• १३ साउन २०८१, आइतबार

जस्ताले लागेर एक सय सात वर्षीय वृद्धको मृत्यु

blog

वीरगञ्ज (पर्सा),  जेठ १८ गते ।  हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्यवासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो । घरमा बसिरहनुभएका उहाँ धारिलो जस्ताले लाग्दा गम्भीर घाइते हुनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताउनुभयो ।  

हुरीका कारणले पर्साको बहुदरमाई गाउँपालिका–७ बहुवनमा रहेको एनसेलको टावर ढलेर एकजना घाइते भएका छन् । घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो छन् । उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भएर अहिले डिस्चार्ज भइसकेका छन् । सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेका छन् । हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ । जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण सङ्कलन जारी रहेको प्रहरीले जनाएको छ ।  रासस