• १३ साउन २०८१, आइतबार

कास्कीमा राष्ट्रिय परिचयपत्र सेवा बिहान ८ बजेदेखि

blog

सन्तोष सुवेदी
कास्की, जेठ २५ गते ।
कास्की प्रशासनले राष्ट्रिय परिचयपत्र लिनका लागि बिहान ८ बजेदेखि नै सेवा दिने भएको छ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन सेवाग्राहीको भीड लाग्न थालेपछि सेवाको समय परिमार्जन भएको निर्णय प्रशासनले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि समेत राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएकाले ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरु र अशक्त सेवाग्राहीहरुको समेत चाप रहेको प्रशासनले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि योग्य लाभग्राहीहरुले हरेक दिन (शनिबार बाहेक) बिहान ८ बजेदेखि र अन्य सेवाग्राहीका लागि बिहान १० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गरिने जनाइएको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचिसकेका तर राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नगरेका सेवाग्राहीले यसपूर्व फोटो खिचाएको निस्सा र सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपिसहित कार्यालयको कोठा नम्बर २०३ मा सम्पर्क गरी राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न सकिने बताउनुभयो ।

पाण्डेले केही दिनअघि गरेको सुझाव सङ्कलनपछि राष्ट्रिय परिचयपत्रको सेवा समय परिमार्जन गर्नुभएको हो ।