• १३ साउन २०८१, आइतबार

सफा हिमाल अभियान : ११ टन फोहोर, चार वटा शव र एक अस्थिपञ्जर सङ्कलन

blog

काठमाडौँ, जेठ २३ गते । सफा हिमाल अभियान-२०२४ अन्तर्गत ११ टन फोहोर, चार वटा मानव शव र एक अस्थिपञ्जर सङ्कलन गरिएको छ । बुधबार नेपाली सेनाले काठमाडौँमा समापन समारोहको आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो ।

समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति प्रभुराम शर्माले प्रतिकुल मौसम तथा विषम परिस्थितिका बाबजुद यस अभियानको दौरान करिब ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका चार वटा मानव शव र एक अस्थिपञ्जर सङ्कलन गरिएको बताउनुभयो ।

उहाँले ५५ दिनसम्म सञ्चालित अभियानमा अभियानमा कति मात्रामा फोहोर सङ्कलन भयो भन्नेकुराले मात्र अभियानको महत्त्व उजागर गर्न नसक्ने बताउनुभयो । उहाँले अभियानको सञ्चालनपूर्वक र सञ्चालनपश्चात् भएका केही उपलब्धिहरूले अन्तर्राष्ट्रिय रूपमा नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिवद्धताप्रति पनि इंगित गरेको बताउनुभयो ।

‘‘प्रतिकुल मौसम तथा विषम परिस्थितिका बाबजुद यस अभियानको दौरान करिब ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका चार वटा मानव शव र एक अस्थिपञ्जर सङ्कलन गरिएको छ । जुन आफैँमा एक उपलब्धिमूलक र हामीले दिएको र हामीले लिएका लक्ष्य र लक्ष्यअनुरूप आफ्नो काम पूरा गर्न देखाउनुभएको तत्परता मिसन हो । यद्यपि मैले फ्ल्याग अफ सेरोमनिमा भनेको जस्तो फोहोर सङ्कलनको तथ्याङ्क यसको एउटा मानक मात्रै हो ।,’’ प्रधानसेनापति प्रभुराम शर्माले भन्नुभयो, ‘‘त्यसभन्दा बढी यस अभियानको प्रतिकात्मक बिम्बको रूपमा यसको अर्थ वृहत् रहेको हुन्छ । करिब ५५ दिनसम्म सञ्चालित यस अभियानमा कति मात्रामा फोहोर सङ्कलन भयो भन्नेकुराले मात्र यो अभियानको महत्त्व पक्कैपनि उजागर गर्दैन । यसले त सुरुवात मात्रै गरेको हो । यस अभियानको सञ्चालनपूर्वक र सञ्चालनपश्चात् भएका केही उपलब्धिहरूले अन्तर्राष्ट्रिय रूपमा हामी नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिविद्धताप्रति पनि इङ्गित गरेको छ । जुन हामी सम्पूर्ण नेपालीहरूको लागि गर्वको विषय हो ।’’

प्रधानसेनापति शर्माले झण्डै एक लाद फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको बताउनुभयो । उहाँले प्राकृतिक संरक्षण कार्यमा सेना खटाउने कुरा बिरलै देशमा मात्रै हुने गरेको बताउनुभयो । सफा हिमाल अभियानले आवश्यक पर्दा उच्च हिमाली क्षेत्रमा हुनसक्ने विपद् तथा अन्य अवस्थामा परिचालन हुनुपरे नेपाली सेनालाई तालिम पनि दिएको जानकारी दिनुभयो ।

सफाइ अभियान सञ्चलन गर्नु जटिल, चुनौतीपूर्ण र साहसिक कार्य भएको बताउनुभयो । प्रधानसेनापति शर्माले धेरैजसो हिमालहरू अहिले पग्लिने चरणमा रहेको बताउनुभयो । नेपाली सेनाले चैत्र २९ गतेदेखि अभियानको सुरुवात गरेको थियो ।