• १३ साउन २०८१, आइतबार

सतिशलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमतको निर्णय

blog

मुख्यमन्त्रीका दाबेदार सतिशकुमार सिंह । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
जनकपुर, जेठ २४ गते । 
मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा जनमत पार्टीले सतिशकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका सचिव बिपी साह जानकारी दिनुभयो ।

मधेशमा जनमतको नेतृत्वमा सरकार बनाउन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादीको सहमति रहेको उहाँले जानकारी गराउनुभयो ।

प्रदेश सभामा १०७ सदस्य सङ्ख्यामा सामान्य बहुमतका लागि ५४ जनाको समर्थन आवश्यक छ । यस गठबन्धनलाई ५५ सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरिएको सचिव साहले बताउनुभयो ।

सप्तरी क्षेत्र नं. २ (क) बाट प्रत्यक्ष निर्वाचनबाट निर्वाचित सिंहलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलहरूले बहुमतसहित बिहीबार नै प्रदेश प्रमुखलाई दाबी पेस गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

कस–कसलाई मन्त्रिपरिषद्मा पठाउने सम्बन्धमा गठबन्धन दलहरूको बैठक चलिरहेको उहाँले भन्नुभयो, ‘‘मन्त्रिपरिषदमा पठाउनेको नाम टुङ्गो लागेपछि सम्भवतः आज नै मुख्यमन्त्रीमा दाबी पेस हुन्छ । मुख्यमन्त्रीको उम्मेदवार बन्न लागेका सिंह मधेश प्रदेशसभाका अर्थ तथा योजना समितिका सभापति पनि हुनुहुन्छ ।’’

विद्यार्थी जीवनदेखि राजनीतिक गतिविधिमा सक्रिय भई लाग्नुभएको सिंह स्थानीय निर्वाचन २०७४ मा तत्कालीन राजपाबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा निर्वाचित भई सफलतापूर्वक कार्यकाल पूरा गर्नुभएको थियो ।

पछिल्लो २०७९ को स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा चुनावमा उठ्दा पराजित हुनुभएको थियो । त्यसपछि प्रदेश सभा सदस्य निर्वाचनको केही महिनाअघि जनमत पार्टीमा प्रवेश गरेर सोही पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

जिम्मेवारीपूर्वक गाउँपालिकाको नेतृत्व सम्हालेको अनुभवी सिंह शालीन, भद्र स्वभावको रूपमा परिचित एवम् लोकप्रिय हुनुहुन्छ । मधेश आन्दोलन तथा अधिकारका आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरिसक्नु भएको उहाँ आन्दोलनको क्रममा प्रहरीको कुटाइ खाएर हिरासतमा समेत बस्नु परेको थियो ।