• १३ साउन २०८१, आइतबार

गोरखापत्रसँग प्रेस काउन्सिल

गोरखापत्रको भूमिका प्रशंसनीय छ : काउन्सिल अध्यक्ष बस्नेत

blog

पत्रकारले के गर्नु हुँदैन भन्ने प्रेस काउन्सिलको जानकारीमूलक प्रचार सामग्री गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई प्रदान गर्नुहुँदै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत । तस्बिरः कविन अधिकारी

काठमाडौँ, जेठ २९ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गोरखापत्रको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ।

गोरखापत्र संस्थानमा जारी ऐतिहासिक फोटो प्रदर्शनीको अवलोकनपछि मंगलबार ‘सञ्चार माध्यमसँग प्रेस काउन्सिल’ कार्यक्रम अन्तर्गत गोरखापत्रसँग संवाद गर्नुहुँदै उहाँले सो कुरा उल्लेख गर्नुभएको हो।


उहाँले गोरखापत्र दक्षिण एसियामै नमुना सञ्चारमाध्यम भएको भन्नुहुँदै प्रिन्टिङ संस्था घट्यो भन्नुभन्दा यसका लागि बनाइएका रणनीति कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले गोरखापत्र राष्ट्र र जनताको पत्रिका भएकोले देशका सबै जिल्लामा यो अखबार पुग्नुपर्ने भनाइ राख्नुभयो।

संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थानमा सम्पादकीय पक्ष, इतिहास र सम्पदाको सुरक्षा र प्रशासनतर्फ आन्तरिक सुशासन गरेर मुख्य तीन पक्षमा सुधारको कार्य अघि बढेको बताउनुभयो। 


उहाँले गोरखापत्रलाई छापा समाचार पत्रिकाको रुपमा लिइने गरेपनि यसको एक सय २४ वर्षको लामो इतिहासमा संस्कृति र भाषा लगायत विविध पक्षलाई जोड्ने काम गरेको भनाइ राख्नुभयो।

अध्यक्ष सुवेदीले भन्नुभयो, “फोटो प्रदर्शनीको अवलोकन र अन्तरक्रिया भएको छ, यसले हौसला र न्यानो प्रेरणा प्रदान भएको छ।” 


कार्यक्रममा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई,  दि राइजिङ नेपाल’ दैनिक का निमित्त प्रधान सम्पादक भिमसेन थपलिया, गोरखापत्रका निमित्त प्रबन्ध सम्पादक जुनारबाबु बस्नेत, राइजिङ नेपालका निमित्त प्रबन्ध सम्पादक परमेश्वरप्रसाद देवकोटा, कला तथा फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईंँले आ–आफ्नो धारणा राख्नुभयो।