• १२ साउन २०८१, शनिबार

टी–२० विश्वकप : पाकिस्तान सुपर ओभरमा अमेरिकासँग पराजित

blog

पाकिस्तानलाई हराएपछि खुसी मनाउँदै अमेरिकाका खेलाडी । तस्बिर ः बीबीसी

डालास, जेठ २४ गते । उपाधि दावेदार टेस्ट टोली पाकिस्तान टी–२० विश्वकपमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ ।

डालासस्थित ग्रान्ड पिएरे मैदानमा बिहीबार भएको रोमाञ्चक खेलमा पाकिस्तान आयोजक अमेरिकासँग सुपर ओभरमा पाँच रनले पराजित भएको हो । समूह ‘ए’ मा लगातार दोस्रो जित निकालेको अमेरिका चार अङ्कसहित शीर्षस्थानमा छ ।

एसोसिएट टोली अमेरिकाको सुपर आठ पुग्ने सम्भावना बलियो बनेको छ । अमेरिकाले पहिलो खेलमा क्यानडालाई हराएको थियो । पाकिस्तानले भने हारबाट विश्वकपको सुरुवात गरेको छ । 

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २० रनको लक्ष्य दिएको थियो । सुपर ओभरमा अमेरिकाका एरोन जोन्सले ११ रन बनाउनुभयो । जवाफमा पाकिस्तान १४ रनमा समेटियो । 

यसअघि जितका लागि पाकिस्तानले प्रस्तुत गरेको एक सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ५९ रन जोड्दै खेल सुपर ओभरमा लगेको थियो । 

अमेरिकाका लागि कप्तान मोनांक पटेलले ५० रन बनाउनुभयो । उहाँले ३८ बलमा सात चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

एरोन जोन्सले अविजित ३६, एन्ड्रियस गाउसले ३५, नितिश कुमारले १४ र स्टेभन टेलरदे १२ रन बनाउनुभयो ।  बलिङमा पाकिस्तानका मोहम्मद आमिर, नसिम शाह र ह्यारिस राउफले एक एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाउनुभयो । सदाव खानले ४०,  शाहिन शाह अफ्रिदीले २३, इफ्तिकर अहमेदले १८ र फकहर जमतले ११ रन बनाउनुभयो ।

बलिङमा अमेरिकाका नोस्थुस केन्जिङ्गेले तीन विकेट लिनुभयो । सौरभ नेत्रभाल्करले दुई तथा अली खान र जस्दीप सिंहले एक एक विकेट लिनुभयो ।