• १६ पुस २०८१, मङ्गलबार

रोकिएन असारे विकास

blog

पुँजीगत खर्च कम भयो, पुँजीगत खर्च कसरी बढाउने भन्दै अर्ती उपदेश दिन्छौँ तर पुँजीगत खर्चको ठुलो हिस्सा ओगटेको सडक निर्माणको कार्यलाई असारको पानी कुरेर बस्छौँ । पानी दर्कन थालेपछि सुरु गर्छौं बाटो खन्न । पूँजीगत बजेटलाई खर्च गरेर विकासलाई व्यवस्थापन गर्न सक्नुपर्ने हो, खोइ त सकेको ? राष्ट्रिय बजेट खर्चले खर्चको ‘भ्यालु फर मनी’ कायम गर्न सक्नुपर्ने होइन र ?

असारे विकासमा असारको पानीसँगै पुँजीगत बजेटको ठुलो हिस्सा बगाउने गरेका छौँ । असारे झरीमा पिच गरेको सडकमा एक महिनापछि साउने झरीले निकै ठुला ठुला खाडल बनाउँछ भने यो दोष झरीको होइन, हाम्रो हो । हाम्रो विकास पद्धतिको हो । बजेट खर्च गर्ने निहुँमा नकारात्मक नतिजा प्राप्त गर्ने हाम्रो कार्य संस्कृतिको हो । बजेटलाई बेवास्ता गर्ने, माया नगर्ने बानी छ । चाहे सानो होस् वा ठुलो हतारमा गरिने विकास निर्माणका कामको गुणस्तर कमजोर हुन्छ । यसमाथि अझ कतिपय कामकुरा त सुरु नै नगरी सम्पन्न गर्न हतार हुन्छ । 

जब असार लाग्छ, राम्रा सडकसमेत भत्काइन्छ । अनि पैदल हिँड्नसमेत मिल्दैन । सवारीसाधन दुर्घटना बढ्न थाल्छ । आफ्नो काम लिएर बाहिर निस्केर साँझ घरमा सकुशल फिर्ता हुन सकिन्छ कि सकिँदैन भन्ने भय हुन्छ । हरेक वर्ष निरन्तरता पाउने गरेको असारे विकासका कारण नागरिकले सहनु पर्ने सास्ती र व्यापक क्षतिका सम्बन्धमा राजनीतिक, प्रशासनिक नेतृत्वलगायत सरोकारवाला सबै अनभिज्ञ छैनौँ तर यस्तो विकृत अभ्यास बन्द गराउन किन सक्दैनौँ ? यसमा सुधार गर्ने प्रयाससमेत किन गरिँदैन ? 

एक त हाम्रा विकास योजनालाई असार मसान्तसँग जोड्ने अभ्यास नै गलत छ । कुनै पनि योजना स्वीकृत भइसकेपछि योजना सम्पन्न हुने सुनिश्चितता हुनु पर्छ । योजनाका लागि विनियोजित रकम फ्रिज हुने अभ्यास अन्त्य हुन जरुरी छ । यसो गर्न सकेमा गुणस्तरहीन काम गरेर वा अन्य कुनै जालसाझीपूर्वक रकम भुक्तानी लिने दिने काम बन्द हुन्छ । असारे विकासको असर यस्तो छ कि स्थानीयलाई सुविधा कम, सास्ती धेरै भएको छ । असारे झरीमा बजेट सक्ने चटारोले गर्दा बजेट दुरुपयोगले निरन्तरता पाइरहेको छ । 

जुनसुकै विकास निर्माणको काम गर्दा नागरिक लाभान्वित हुने गरी गर्न जरुरी छ । विकास निर्माणमा देखिएको बेथितिलाई रोक्न जेठ १५ मा नै बजेट ल्याउने व्यवस्था त भयो तर यति हुँदा पनि असारे विकासलाई रोक्न सकिएन । आर्थिक वर्षको सुरुदेखि बजेट कार्यान्वयन सुरु नगर्ने, माघ÷फागुनमा आएर मात्रै काम गर्ने, निर्माण व्यवसायीले पनि ढिला बिल पेस गर्ने र भुक्तानीमा पनि ढिलाइ हुने भएकाले असारमा बढी खर्च हुने देखिएको सरोकारवालाको भनाइ छ । असारे विकास र एकै पटक हुने भुक्तानीलाई रोक्न नीतिगत तथा प्रक्रियागत सुधार थालिएको भए पनि परिणाम अझै देखिन सकेको छैन । 

एकातिर विकास निर्माणको विभिन्न चरणमा विभिन्न कारणले रोकिएका भुक्तानी जेठ÷असारमा गरिन्छ भने अर्कातिर बजेटमा परेको रकम भनेर फ्रिज नगराउन अन्तिममा कामको गति बढाउने प्रचलनले निरन्तरता पाएको छ । स्रोत व्यवस्थापनमा अर्थ मन्त्रालयको बढी भूमिका रहन्छ । यसै गरी समयमा नै काम गर्ने विषयमा अन्य मन्त्रालय तथा विभाग बढी गम्भीर भएर लाग्नुपर्ने देखिन्छ । जेठ १५ मा नै बजेट आए पनि दसैँ, तिहार सकेर मात्रै टेन्डर गर्ने प्रवृत्ति आज पनि उस्तै छ । काम नै ढिला सुरु गर्ने, बिल पनि ढिलै पेस गर्ने र बिल स्वीकृतिलाई पनि समय लाग्ने भएकाले असारमा बढी खर्च हुने तितो यथार्थ हामी माझ छ । 

असारमा विकासे कार्यालय भिडभाड हुन्छन् । कर्मचारी पनि निकै व्यस्त हुन्छन् । राम्रोसँग विचार, विश्लेषण, अनुसन्धान गर्ने समय नै पुग्दैन । बोल्नेसम्म फुर्सद हुँदैन । यसले स्थलगत अनुगमन गर्नसमेत निकै हतार हुन्छ । स्थानीय अगुवा योजना सम्पन्न गर्न बनाइएका उपभोक्ता समितिमा हर्ताकर्ता हुन्छन् । कतिपय योजनाबारे विकट गाउँका स्थानीयबासी जानकारसमेत हुँदैनन् । जब बजेट हात पर्छ तब तिनै अगुवाले नै टालटुल काम गरेर रकम सक्ने चलन यदाकदा छँदै छ । असार अन्तिममा डोजर, स्काभेटर, लोडरले फुर्सद पाउँदैनन् । पानी दर्किरहेको बेलामा समेत सडक पिच, ग्राभेल गर्ने चटारो हुन्छ । 

निर्माण कार्यको गुणस्तर निकै कमजोर छ । न्यून लागत मूल्यमा ठेक्का सकार गर्ने अनि काम गर्न आलटाल गर्ने प्रवृत्तिले पनि निर्माणमा समस्या देखिएको छ । आर्थिक वर्षको अन्त्यमा बजेट सक्ने प्रवृत्तिले भ्रष्टाचारलाई बढाएको छ । 

विकाससँगै विनाश निम्त्याएको छ । बिनासर्वेक्षण बाटो खन्ने काम हुने गरेको छ । स्थानीय सरकारको उपस्थिति बलियो हुनपर्ने हो । त्यो पनि हुन सकेको छैन । पहिले पहिले गाउँठाउँमा विकास गर्न सजिलै श्रमदान गर्न तयार हुने समाज आज कसरी बजेट खर्च गर्ने भनेर व्यस्त छ । 

विकास निर्माणको कामले दिगो विकासलाई पछ्याउनु पर्छ । दिगो विकासका लागि कृषि र पर्यटनलाई ध्यान दिन सक्नु पर्छ । यसका लागि पर्याप्त बजेट हुनु पर्छ । किसानका बाली फौजी किरा, सलहलगायतले सखाप पार्दासमेत कतिपय स्थानीय तहको प्राथमिकता ठुला भवन निर्माणमा केन्द्रित हुने गरेको छ । किसानले मल र कीटनाशक औषधीको अभाव खेपिरहँदा स्थानीय तह गाडी किन्नमा पनि व्यस्त देखिन्छ । सम्भावना बोकेका पर्यटकीय गाउँ ओझेलमा परेका छन् तर जनप्रतिनिधिको प्राथमिकता भने विदेश भ्रमणमा परेको छ । एकातिर दानाको अभावमा कुखुरा र माछा मरिरहेका छन् भने अर्कातिर खोला नभएको ठाउँमा पुल बनाएर जात्रा छ । 

पानी पर्न थालेपछि धेरै ठाउँमा पहिरो जाने र पहिरोमा परेर मानिसको ज्यान जानुको कारण असारे विकासको असर हो । किसानले भोग्नु परेको सास्ती, प्राकृतिक सुन्दरताले भरिएको देशमा पर्यटकको अभाव, युवामा देखिएको निराशा असारे विकास नै हो । गहिरो अनुसन्धान नगरी गरिएको कामले क्षति पु¥याउँछ भन्ने कुरा अब सबैले बुझ्न आवश्यक छ । तीन वटै तहका सरकारले असारे विकासको उचित व्यवस्थापन गर्दै दिगो विकासमा जोड दिनु पर्छ । कृषि र पर्यटनलाई उचित तरिकाले व्यवस्थापन र विकास गर्नु जरुरी छ । समग्र मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजान सक्नु पर्छ । 

पर्यटन विस्तारका लागि अतिथिलाई गर्नुपर्ने स्वागत र सत्कारका विषय पनि स्थानीय तहसम्म सिकाउनु आवश्यक छ । गाउँ गाउँमा स्वरोजगारको अवसर सिर्जना गर्न सक्नु पर्छ ।

असारको झरीमा सडक भत्काएर असरल्ल छाडिदिएपछि आमनागरिकमा विकासप्रति नै निराशा उत्पन्न गराउँछ । अझै पनि विकासको काम समयमा नै थाल्ने र पूरा गर्ने परिपाटी किन बसाल्न सकेनौँ ? पहिला बाटो पिच गरिन्छ, अनि त्यसको एक दुई महिना नपुग्दै ढल निर्माण तथा खानेपानी पाइपका लागि भन्दै पुनः खन्ने काम हुन्छ । छोटो समयमा नै सडक भत्काउने काम बाँकी हुँदाहुँदै पिच गर्नुको औचित्य कति ? प्रायः सबै सडकमा यही नियति दोहोरिएको छ । यहाँ त जति भत्कायो, त्यति फाइदा हुन्छ भन्ने मानसिकता देखिन्छ । सरोकारवाला अन्य निकायसँग समन्वय गरिँदैन । 

जुनसुकै विकास पनि दिगो हुनु पर्छ । विकास निर्माणका हरेक काममा सरोकारवाला निकायसँग समन्वय हुनु पर्छ । बाटो बनाउँदा वा सडक पिच गर्नुभन्दा पहिला खानेपानीको पाइप, ढल निर्माण, बिजुलीको तार पुर्ने जस्ता सबै काम सक्नु पर्छ । विकास गर्ने बहानामा अहिलेको जस्तो घाम लाग्दा धुलो र पानी पर्दा हिलोको सास्ती हुन हुँदैन । लोकतन्त्रको संस्थागत हुन नसक्दा हाम्रा राजनीतिक दलमा हुर्केको विकृत भागबण्डाको कुसंस्कार विकास योजनामा पनि पनि परेको भान हुन्छ । सरकारी खर्च पद्धतिका बेथिति सुधारका निम्ति वर्षौंदेखि परिरहेको दबाबले नतिजा दिन सक्नु पर्छ अब ।

सीमित साधनस्रोतले असीमित आवश्यकता पूरा गर्नुपर्ने हाम्रो मुलुकमा सबैजना सधैँभरि असारे विकासको सास्तीमा रमाउने संस्कृतिको अन्त्य गर्न आवश्यक छ । विकास निर्माणको काममा अनियमितताले नियमितता पाउने हो भने यसले विकास होइन विनाश निम्त्याउँछ । विकास निर्माणको काम अभिशाप होइन, बरदान हुन सक्नु पर्छ । विकास बजेट खर्च गर्दा उचित व्यवस्थापन गर्नु र गराउनु सबैको साझा दायित्व हो ।