• १२ साउन २०८१, शनिबार

मध्यरातमा अस्ट्रेलिया र इंग्ल्याण्डको खेल

विश्वकपमा रोचक भिडन्त : शनिबार साँझ दक्षिण अफ्रिका र नेदरल्यान्ड्सको प्रतिस्पर्धा

blog

काठमाडौँ, जेठ २६ गते ।  आईसीसी टी–२० विश्वकपमा शनिबार राति नेपालकै समूह ‘डी’मा रहेका दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेल्दैछन्। यो खेल शनिबार साँझ ८ः१५ बजे अमेरिकाको न्यूयोर्कमा हुनेछ। 

समूह ‘डी’मा यसअघि एक/एक खेलमा जित निकाल्दै दक्षिण अफ्रिका र नेदरल्यान्ड्सले समान दुई अंक जोडेका छन्। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो। श्रीलंका भने दुई खेलमा पराजित भइसकेको छ। 

अस्ट्रेलिया र इंग्ल्याण्डले प्रतिस्पर्धा 

शनिबार राति १०ः१५ बजे विश्वकप अन्तर्गत समूह ‘बी’को एउटा खेल हुँदैछ । उक्त खेलमा अस्ट्रेलिया र इंग्ल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । यो खेल ब्रिजटाउनमा हुनेछ । यो समूहमा अस्ट्रेलिया, इंग्ल्याण्ड, स्कटल्याण्ड, नामिबिया र ओमान छन् । 

दुई खेलमा एक जित र एक खेलमा अंक बाँडेको स्कटल्याण्ड तीन अंकसहित तालिकाको शीर्ष स्थानमा छ । अस्ट्रेलियाले विजयी सुरुवात गर्दै दुई अंक जोडेको छ । दुईमा एक खेल गुमाएको नामिबिया दुई अंकसहित तेस्रो स्थानमा छ ।  इंग्ल्याण्डले एक अंक जोडेको छ भने दुई खेल खेलेको ओमान अंकविहीन छ । 

विश्वकपमा क्यानडाको ऐतिहासिक पहिलो जित 

शुक्रबार राति भएको समूह ‘ए’को खेलमा क्यानडाले आयरल्याण्डमाथि १२ रनको ऐतिहासिक जित निकालेको छ। टस जितेर सुरुमा फिल्ड रोजेको आयरल्याण्डलाई क्यानडाले १३८ रनको लक्ष्य दिएको थियो। आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२५ रन मात्र बनाउँदै क्यानडासँग १२ रनको हार भोगेको हो ।


क्यानडाका लागि निकोलस किर्टोनले सर्वाधिक ४९ रन बनाउँदा ३५ बलको सामना गर्दै तीन चौका र दुई छक्का प्रहार गर्नुभएको थियो।

आयरल्याण्डका लागि क्रेग यङ र व्यारी म्याकार्थीले समान दुईदुई विकेट लिनुभएको थियो भने मार्क अडेर र गेराथ डेलानीले एक/एक विकेट हात पार्नुभएको थियो।

समूह ‘ए’को क्यानडा उद्घाटन खेलमा अमेरिकासँग ७ विकेटले पराजित भएको थियो। यो समूहमा अमेरिका दुई खेल जित्दै शीर्ष स्थानमा छ। समूह ‘ए’मा भारत, पाकिस्तान, क्यानडा, अमेरिका र आयरल्यान्ड छन्। दुई खेल खेलेको अमेरिका चार अंकसहित शीर्ष स्थानमा छ भने एक खेल खेलेको भारत दुई अंकसहित दोस्रो स्थानमा छ। यो समूहमा पाकिस्तान र आयरल्याण्ड अंकविहीन छन्। 

न्युजिल्याडमाथि अफगानिस्तानको शानदार जित 

शनिबार बिहान भएको खेलमा अफगानिस्तानले न्युजिल्यान्डमाथि ८४ रनको शानदार जित निकालेको छ। पहिलो खेलमा युगान्डामाथि १२५ रनको जित निकालेको अफगानिस्तानको यो लगातार दोस्रो जित हो। 


सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो। १६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.२ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमा समेटिएको हो।

समूह ‘सी’मा रहेको न्युजिल्याण्डले पराजयबाट विश्वकपको सुरुवात गरेको हो।  अफगानिस्तान भने चार अंकसहित समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ। एक खेल खेलेको वेस्ट इन्डिज दुई अंकसहित दोस्रो स्थानमा छ भने दुई खेलमा एक जित निकाल्दै युगान्डा दुई अंकसहित तेस्रो स्थानमा छ।

समूह ‘सी’मा अफगानिस्तान, न्युजिल्याण्ड, वेस्ट इन्डिज, युगान्डा र पपुवा न्युगिनी (पिएनजी) छन्। यो समूहमा दुई खेल खेलेको पिएनजी र एक खेल खेलेका न्युजल्यान्डले खाता खोल्न सकेका छैनन्। 

श्रीलंकाको लगातार दोस्रो हार : बंगलादेशको विजयी सुरुवात 

विश्वकपमा बंगलादेशले विजयी सुरुवात गरेको छ। समूह ‘डी’मा रहेको बंगलादेशले  पहिलो खेलमा श्रीलंकाले दिएको १२५ रनको लक्ष्य ६ बल बाँकी हुँदा आठ विकेट गुमाएर पूरा गरेको हो। सुरुमा ब्याटिङ गरेको श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२४ रन बनाएको थियो।


समूह ‘डी’को बंगलादेशले विश्वकपमा पहिलो जित निकालेको हो। पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भएको श्रीलंकाले लगातार दोस्रो हार खाएको छ।

यो समूहमा बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, नेपाल र नेदरल्याड्स छन्। दक्षिण अफ्रिका, नेदरल्यान्ड्स र बंगलादेशले समान दुई/दुई अंक जोडेका छन्। रनरेटका आधारमा दक्षिण अफ्रिका शीर्ष स्थानमा छ भने नेदरल्यान्ड्स दोस्रो र बंगलादेश तेस्रो स्थानमा छन्। यो समूहमा नेपाल र श्रीलंकाले खाता खोल्न सकेका छैनन्।