सत्य, तथ्य र सूचनामूलक सन्देश प्रवाह गरी आमनागरिकलाई सुसूचित गर्ने मुख्य काम सञ्चार माध्यमको हो । स्वतन्त्र, निर्भिक र वस्तुनिष्ठ भई नागरिकको हक अधिकारको पक्षपोषण गर्ने गरी समग्र क्षेत्रको सन्देश प्रवाहका लागि सही सूचना सङ्कलन गर्ने कर्तव्य पत्रकारको हो । पत्रकारिताले सङ्कलन गरेको सत्य, तथ्य सूचना सम्पादन गरी समाचार/लेख प्रस्तुत गर्नाले सञ्चार क्षेत्रको निष्ठा र प्रतिष्ठा बढोत्तरी भई नागरिक सुसूचित हुन्छन् । शासकीय प्रणालीको शुद्धताका लागि कानुनी शासन, पारदर्शिता, पदीय जिम्मेवारी र जवाफदेहिता, सामाजिक न्याय जस्ता विषयमा सञ्चार माध्यमले कलात्मक प्रस्तुति दिन आवश्यक छ ।
राज्य बलियो बनाउने मुख्य औजार मात्र होइन, नागरिक सबल बनाउने अस्त्र पनि हो, सञ्चार माध्यम । शासन प्रणलीको अवस्था, जनजीविकाको सवाल र व्यावसायिक प्रवर्धन एवं नागरिकका आवाज सञ्चार माध्यमले अन्तरघुलन गरी सत्य सूचना र समाचार प्रस्तुत गर्नु पर्छ । राष्ट्रिय परिस्थितिलाई अन्तर्राष्ट्रिय अवसरमा जोड्न पनि सञ्चार माध्यम सक्षम र सबल हुनु पर्छ । समाजमा हुने बेथितिको नियन्त्रण, सन्तुलित र समन्यायका लागि आवाज बुलन्द गर्न तथा सकारात्मक सोच ल्याउन सञ्चार माध्यमले उल्लेख्य भूमिका निर्वाह गर्नु पर्छ ।
असल शासकीय प्रणालीमा जनअनुमोदित राजनीतिक गतिविधिमा निगरानी गरी नागरिकका हक अधिकारको पक्षपोषण गर्ने दायित्व सञ्चार जगत्को हो । राजनीतिक क्रियाकलाप नागरिकमैत्री बनाउन निगरानी र दबाब सिर्जना गरी लोकप्रियता ल्याउन सञ्चार माध्यमले दायित्व बहन गर्नै पर्ने हुन्छ ।
नागरिकले सबै शासकीय क्रियाकलाप थाहा पाउन सक्दैनन् । राम्रो कामको उजागर भए पनि नराम्रा काम गोप्य राखी कसैले थाहा नपाऊन् भन्ने पनि हुन्छ । यस्तो अवस्थामा सञ्चार माध्यमले समाचार/लेखको माध्यमबाट नागरिकलाई सुसूचित गरी शासकीय व्रिmयाकलाप सच्याउन दबाब दिनु पर्छ । कानुनी शासन उल्लङ्घन भए दण्डित गर्न र नसुध्रिए अर्को विकल्प खोज्न सघाउनु पर्छ । यसरी शासन प्रणालीलाई सशक्त बनाउन सञ्चार माध्यम बलियो आधार बन्नु पर्छ ।
सुशासनका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण छ । सञ्चार माध्यमले नागरिकका हक अधिकारको पक्षपोषण गरी नागरिकलाई सबल बनाउन मद्दत गर्छ । नागरिकको कर्तव्य, हक अधिकार र दायित्वबारे प्रभावकारी भूमिका निर्वाह गरी नागरिक र शासकीय प्रणालीबिच असल सम्बन्ध स्थापित गर्न सञ्चार क्षेत्र महत्वपूर्ण माध्यम बन्नु पर्छ । मानिसका दैनिक क्रियाकलापसँगै जनजीविका र व्यावसायिक वातावरणका लागि सञ्चार माध्यम सहयोगीको रूपमा उभिनु पर्छ ।
सञ्चार माध्यमले सुशासन कायम गर्ने मुख्य साधन भएको तर विकृति र विसङ्गतिको पूर्ण चिरफार गर्न सक्नु पर्छ । सञ्चारको सहज पहुचसँगै असल बाटो अवलम्बन गर्न अवरोधहरू हुनु हुँदैन तर नागरिक आफैँ पत्रकारको भूमिका निर्वाह गर्न सक्ने अवसरको दुरुपयोग बढ्न थालेको छ । सामाजिक सञ्जालको सुविधाको दुरुपयोगले सञ्चार क्षेत्रको नियमनमा चुनौती बढ्दो छ । सञ्चार माध्यम र पत्रकारिताका लागि बनाइएका आचारसंहिताको उल्लङ्घन भएको गुनासो बढ्दो छ । सञ्चार माध्यमको प्रयोग गरी धाकधम्की दिने जस्ता घटनासँगै तथ्यपूर्ण समाचार पाउने नागरिकका अधिकार कुण्ठित हुने हुन् कि भन्ने चिन्ता बढ्दो छ । प्रविधिको सहज प्रयोगपछि सञ्चार क्षेत्रमा सुधार गर्न निकै समस्या देखिएका छन् । यी यावत् समस्याको समाधान गरी नागरिकमैत्री शासनका लागि सञ्चार जगत् अग्रपङ्क्तिमा हुनु पर्छ ।
सुशासनको पहिलो सर्त कानुनी शासन हो । नेपालका सञ्चार माध्यमले कानुनी शासनका लागि नागरिकको हक अधिकारसँग जोडेर सूचना र समाचार प्रस्तुत गर्न प्रयासरत देखिन्छन् । कतिपय सञ्चारकर्मी राजनीतिक प्रभावमा पर्ने र सञ्चार माध्यम पनि तटस्थता र सत्यतामा अडिन नसक्दा कानुनी शासनका लागि जनदबाब दिन सकिएको पाइँदैन । राजनीति विकृत बन्दै गएको आरोप एकातिर छ भने अर्कातिर कानुनभन्दा माथि हुन खोज्ने प्रवृत्ति बढ्दो छ । राज्यका अङ्ग पनि पेसागत आचरणभन्दा राजनीतिक प्रभावमा रुमल्लिएको आरोप लाग्ने गरेको छ ।
सञ्चार माध्यमले सुशासन कायम गर्न शासकीय नीति, नियत र नियतिमा सुधार गर्न प्रत्येक तहमा खोजमूलक र तथ्यपूर्ण समाचार प्रस्तुत गरी जनदबाब बढाउन अग्र मोर्चाको जिम्मेवारी बोध गर्नु पर्छ । अनि मात्र नागरिकले सत्य, तथ्यका आधारमा विकृति न्यून गर्न र हक अधिकार सुनिश्चित गर्न सक्छन् । कानुनको पूर्ण पालना गर्न सञ्चार जगत् ऐनाको रूपमा देखिनु पर्छ । सञ्चार माध्यमले सत्य, तथ्य समाचारका लागि आफ्नो जिम्मेवारी बोध गरी अगाडि बढ्न सके कानुनी शासन बलियो हुन्छ ।
सुशासनका लागि सञ्चार माध्यमले निर्वाह गर्नुपर्ने दोस्रो भूमिका पारदर्शिता हो । संवैधानिक हक सूचनाको पक्षपोषण गरी शासकीय क्रियाकलापको यथार्थ स्थिति नागरिकले चाल पाउनु पर्छ । नागरिकको सूचना पाउने हकको पूर्ण पालना नभएको अवस्था र सञ्चार माध्यमले यथार्थताको प्रस्तुति गर्न नसकेको एवं राजनीतिक प्रभाव र दबाबमा अल्झिएको आरोप छन् । विकृति र विसङ्गतिको पर्दाफास गर्न सञ्चार माध्यमले अग्रमोर्चामा रहनुपर्नेमा त्यस्तो हुन सकेको छैन । शासनका क्रियाकलापलाई तटस्थ भई सार्वजनिक गर्न सञ्चार माध्यमले सक्षमता देखाउन चुनौती छ ।
सबै नागरिक साक्षर छैनन् । सबैतिर सञ्चार माध्यमको पहुँच पूर्ण छैन । शासकीय प्रणालीको पारदर्शिता नभई सुशासनको अनुभूति हुन सक्दैन । सञ्चार माध्यमले जनकेन्द्रित भई शासकीय प्रणाली र क्रियाकलापको यथार्थ स्थिति प्रस्तुत गर्नु पर्छ । जनताले कमीकमजोरी थाहा पाई शासन प्रणालीमा सुधार गर्न दबाब दिन्छन् र भ्रष्टाचार तथा अनियमितता जस्ता विषयमा जागरुकता बढ्न गई सुशासनको अनुभूति हुन थाल्छ । संविधानले नागरिकलाई दिएका मौलिक हकको पक्षपोषण गरी नागरिकको हक अधिकारमा व्यापक प्रचारप्रसार गर्न सञ्चार माध्यम सक्रिय हुनु पर्छ । नागरिक सबल र सक्षम बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका बिर्सनु हँुदैन ।
सुशासनका लागि सामाजिक न्याय तेस्रो महत्वपूर्ण पक्ष हो । समाजमा विविधताको व्यवस्थापन गर्न शासन प्रणालीलाई झकझक्याउनु पर्छ । भूगोल, जातजाति, वर्ग, समुदायबिच सन्तुलित व्यवहार र विकासको अवसरमा कमीकमजोरी हुँदा गुनासो बढ्छ । सबै वर्ग समुदायले आफ्नो संवैधानिक हक अधिकारको उपयोग गर्न सक्दैनन् । गाउँमा अवसरको कमी हुँदा बसाइँसराइ बढ्दो छ । कतिपय वर्ग र जातिको शासकीय प्रणालीमा पहुँच कम भएको भन्ने छ । राज्यको स्रोत र साधनको न्यायिक बाँडफाँट हुन नसकेको भनेर विरोधका आवाज पनि नसुनिएका होइनन् । छुवाछुत र अपहेलनाका घटना हट्न सकेको छैन । राज्यले दिएको संरक्षण र समावेशी अवसरमा पनि हुनेखाने परिवारको हालीमुहाली छ र कमजोर पक्ष सुविधाबाट वञ्चित रहेको गुनासो सुनिन्छ ।
सामाजिक न्यायका लागि सञ्चार माध्यमले तथ्यपूर्ण समाचार प्रस्तुत गरी पिछडिएका वर्ग समुदायको हितमा काम गर्नु पर्छ । भूगोलको विविधता व्यवस्थापन गर्न सन्तुलित विकास, जाति, वर्गका लागि अवसरमा बढोत्तरी गरी शासकीय प्रणालीमा पहुँचको पक्षपोषण सञ्चार माध्यमले गर्नु पर्छ । पिछडिएका वर्ग, समुदायको हितका लागि विशेष व्यवस्थाको अवलम्बन गरी शासकीय प्रणालीमा जोड्न दबाब सिर्जना गर्न ध्यान दिनु पर्छ । वर्ग समुदायका लागि भएका अवसर हुनेखाने वर्गले उपयोग गरेको अवस्थाको नीतिगत सुधारमा सञ्चार क्षेत्रले सचेत गराउनु पर्छ । छुवाछुत जस्ता जघन्य अपराधको न्यायिक निरूपण गर्न दबाब सिर्जना गर्नु पर्छ । संवैधानिक हक अधिकारको उपयोग गरी सामाजिक न्यायका लागि सक्षम बनाउन सञ्चार माध्यमले नागरिकमा जागरण ल्याउन जोड दिनु पर्छ ।
राज्यका पदाधिकारीलाई उत्तरदायी र जिम्मेवार बनाउने सञ्चार माध्यमको चौथो महìवपूर्ण कार्य हो । कतिपय पदाधिकारी आलोच्य भएको तर राजनीतिले ढाकछोप गर्ने प्रवृत्तिले सुशासनमा चुनौती थपिएको छ । नीति र नियमको पालनामा कटिबद्ध भएको नपाइनु, पदीय जिम्मेवारी बोध नगर्दा अनियमितता बढ्नु र कतिपय पदाधिकारी कानुनभन्दा माथि भएको अवस्था देखिनु सुशासनमा अवरोध हो ।
सञ्चार माध्यमले राज्यका पदाधिकारीको क्रियाकलाप निगरानी गरी पदीय कर्तव्यबाट विचलित हुन नदिन सत्य, तथ्य समाचार प्रस्तुत गर्नु पर्छ । जनताले उक्त समाचारका आधारमा विकृति, विसङ्गति नियन्त्रण गर्न दबाब दिँदा पदाधिकारी सजक भई आफ्नो कर्तव्य निर्वाह गर्न सक्रिय हुन्छन् । राजनीतिक ढाकछोप र विकृति, विसङ्गतिको समयमै नियन्त्रण गर्न नागरिकले पनि दबाब सिर्जना गर्नु पर्छ । त्यसैले सञ्चार क्षेत्रको प्रभावकारिताले शासन प्रणाली सुध्रन्छ । शासन प्रणाली सुध्रिए सुशासन बढ्दै जान्छ ।