• १३ साउन २०८१, आइतबार

कृषि क्याम्पसलाई ३० लाख बराबरको जग्गा दान

blog

क्याम्पस सञ्चालक समिति अध्यक्ष जसबहादुर लुंगेलीलाई जग्गा दाता बसन्त खड्गीले मालपोत कार्यालय इलाममा जग्गा रजिस्ट्रेसन पासपछि धनीपुर्जा हस्तान्तरण गर्दै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, जेठ २८ गते । इलाममा तीन वर्ष यता सञ्चालन भइरहेको कृषि क्याम्पसलाई स्थानीय वसन्त खड्गीले जग्गा दान गर्नुभएको छ । आफ्ना स्वर्गीय आमा–बुबा कृष्णमाया र चन्द्रबहादुरको स्मृतिमा खड्गीले क्याम्पसलाई जग्गा उपलब्ध गराउनुभएको हो ।

खड्गीले करिब ३० लाख रुपियाँ मूल्य बराबरको एक रोपनी आठ आना जग्गा क्याम्पसलाई दान गर्नुभएको क्याम्पस सञ्चालक समिति अध्यक्ष जसबहादुर लुंगेलीले बताउनुभयो। अहिले क्याम्पस सञ्चालन भइरहेको स्थान बसपार्क नजिकै यो जग्गा छ । अहिले प्राप्त जग्गामा क्याम्पसको भवन निर्माणका लागि प्रक्रिया अघि बढाइने पनि अध्यक्ष लुङ्गेलीले बताउनुभयो । 

कोशी पहाडमै पहिलो र (बिएस्सी एजी) कृषि पढाइ हुने यो एकमात्र क्याम्पसमा देशभरका एक सय ४४ विद्यार्थी अध्ययनरत छन् । यहाँ कृषि अन्तर्गत बाली विज्ञान, माटो विज्ञान, बागवानी, लगायतका विषयहरू पढाइ हुने गरेको क्याम्पस प्रमुख डा.योगेन्द्रमान श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार स्थानीय सरकारले जिल्लामा सञ्चालन गरेको यो पहिलो क्याम्पस पनि हो । अघिल्लो कार्यकालमा महेश बस्नेत प्रमुख हुँदा इलाम नगरपालिकाले यो क्याम्पस सञ्चालनमा ल्याएको थियो ।