• १३ साउन २०८१, आइतबार

झोलुङ्गे पुल नबन्दा विद्यार्थीलाई सास्ती

blog

धनगढी समाचारदाता

धनगढी, जेठ ३१ गते । झोलुङ्गे पुल नबन्दा मोहना नदीपारि रहेका दुई गाउँका विद्यार्थीलाई सास्ती भएको छ । कैलारी गाउँपालिका–३ मा रहेको मोहनपुर र शिवरत्नपुर गाउँका विद्यार्थीलाई समस्या भएको हो । आधारभूत तहसम्म पढाइ हुने विद्यालय गाउँमा नहुँदा दुवै गाउँका विद्यार्थी मोहना नदी तरेर अध्ययनका लागि पारिपट्टिको भितरिया, ‘के’ गाउँ र हसुलिया पुग्ने गरेका छन् । पारिपट्टिका गाउँसँग जोड्नका लागि झोलुङ्गे पुल छैन । मोहनपुरमा रहेको झोलुङ्गे पुलको पिल्लर मात्रै निर्माण भएको छ भने शिवरत्नपुरमा पनि पुल निर्माण अलपत्र छ । 

पुल नहुँदा आफूहरूले धेरै दुःख कष्ट गरेर विद्यालयसम्म आउजाउ गर्ने गरेको जनकल्याण मावि कक्षा १० मा अध्ययनरत आशिका चौधरीले बताउनुभयो । उहाँले वर्षायाममा नदीमा बाढी आएपछि वारपार गर्न नसकेर पढाइ छुट्ने गरेको बताउनुभयो । नदी वारपार गर्न नसकेका कारण कुनै बेला परीक्षा पनि छुट्ने गरेको विद्यार्थीको भनाइ छ । उनीहरूले झोलुङ्गे पुल चाँडै बने आफूहरूलाई सहज हुने बताएका छन् । झोलुङ्गे पुल हालसम्म नबनेकोमा गुनासो गर्दै कक्षा १० मा अध्ययनरत अर्का विद्यार्थी महिमा चौधरीले नदीमा पुल नहुँदा धेरैको भविष्य नै अन्धकार बनेको बताउनुभयो । 

नदी तर्नुपर्ने कारणले कतिपय विद्यार्थीले बिचमै विद्यालय छोड्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँमा ५ कक्षासम्म पढिसकेपछि कतिपय विद्यार्थीको त्यहीँबाटै औपचारिक रूपमा पढाइ सकिन्छ । विद्यालय टाढा छ, त्यसैमा पुल नहुँदा बर्खाका आधा जति समय पढाइ छुट्ने गरेको छ ।” स्वास्थ्य सेवा लिनका लागि पनि दुवै गाउँवासीले सास्ती खेप्नु परेको छ । आफ्नो गाउँमा खोप केन्द्र नहुँदा उनीहरू नदी तरेर पारिरहेको स्वास्थ्य केन्द्रमा खोप लगाउनका लागि पुग्ने गरेका छन् ।

झोलुङ्गे पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले धेरै दुःख भोग्नु परेको वडा सदस्य सैतुराम चौधरीले बताउनुभयो । उहाँले पुलको पिल्लर जोगाउनका लागि नदीमा जैविक तटबन्ध गरिएकाले पुल बन्नेमा आफूहरू विश्वस्त रहेको उल्लेख गर्नुभयो । वडा कार्यालयको आर्थिक सहयोगमा जैविक तटबन्ध निर्माण गरिएको छ ।