• ८ असार २०८१, शनिबार

पाँच प्रदेशका बिस जिल्लामा सिपमूलक तालिम

blog

फाइल तस्बिर ।

काठमाडौँ, असार १ गते । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीका लागि पाँच प्रदेशका २० जिल्लामा छोटो समयका सिपमूलक तालिम सञ्चालन गरिरहेको छ । 

वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीबाट फर्किएका करिब छ हजारलाई छोटो अवधिको (एकमहिने) तालिम सञ्चालन गरेको हो । बोर्डका अनुसार चालु आर्थिक वर्षभित्र सक्ने गरी धेरै ठाउँमा तालिम सुरु भइसकेको छ । 

बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बोर्डले विदेशमा काम गरेर फर्किएका र उनीहरूका परिवारका सदस्यलाई लक्ष्य गरेर छोटो समयको तालिम सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएकालाई देशमै पुनः एकीकरण गर्न चालु आवमा यो कार्यक्रम सञ्चालन गरिएको हो । 

वैदेशिक रोजगारीबाट फर्केकाको सिप, पुँजी र प्रविधिलाई राष्ट्र हितका लागि यस्ता सिपमूलक तालिम सञ्चालन गरेको कार्यकारी निर्देशक उप्रेतीको भनाइ छ । बोर्डले यस पटकको तालिममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाहेकका अन्य पाँच प्रदेशमा तालिम सञ्चालन गरेको जनाएको छ । 

बोर्डका अनुसार जुनियर फर्निचर मेकर, हाउसकिपिङ, प्लम्बर हेल्पर, इलेक्ट्रिसियन, हाउस पेन्टर, किचेन हेल्पर, जुनियर ब्युटिसियनलगायतका क्षेत्रमा तालिम सञ्चालन गरिएका छन् । 

वैदेशिक रोजगारीबाट फर्किएकाका लागि पालिकास्तरमै उद्यमी बनाउन विभिन्न पालिकासँग लागत साझेदारी गरी यस्ता तालिम दिन थालेको बोर्डले जनाएको छ । 

वैदेशिक रोजगारीका लागि नेपालको कुन कुन जिल्लाबाट बढी मात्रामा युवा विदेश जाने गरेका छन्, त्यस जिल्लालाई छनोट गरी उद्यमशीलता र तालिम दिएको बोर्डले जानकारी दिएको छ ।

यस प्रकारका तालिमको उद्देश्य विदेशमा आर्जन गरेको पुँजी, ज्ञान, सिप, प्रविधि र अनुभव आफ्नै माटोमा प्रयोग गर्ने योजना रहेको छ । बोर्डका अनुसार उनीहरूलाई सरकारले प्राविधिक तथा व्यवस्थापकीय सहयोग गरी एकल वा समूहमा राखेर उद्यममूलक कार्यक्रम सञ्चालन गरेको छ । 

वैदेशिक रोजगारीबाट फर्केकालाई समाजमा अन्तर्घुलन गराउन पारिवारिक तथा सामाजिक मेलमिलाप, मनोसामाजिक परामर्श, नेतृत्व विकास, सामाजिक सञ्जाल निर्माण तथा स्वयंसेवक परिचालन जस्ता कार्यक्रम पनि भइरहेको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो । 

वैदेशिक रोजगारबाट सिप र पुँजी लिएर वा समस्यामा परेर फर्कनेका लागि यस्ता तालिम निकै महत्वपूर्ण भएको उहाँको भनाइ छ ।