• १२ साउन २०८१, शनिबार

आधुनिकीकरण गर्न किसानलाई हाते ट्याक्टर वितरण

blog

हाते ट्याक्टर वितरण गरिँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ १९ गते ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्न किसानलाई कृषि उपकरण वितरण गरेको छ । पालिकाको ३ नम्बर वडा कार्यालयले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । अनुदानमा हाते ट्याक्टर पाएपछि किसान हर्षित भएका छन् । 

आधुनिक कृषि उपकरणको प्रयोग गरेर उत्पादन बढाउन वडा कार्यालयले ३८ जना किसानालई हाते ट्याक्टर (मिनिटेलर होलो) वितरण गरेको वडाध्यक्ष खिमबहादुर शाहीले जानकारी दिनुभयो । वडा कार्यालयको कृषि प्रवर्द्धन वार्षिक कार्यक्रम अनुसार हाते ट्याक्टर माग गरेका कृषक र कृषि समूहलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराएको उहाँको भनाइ छ ।

४० हजार रुपियाँ लागतका हाते ट्याक्टरमा कृषक र गाउँपालिकाले २०/२० हजारको दरले साझेदारी गरेका छन् । कृषि उपकरणको प्रयोगले कृषि उत्पादनमा वृद्धि हुने आशा गरिएको वडाध्यक्ष शाहीले बताउनुभयो ।

यस वर्ष कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत आठ लाख ५० हजार बजेटबाट ३८ जनालाई हाते ट्याक्टर र २५ जनालाई प्लाष्टिक टनेलमा ५० प्रतिशतको दरले अनुदान दिएको वडा कार्यालयले जनाएको छ ।

गाउँघरमा गोरु पाल्ने प्रचलन हराएर जान थालेको र खेतवारी जोत्न समस्या भएको अवस्थामा वडा कार्यालयले अनुदानमा हाते ट्याक्टर दिएपछि राहत भएको रघुगङ्गा गाउँपालिका– ३ मौवाफाँटका कृषक सुरतबहादुर चन्दले बताउनुभयो ।