र विभिन्न चाडपर्वमा प्रयोग हुने गर्दछ । उवा र जौलाई भुटेर सातु बनाएर प्रयोग गर्ने तथा कतिपय थकालीले आफ्नो धार्मिक तथा पितृ कार्यका लागि छ्याङ र रक्सी बनाउन प्रयोग गर्ने स्थानीयको भनाइ छ । 

गत आव मुस्ताङको १३० हेक्टरमा लगाएको उवा खेतीबाट २८६ मेट्रिक टन उवा उत्पादन भएको थियो । यसै गरी ४४ हेक्टर क्षेत्रफलमा लगाएकोमा ८२ मेट्रिक टन जौ उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख बस्ताकोटीको भनाइ छ ।