ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध जनचेतना जगाउने उद्देश्यले सन् २००६ देखि अमेरिकास्थित इन्टरनेसलन नेटवर्क फर प्रिभेन्सन अफ एल्डर अब्युज (आइएनपिइए) नामक संस्थाले हरेक वर्ष जुन १५ मा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवस मनाउन सुरु गरेको थियो । यो दिनको विश्वव्यापी महत्व र आवश्यकतालाई मनन गर्दै संयुक्त राष्ट्रसङ्घले पनि सन् २०१२ देखि यो दिवसलाई मान्यता दियो । त्यसैले संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले जुन १५ लाई ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवसका रूपमा मनाउँदै आएका छन् । अन्य मुलुकमा जस्तै नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइन्छ ।
ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवस ‘आपत्कालीन अवस्थामा ज्येष्ठ नागरिकलाई प्राथमिकता’ भन्ने नाराका साथ आज मनाइँदै छ । सङ्कटको समयमा ज्येष्ठ नागरिकलाई संरक्षण र समर्थन गर्नका लागि तत्काल प्रयास गर्नुपर्ने आवश्यकतालाई जोड दिनु पर्छ । यसले सरकार, अन्तर्राष्ट्रिय दाता, सामाजिक संस्था र समुदायलाई उनीहरूको आपत्कालीन तयारी र प्रतिक्रिया रणनीतिमा ज्येष्ठ नागरिकको सुरक्षा र कल्याणलाई प्राथमिकता दिन आह्वान गर्छ । साथै समावेशी नीतिको विकासलाई प्रोत्साहन गर्छ र सङ्कटको समयमा ज्येष्ठ नागरिकलाई बेवास्ता नगर्ने सुनिश्चितता प्रदान गर्छ । ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्धको विश्व जनचेतना दिवसले ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार, मानव अधिकार उल्लङ्घनको विरोध गर्दै, ज्येष्ठ नागरिकको मर्यादाको पहिचान गर्दै, डर, त्रास र हिंसामुक्त बाँच्न पाउने अधिकारलाई बढाउँछ ।
प्राकृतिक प्रकोप, महामारी, तथा द्वन्द्व जस्ता आपत्कालीन अवस्थाले ज्येष्ठ नागरिकलाई असामान्य रूपमा असर गरिरहेको हुन्छ, जसले गर्दा ज्येष्ठ नागरिकमा शारीरिक तथा मानसिक ह्रास आउँछ । यस्तो आकस्मिक तथा आपत्कालीन अवस्थामा ज्येष्ठ नागरिकका लागि विशेष योजना र प्रतिक्रियामा उनीहरूको आवश्यकतालाई सम्बोधन गर्नु एकदमै महìवपूर्ण छ किनभने ज्येष्ठ नागरिकले प्रायःजसो गतिशीलताको समस्या, दीर्घकालीन स्वास्थ्य समस्या र सामाजिक क्रियाकलापमा अरुचि र एक्लोपनसँग सामना गरिरहेका हुन्छन् । यस्ता समस्याले गर्दा उनीहरूले आपत्कालीन अवस्थामा राहत तथा सहायतामा पहुँच पुग्न गाह्रो भइरहेको हुन्छ । यसै गरी आपत्कालीन अवस्थामै सुरक्षित स्थानमा पुग्न, वा समयमै चिकित्सा सेवा लिन पनि अन्य उमेर समूहका मानिसको दाँजोमा उनीहरू पछि परिरहेका हुन्छन् । यसले ज्येष्ठ नागरिकको हेरचाह लिने र सहयोग सेवा प्राप्त गर्ने क्षमतामा पनि बाधा पु¥याउन सक्छ । यसै गरी, आपत्कालीन अवस्थाको तनाव र त्रासले ज्येष्ठ नागरिकमा शारीरिक, भावनात्मक, आर्थिक वा हेलासहितका दुव्र्यवहारको चरम जोखिम बढाउन सक्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को परिभाषा अनुसार ज्येष्ठ नागरिक (६० वर्ष वा सो भन्दा माथिको उमेर) माथि हुने दुव्र्यवहार भन्नाले ‘आपसी विश्वास र निर्भरताको सम्बन्ध सीमाभित्र रहेर गरिने कुनै पनि त्यस्तो काम, कामको सिलसिला वा कामको अभाव, जसका कारणले ज्येष्ठ नागरिकलाई शारीरिक वा मनोवैज्ञानिक क्षति पुग्छ’ लाई जनाउँछ । ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार पारिवारिक हिंसा चक्रको एक हिस्सा पनि हुन सक्छ । सारांशमा ६० वर्षभन्दा माथिका व्यक्तिका लागि उनीहरूको जीवनस्तर अनुरूप अमिल्दो व्यवहार वा बुढापाकाको आदर, सम्मान गर्ने सामान्य सिद्धान्तको विपरीत हुने व्यवहार नै ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार हो । सामान्यतया ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार पाँच प्रकारका हुन्छन् । तीन हुन् :
आर्थिक दुव्र्यवहार
आयआर्जन वा धन सम्पत्तिको विषयलाई लिएर ज्येष्ठ नागरिकमाथि हुने नराम्रा व्यवहारलाई आर्थिक दुव्र्यवहार भनिन्छ । ज्येष्ठ नागरिकलाई जालझेल गरी वा ललाइफकाइमा पारी वा दबाबमा पारी उनीहरूको चलअचल सम्पत्ति, गहना, वृद्ध भत्ता आदिको दुरुपयोग गर्ने खालको दुव्र्यवहार यस प्रकारको दुव्र्यवहारमा पर्छन् ।
शारीरिक दुव्र्यवहार
ज्येष्ठ नागरिकमाथि कुटपिट गर्ने अथवा शरीरलाई असर गर्ने खालका दुव्र्यवहार यस समूहमा पर्छन् । ज्येष्ठ नागरिकलाई बाँधेर राख्ने, उनीहरूमाथि हातहतियार प्रयोग गर्ने, घचेट्ने, भुत्ल्याउने वा लछारपछार पार्ने खालका दुव्र्यवहार शारीरिक दुव्र्यवहार भित्र पर्छन् ।
हेला
ज्येष्ठ नागरिकको गाँस, बास र कपासको साथै अन्य आवश्यकता पूरा नगरिदिने घरबाट निकालिदिने वा बेवास्ता गर्ने खालको व्यवहार यस समूह भित्र पर्छन् ।
भावनात्मक वा मानसिक दुव्र्यवहार
शरीर नछोइकन, धनमालको क्षति नगरीकन, पीडितसँग सोझै नबोलीकन इसारा गरेर, व्यवहार गरेर लक्षित व्यक्तिलाई तनावमा वा मानसिक पीडामा वा अप्ठ्यारोमा पार्नुलाई मानसिक दुव्र्यवहार भनिन्छ । ज्येष्ठ नागरिकलाई देख्नेबित्तिकै ज्येष्ठ नागरिकतिरै वा अन्यत्र फर्किएर थुक्नु, उसको उपस्थितिमा उसैलाई नभने जस्तो तर उसैलाई पेच पर्ने गरी अरूसँग कुरा गर्नु, उसलाई देख्नेबित्तिकै मुख बिगार्नु, आँखा तर्नु, धारे हात लगाउनु, उसलाई सुन्न मन नलाग्ने गीत बारम्बार गाइरहनु या बजाउनु जस्ता व्यवहार यस समूहमा पर्छन् ।
यौन दुव्र्यवहार
ज्येष्ठ नागरिकको इच्छा विपरीत जबरजस्ती उनीहरूलाई यौन सम्बन्धित कार्यमा लगाउनु वा यस्ता कार्यमा लाग्न बाध्य बनाउने, जबरजस्ती करणी गर्ने, अश्लील चित्र तथा भिडियो देखाउने आदि जस्ता दुव्र्यवहार यौन दुव्र्यवहारमा पर्छन् ।
विश्वमा सन् २०१९ र २०३० को बिचमा ६० वर्ष वा सो माथिका व्यक्तिको सङ्ख्या ३८ प्रतिशतलले बढेर एक अर्बबाट १.४ अर्बमा पुग्ने अनुमान गरिएको छ । विश्वव्यापी रूपमा युवाको भन्दा ६० वर्ष माथिकाको सङ्ख्या बढी छ । यो वृद्धि विकासोन्मुख देशमा सबैभन्दा धेरै र छिटो हुने छ । यस्तो प्रकारको ज्येष्ठ नागरिकको सङ्ख्या वृद्धिले उनीहरूको मानव अधिकारको क्षेत्रमा समेत प्रभाव पार्ने देखिन्छ । यो असरले विभिन्न प्रकारका चुनौती उत्पन्न गर्छ ।
विश्वव्यापी रूपमा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै जाँदा दुव्र्यवहारबाट पीडित हुनेको सङ्ख्या पनि बढ्दै जान्छ, जसले ज्येष्ठ नागरिकको स्वास्थ्य, आर्थिक विकास र मानव अधिकारको पक्षमा समेत असर परिरहेको छ । नेपालकोे अवस्था पनि यस्तै छ । पारिवारिक इज्जतको डर, उजुरी गर्ने उपयुक्त निकायको अभाव र आफ्नो अधिकारबारे अज्ञानताले आफू दुव्र्यवहारमा परेको घटना बाहिर ल्याउन र स्वीकार्न ज्येष्ठ नागरिक हिच्किचाउने गर्छन् ।
ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार एउटा प्रमुख सामाजिक समस्या हो । यो समस्या विकासोन्मुख र विकसित सबै देशमा व्याप्त छ तर यस्तो दुव्र्यवहारको विश्वव्यापी तथ्याङ्क हेर्दा एकदम कम घटना मात्र प्रहरीकहाँ पुग्छन् । ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारको उजुरी कम भए पनि यसले अहिलेको हाम्रो सामाजिक र नैतिक आचरण उनीहरूप्रति त्यति संवेदनशील छैन भन्ने स्पष्ट रूपमा देख्न सकिन्छ । एजिङ नेपालमा उपलब्ध तथ्याङ्क अनुसार विगत बाह्र वर्ष यता दुई हजार ९५५ जना ज्येष्ठ नागरिक विभिन्न प्रकारका दुव्र्यवहारबाट पीडित भए । दुव्र्यवहारबाट दुई हजार ५४६ जनाले ज्यान गुमाए तर यो वास्तविक तथ्याङ्क भने होइन ।
सबै नागरिकको मानव अधिकारको रक्षा गर्नु सरकारको दायित्व हो तर विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले ज्येष्ठ नागरिकलाई दुव्र्यवहारबाट सुरक्षित राख्न कुनै प्रकारको विशिष्ट र प्रभावकारी कदम चाल्न सकिएको छैन । विश्व स्वास्थ्य सङ्गठनले १३३ देशमा गरेको सर्वेक्षण अनुसार जम्मा ५९ प्रतिशत देशमा मात्र ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार रोक्न कानुनको व्यवस्था गरिएको छ, जसमध्ये ३० प्रतिशत देशमा मात्र कडाइका साथ लागु भएको छ ।
यस वर्ष ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवस २०२४ ले आपत्कालीन प्रतिक्रियामा काम गरिरहेका व्यक्ति, सरोकारवाला, हेरचाहकर्ता र आममानिसका लागि शिक्षा र तालिमको आवश्यकता र महत्वलाई पनि बढावा प्रदान गर्छ, जुन शिक्षा र तालिमले आपत्कालीन अवस्थामा ज्येष्ठ नागरिकले सामना गर्ने विशेष चुनौतीबारे सचेतना बढाएर, थप समावेशी र सुरक्षात्मक वातावरण बनाउन सहयोग पु¥याउँछ । ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्धको विश्व जनचेतना दिवस २०२४ को नारा हामी सबैले समान रूपमा पालना गरौँ । विशेष सङ्कटको समयमा ज्येष्ठ नागरिकलाई प्राथमिकता सुनिश्चित गर्दै उनीहरूको अधिकार र मर्यादाको रक्षा गर्ने प्रतिबद्धतालाई पुनः हामी सबैले व्यवहारमा लागु गरौँ ।