• १२ साउन २०८१, शनिबार

वातावरण संरक्षणका प्रयास

blog

प्रकृतिले विभिन्न जाति–प्रजातिबिच सम्बन्ध स्थापित गरेको छ, जसलाई पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) भनिन्छ । पारिस्थितिकीय प्रणालीले मात्र मानव जीवन र यसको जीविकोपार्जनलाई मद्दत गर्छ । जैविक विविधता विनाश हुनबाट जोगाउँछ । जैविक विविधता हाम्रो जीवन हो । वन पृथ्वीको फोक्सो हो भने सीमसार मिर्गाैला हो । यिनीहरूको संरक्षण गर्न सकिएन भने मानवलगायत पृथ्वीका प्राणीको अस्तित्व रहन सक्दैन । 

त्यसैले प्रकृतिको सम्मान गर्नु अति आवश्यक छ तर जताततै प्लास्टिकका खोल तथा बोतल, सिसाका टुक्रा, मोटरका टायर, बोरा आदि देखिन्छ । धुवाँ र धुलोयुक्त हावा पाइन्छ, ध्वनि प्रदूषित छ । 

यस्तोमा मानिस तथा पृथ्वीका समस्त प्राणी र वनस्पतिको कसरी रक्षा हुन्छ ? फेरि मानवले विकासका नाममा विनाश मात्र गरिरहेको छ । जस्तो कि विश्वमा एक हजार तीन सयभन्दा धेरै परमाणु बम र विनाशकारी हतियार भण्डारण गरिएको छ । रासायनिक कलकारखाना सञ्चालित छन् । खनिज तेलको अत्यधिक प्रयोगले वायुमण्डलमा कार्बन उत्सर्जन भइरहेको छ । यसले पृथ्वीको तापमान बढ्ने क्रमलाई तीव्रता दिएको छ । तापमान बढेसँगै यसबाट उत्पन्न जलवायु परिवर्तनको प्रभावबाट पर्न जाने असर देखिएको छ । पछिल्लो समय वनजङ्गल तथा सीमसार क्षेत्र मानव क्रियाकलापबाट मासिने क्रम तीव्र छ । धातुजन्य फोहोर, हानिकारक रसायन तथा विषादी आदिका कारणले माटो प्रदूषित हुँदै जाँदा त्यसले खाद्य प्रदूषण बढाएको छ । विभिन्न जैविक तथा औद्योगिक–रासायनिक, धातुजन्य तथा कृषिजन्य प्रदूषणका कारण समुद्रमा बस्ने जलचर तथा उभयचर सङ्कटमा परेका छन् । अव्यवस्थित बसोबास, सहरी क्षेत्रमा जनसङ्ख्या र जनघनत्वमा भइरहेको वृद्धि, बढ्दो सवारी चाप तथा मानवीय क्रियाकलापका कारण सबै किसिमका प्रदूषण बढिरहेका छन् । खाद्य तथा ध्वनि प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउनुका साथै विभिन्न खालका रोगव्याधिको सामना गर्नु परेको छ । आज विश्वमा वातावरणीय विनाश तथा क्षयीकरण जनस्वास्थ्यका लागि सर्वाधिक चिन्ताको विषय बनेको छ । युनिसेफको एक तथ्याङ्क अनुसार विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित तथा व्यवस्थित पिउने पानीबाट वञ्चित छन् ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय रणनीति अनुसार सामाजिक तथा पर्यावरणीय उद्देश्य तथा आवश्यकता पूर्ति गर्न सक्ने वातावरणको क्षमतामा ह्रास आउनु नै वातावरणीय क्षयीकरण हो । यो पर्यावरणको भौतिक, जैविक तथा रासायनिक गुणवत्ता तथा उपयोगितामा आउने ह्रास हो । वनजङ्गल, हावापानी तथा माटो जस्ता पर्यावरणीय तत्व ह्रासोन्मुख हुँदा वातावरण विनाश हुन जान्छ, जसको असर प्रतक्ष्य रूपमा प्राणी जगत्मा पर्न जान्छ । 

विश्व समुदायको भौतिक विकासको गति र इच्छा तत्काल रोकिनेवाला छैन । आर्थिक स्रोतसाधनको असमान वितरण, धनी–गरिबबिचको गहिरिँदो खाडल, तेस्रो विश्वका मुलुकको आर्थिक तथा भौतिक विकासको तँछाडमछाड, धनी तथा शक्तिशाली मुलुकबिचमा विश्वका प्राकृतिक स्रोत र सम्पदामाथि कब्जा जमाउने होडबाजीका कारण आगामी दिनमा प्रकृतिमाथिको दोहन घट्ने सङ्केत कतै देखिँदैन । अहिलेको विश्व जगत्ले जलवायु परिवर्तनसँगै जैविक विविधता ह्रास र वातावरण प्रदूषणको जटिलतालाई एकैसाथ सामना गरिरहेको छ । यसले अर्थतन्त्र, मानवीय प्रगति तथा जनस्वास्थ्यलाई मात्र होइन, सम्पूर्ण मानवजातिको अस्तित्वमाथि नै प्रश्न चिह्न खडा गरेको छ । एक तथ्याङ्क अनुसार विश्वका प्रमुख औद्योगिक सहरमा बस्ने एक अर्बभन्दा धेरै मानिस चरम वायु प्रदूषणको चपेटामा छन् । पृथ्वीमा प्रत्येक वर्ष चालिस करोड टन प्लास्टिक जम्मा हुन्छ । तीमध्ये आधा जति पुनः प्रयोग गर्न सकिँदैन । 

जलवायु परिवर्तनका असरले मुख्य गरी वन तथा जैविक विविधता, जलस्रोत र ऊर्जा, कृषि तथा खाद्य सुरक्षा, मानव स्वास्थ्य र भौतिक पूर्वाधार जस्ता क्षेत्रमा प्रभाव पारेको देखिन्छ । ध्रुवीय क्षेत्रका हिँउ पग्लँदा समुद्रको सतह बढी रहेको छ । टापु तथा तटीय क्षेत्रमा बसोबास गर्ने मानिस, जलाशयमा बस्ने प्राणी पनि यसको प्रभावमा परेको छ । प्रजातिहरू लोपोन्मुख अवस्थामा छन् । पिउने पानीको गुणस्तर कमसल छ भने अभाव पनि बढ्दो छ । कृषिको उत्पादकत्व ह्रासोन्मुख छ, जसले खाद्य सङ्कट निम्त्याइरहेको छ । यसले विश्वका गरिब राष्ट्र र त्यहाँ बसोबास गर्ने विपन्न नागरिक तथा महिला, बालबालिका र अशक्त बढी प्रभावित छन् । 

यिनै समस्यालाई सम्बोधन गर्न सन् १९७२ को जुन ५ देखि १६ सम्म स्विडेनको स्टकहोममा वातावरणसम्बन्धी विश्वको पहिलो ठुलो सम्मेलन संयुक्त राष्ट्रसङ्घको अगुवाइमा भएको थियो । यसको उद्देश्य पृथ्वीको बिग्रँदो वातावरणलाई सुरक्षित राख्न आइपरेका चुनौतीलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने नै थियो । यसै सन्दर्भमा हरेक वर्ष जुन ५ लाई वातावरण दिवसका रूपमा मनाइन्छ । यस वर्षको नारा ‘जमिनको पुनस्र्थापना गरौँ र सुक्खा तथा खडेरीसँग जुध्ने क्षमता बढाऔँ’ भन्ने रहेको छ । स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न यसलाई मानव अधिकारसँग पनि जोड्न आवश्यक छ । विश्वका हरेक राष्ट्रका सरकार, राजनीतिक दल, नागरिक समाज तथा सङ्घ संस्थाले जलवायु परिवर्तन र वातावरण संरक्षणको विषयलाई आफ्नो प्रतिबद्धता पत्रमा जल्दोबल्दो मुद्दाको रूपमा लिन जरुरी देखिन्छ ।

हाम्रो देश नेपाल प्राकृतिक स्रोत (जल, जमिन र जङ्गल), जैविक विविधता, मानव तथा सांस्कृतिक विविधतामा धनी छ । उपलब्ध स्रोत र साधनको सही सदुपयोग गर्न सके वातावरणीय समस्यालाई न्यूनीकरण गर्न सकिन्छ । फेरि जैविक विविधता हाम्रो जीवन हो । यसको संरक्षण गर्नु पर्छ । यसले कार्बन उत्सर्जनमा कमी ल्याउँछ । भौतिक संरचना पर्यावरणलाई हानि नहुने गरी निर्माण गर्नु पर्छ । यसका लागि माटोलाई रोक्न भूसंरक्षणका उपाय (बाँस, निगालो, अम्रिसो, उत्तिस, बाबियो तथा उन्नत घाँस रोप्ने) अपनाउनु पर्छ । खाली जग्गा वा स्थानमा वृक्षारोपण गरी हराभरा बनाउनु पर्छ । 

पानीका स्रोत संरक्षण गर्न मुहान वरपरका रुख काट्नु हुँदैन । पहिरो नियन्त्रण गर्न विविध उपाय (ब्रेस्टवाल, रिटेनिङवाल, ढलनिकासका काम) अपनाउनु पर्छ । प्लास्टिकजन्य फोहोरलाई पुनःचक्रीय विधि अपनाई सदुपयोग गर्नु पर्छ । कुहिने वस्तुबाट प्राङ्गारिक मल बनाउनु पर्छ । यस विषयमा सरकार र समुदायको मात्र आशा गरेर हुँदैन, प्रत्येक घरधुरी र व्यक्ति स्वयम् पनि सचेत बनी आफ्नो दैनिक व्यवहारमा परिवर्तन ल्याउनु जरुरी छ । घरको वरिपरि बगैँचा बनाई पोखरी निर्माण गर्ने, प्रयोग भएर खेर जाने पानीलाई जम्मा गरी तरकारी खेती गर्ने, विभिन्न जातका फलपूmलका बोट लगाउने, बगैँचाको वरपर केरा लगाएमा वनबाट आएको डढेलोबाट घर बचाउन सकिन्छ । खडेरीबाट बच्न आकाशे पानी छानाबाट सङ्कलन गर्न सकिन्छ । 

सौर्य ऊर्जा, गोबर ग्यासको प्रयोग बढाएर दाउराको प्रयोग घटाउन सकिन्छ । यसले महिलाको स्वास्थ्यमा पनि सुधार हुन्छ । सुक्खा मौसममा हुने खेती (अदुवा, कोदो, जौ, फापर आदि) लगाई खाद्यमा आत्मनिर्भर हुने र खाने तरिकामा पनि परिवर्तन ल्याउनु पर्छ । यसले खाद्य असुरक्षाबाट जोगाउँछ । वस्तुभाउ पालन गरी जैविक मलको प्रयोग गरे रासायनिक मल तथा विषादीबाट उत्पन्न हुने स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । शुद्ध खानपान, सरसफाइ र दैनिक व्यायाम गर्न सके नयाँ रोगबाट पनि बच्न सकिन्छ । 

जलवायु परिर्वतनका केही सकारात्मक पक्षलाई प्रयोगमा ल्याउन सके उत्पादनमा वृद्धि हुन पनि सक्छ । जहाँ छौँ, त्यहीँबाट वातावरण संरक्षणका काम सुरु गरौँ । यसैमा हाम्रो व्यक्तिगत जीवन सफल हुने छ र यस धर्तीमा रहेका सबै प्राणीको पनि भलो हुने छ । 

  

Author

मथुरा खनाल