• १३ साउन २०८१, आइतबार

तात्यो नेपालगन्ज, वर्षकै सबैभन्दा बढी ४४.२ डिग्री मापन

blog

गजेन्द्र गुरुङ
खजुरा, जेठ १८ गते ।
 अत्यधिक गर्मी हुने ठाउँ नेपालगन्जको अधिकतम तापक्रम ह्वात्तै बढेको छ । बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यो विगत केही वर्ष यताकै उच्च तापक्रम हो ।

जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझा एअरपोर्टका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ४४ दशमलव २ सेल्सियस मापन भएको हो । उहाँका अनुसार बिहीबार साँझ ५ः४५ बजे लिइएको रिडिङमा उक्त तापक्रम मापन भएको हो । दिउँसो २ः४५ बजे लिइएको रिडिङमा नेपालगन्जको अधिकतम तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो । 

नायब मौसम विज्ञान सहायक रानाका अनुसार बुधबार नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस र मङ्गलबारको अधिकतम तापक्रम ४१ दशमलव ७ डिग्री सेल्सियस मापन भएको थियो । दैनिकरुपमा नेपालगन्जको अधिकतम तापक्रम बढ्दो क्रममा रहेको छ । यस अघि २०१९ मे २० तारिखका दिन नेपालगन्जको अधिकतम तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो भने २०५२ सालमा ४५ डिग्री मापन भएको थियो ।

अत्यधिक गर्मी र दिउँसोमा चल्ने तातो हावाका कारण नेपालगन्ज र आसपासका स्थानीय बासिन्दाको दैनिक जीवन कष्टकर बन्दै गएको छ । गर्मीका कारण दैनिक मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई बढी प्रभाव पारेको छ भने सर्वसाधारणहरू बिरामी हुने क्रम पनि बढ्दै गएको छ ।

अत्यधिक गर्मीका कारण नेपालगन्जलगायत बाँकेका अन्य स्थानीय तहले विद्यालयहरू बन्द गरेका छन् । गर्मी तथा तातो हावाको लहरबाट बच्नका लागि चिकित्सकहरूले जरुरी काम बाहेक अन्य काममा घरबाट बाहिर ननिस्कने, निस्किनै परेमा शरीर पूरै छोपिने कपडा लगाउने तथा पानी तथा तरलजन्य पदार्थको अत्यधिक सेवन गर्नका लागि सुझाव दिएका छन् ।