• १२ साउन २०८१, शनिबार

विश्वकपमा अस्ट्रेलिया र वेस्ट इन्डिजको लगातार दोस्रो जित

blog

जितपछि अस्ट्रेलिया र वेस्ट इन्डिजको खुशी । तस्बिरः क्रिकइन्फो

काठमाडौँ, जेठ २७ गते। आइसिसी टी-२० विश्वकप क्रिकेटमा अस्ट्रेलिया र वेस्ट इन्डिजले लगातार दोस्रो जित निकालेका छन्। शनिबार राति भएको खेलमा अस्ट्रेलियाले इङ्ल्याण्डमाथि ३६ रनको जित निकालेको हो भने आइतबार बिहानको खेलमा वेस्ट इन्डिजले युगान्डामाथि १३४ रनको शानदार जित निकालेको हो।

विश्वकपको समूह ‘बी’मा रहेको अस्ट्रेलियाले गएराति बार्बाडसमा  पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २०१ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ३९ रन बनाउनुभयो। उहाँले १६ बलमा दुई चौका र चार छक्का प्रहार गर्नुभयो। ट्रेभिस हेडले ३४ रन बनाउनुभयो। उहाँले १८ बलमा दुई चौका र तीन छक्का हान्नुभयो। 



कप्तान मिचेल मार्सले २५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३५ रन बनाउनुभयो भने ग्लेन म्याक्सवेले २८ तथा मार्कस स्टोइनिसले ३० रन जोड्नुभयो।

इङ्ल्याण्डका क्रिस जोर्डनले दुई विकेट लिनुभयो। २०२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २० ओभरमा छ विकेट गुमाउँदै १६५ रनमा समेटियो। इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले २८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४२ रन बनाउनुभयो। 

त्यस्तै फिल साल्ट ३७, मोइन अली २५, ह्यारी ब्रुक २०, लियाम लिभिङ्गस्टोन १५, विल ज्याक्सले १० रन जोड्दा जोनी बेयरस्टोले सात रन बनाउनुभयो। 

अष्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले समान दुई–दुई विकेट लिनुभयो। योसँगै अष्ट्रेलियाले दुई खेलमा चार अङ्क जोडेको छ। समूह ‘बी’मा अस्ट्रेलिया शीर्ष स्थानमा छ। यो समूहमा अस्ट्रेलियासँगै स्कटल्याण्ड, नामिबिया, इङ्ग्ल्याण्ड र ओमान छन्। 

वेस्ट इन्डिजसँग युगान्डा ३९ रनमा समेटियो 

त्यसैगरी समूह ‘सी’ अन्तर्गत आइतबार बिहान भएको खेलमा वेस्ट इन्डिजसामु युगान्डा ३९ रनमा समेटिएको छ। अकिल हुसेनको घातक बलिङमा युगान्डाका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन्। हुसेनले चार ओभर बलिङ गर्दा ११ रन मात्र खर्चिएर ५ विकेट लिनुभयो। १७४ रनको चुनौती पाएको युगान्डा मात्र १२ ओभरमा ३९ रन बनाउँदै अलआउट हुँदा वेस्ट इन्डिज १३४ रनले विजयी भएको हो।


वेस्ट इन्डिजविरुद्ध युगान्डाका लागि जुमान मियागीले १३ रन बनाउनुभयो भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्। 

समूह ‘सी’ मा रहेको वेस्ट इन्डिजको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी)लाई पाँच विकेटले हराएको थियो। युगान्डामाथिको एकपक्षीय जितसँगै वेस्ट इन्डिजले चार अङ्क जोडेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पाँच विकेटको क्षतिमा १७३ रन बनाएको थियो। जोन्सन चार्ल्सले सर्वाधिक ४४ रन बनाउनुभएको थियो भने आन्द्रे रसेलले नटआउट रहेर १७ बलमा महत्त्वपूर्ण ३० रन बनाउनुभयो। 

यो समूहमा अफगानिस्तान, वेस्ट इन्डिज, युगान्डा, पिएनजी र न्युजिल्याण्ड छन्। अफगानिस्तान र वेस्ट इन्डिज समान चार अङ्कसहित नेटरनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा छन्। युगान्डा दुई अङ्कसहित तेस्रो स्थानमा छ। पिएनजी र न्युजिल्याण्डले खाता खोल्न सकेका छैनन्।