• १३ साउन २०८१, आइतबार

विद्युतीय सामग्रीको प्रयोग बढाउन उपसभामुखको आह्वान

blog

उपसभामुख इन्दिरा राना विश्व वातावरण दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, जेठ २३ गते । उपसभामुख इन्दिरा रानाले विद्युतीय सामग्रीको प्रयोग बढाउन आह्वान गर्नुभएको छ । बुधबार विश्व वातावरण दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले जलवायु परिवर्तनको असर दिन प्रतिदिन बढिरहेको भन्दै असर न्यूनीकरणका लागि सबैले पहल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक दिनचर्यामा जलवायु परिवर्तन कम गर्ने कार्यमा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले अहिले हिमालमा हिउँ पर्न छोडेको, हिमालहरू पहाड बन्दै गएको, उर्वराशक्तिमा ह्रास आउनुले जलवायु परिवर्तनको असर कस्तो छ ? भन्ने अनुमान गर्न सकिने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असर कम गर्न एक्सन प्लान बनाएर काम गर्न जरुरी रहेको जिकिर गर्नुभयो ।

‘‘आज सेतो हिमाल कालो भइरहेको छ । आज लालीगुराँस मुर्झाइरहेको छ । आज ती कोयलीका सुरिला स्वरहरू सुनिन छोडिसके । त्यस्तै गरेर पहाड, पर्वतमा हराभरा बोटबिरुवा र फुलेका फूलहरू अहिले फुल्न छोडिसके । किनभने अहिले जलवायु परिवर्तनका कारण तापले गर्दा हामीलाई ती फूलहरू मुर्झाएका छन् ।,’’ उपसभामुख रानाले भन्नुभयो, ‘‘हाम्रो सिस्नु र कोदोका रोटीहरू खान पाइँदैन । किनभने उमार्नै सकेका छैनौँ । त्यसैले अहिले एक्सन लिएर नगरे कहिले गर्ने । निलो तालहरू अहिले हामीले देख्न सक्दैनौँ । त्यसैले हामीले अहिले एक्सन लिएर काम गर्नुपर्छ । हामीले हरेक दिनचर्यामा क्लाइमेट चेक्न्जको एक्सन गर्नुपर्छ । हामीले हाम्रो भान्सामा विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्छ । हामीले जलवायु परिवर्तनलाई न्यूनीकरण गरेर लैजानुपर्छ ।’’

उपसभामुख रानाले बाँसका सामग्री, माटोको भाँडाहरूको प्रयोग बढाएर प्लास्टिकहरूको प्रयोग कम गर्न आह्वान गर्नुभयो ।