• १३ साउन २०८१, आइतबार

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

blog

गण्डकी प्रदेश सभाको सोमबारको बैठक । तस्बिरः रमेश पौडेल

रमेश पौडेल/फडिन्द्र अधिकारी
लेखनाथ, जेठ २८ गते । 
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा विपक्षी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक सबै सांसदको समर्थन जुटाएर पाण्डेले विश्वासको मत पाउनुभएको हो ।

पाण्डेलाई नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादीको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटाले मत दिनुभएको हो । पाण्डेको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ ।

सर्वोच्च अदालतको परमादेशबाट जेठ १६ गते सदनको सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डे प्रदेश सरकारको स्थिरता, संविधान कार्यान्वयन र रक्षाका लागि विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । एक वर्षमा चार पटक नेतृत्व फेरिँदा आक्रोश बढेको उल्लेख गर्दै उहाँले बृहत् राजनीतिक सहमति आवश्यक भएको सदनमा बताउनुभयो ।

“मैले बृहत्तर राजनीतिक सहमतिको आवश्यकता देखेको छु । सदनलाई विसङ्गति र विकृतिविहीन बनाउन सकिन्छ, म बनाउँछु,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सरकार फेरिइरहँदा हामीले नीति कार्यक्रम र बजेट सही कार्यान्वयन गर्न सकेका छैनौँ । नेपालीको संविधान कार्यान्वयन गर्ने दायित्व हामी सबैको हो ।”

प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दल एउटा भोट अर्को ठाउँमा जाने विकृत अवस्था आउन नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “त्यस्तो मानिँदैन । खालि दलीय व्यवस्थामाथि प्रहार गर्ने, दललाई कमजोर बनाउन त भएन नि । विकृति, विसङ्गतिरहित भए हाम्रो दलले पनि समर्थन गर्न सक्छ ।” नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेश सभा जोगाउनुपर्नेमा जोड दिनुभयो ।