• १२ साउन २०८१, शनिबार

टी-२० विश्वकप : अमेरिकाको विजयी सुरुवात

blog

अमेरिका (डालास), जेठ २० गते । आयोजक अमेरिकाले आइसिसी टी-२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

डालासस्थित गान्ड पिएरे रङ्गशालामा आइबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई सात विकटले हरायो । 

जितका लागि एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा तीन विकेटको क्षतिमा एक सय ९७ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।  जितसँगै समूह ‘ए’ मा रहेको अमेरिकाले दुई अङ्क बनाएको छ ।

अमेरिकाको जितमा आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन बनाउनुभयो । उहाँले ४० बलमा चार चौका र १० छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै एन्ड्रिस गौसले ६५ र कप्तान मोनांक पटेलले १६ रन बनाउनुभयो । स्टिभ टेलर शून्य रनमा एलबी डब्लू धरापमा पर्नुभयो । बलिङमा क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९४ रन बनाएको थियो । क्यानडाका ओपनर नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाउनुभयो । उहाँले ४४ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै निकोलस किर्टोनले ५१,  श्रेयस मोभ्भाले अविजित ३२, आरोन जोनसनले २३ र र दिलप्रीत बजुवाले ११ रन बनाउनुभयो । 

बलिङमा अमेरिकाका कोरी एण्डरसन, अली खान र हरम्रीत सिंहले एक एक विकेट लिनुभयो । अमेरिकाले समूहको दोस्रो खेल जुन ६ तारिख पाकिस्तानसँग खेल्नेछ । समूह ‘ए’ मा अमेरिका, पाकिस्तान, क्यानडा, भारत र आयरल्यान्ड छन् ।