• १२ साउन २०८१, शनिबार

नेपाली डायोस्परालाई विकासमा सहकार्य गर्न उपप्रमुख डंगोलको अनुरोध

blog

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल लण्डनस्थित नेपाली राजदूतावासले आयोजना गरेको गणतन्त्र दिवस तथा उपप्रमुख डंगोलसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर : करुण अर्याल

करुण अर्याल
लण्डन, जेठ १६ गते । 
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाले नेपाली डायोस्परासँग विविध क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुहुँदै विकासका क्षेत्रमा सबैले हातेमालो गर्नुपर्ने औँल्याउनुभयो । 

लण्डनस्थित नेपाली राजदूतावासले मङ्गलबार आयोजना गरेको गणतन्त्र दिवस तथा उपप्रमुख डङ्गोलसँगको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले काठमाडौँ महानगरपालिकाले स्वास्थ्य, शिक्षा, पर्यटन तथा संस्कृति प्रवर्द्धनका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुहुँदै नेपाली डायोस्परालाई यस क्षेत्रको विकासमा सहकार्य गर्न अनुरोध गर्नुभयो ।

उहाँले नेपाली उत्पादनलाई विदेशमा प्रवर्द्धन गरी आर्थिक रूपमा पनि जोडिनुपर्नेमा जोड दिनुभयो । काठमाडौँ महानगरपालिकाले उत्पादनसँग जोडिने सिपमूलक कामहरू गर्दै आएको जानकारी दिनुहुँदै नेपाली उत्पादनलाई विदेशमा पुर्‍याउने विषयमा छलफल गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।

संयुक्त अधिराज्य (बेलायत) का लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गणतन्त्र दिवसको शुभकामना दिनुहुँदै पर्यटनको दृष्टिले काठमाडौँ उत्कृष्ट गन्तव्य भएको बताउँदै विदेशी पर्यटकलाई आकर्षित गर्ने काम महानगरपालिकाले गरिरहेको बताउनुभयो । उहाँले सम्पदा संरक्षणमा महानगरपालिकाले उल्लेखनीय काम गरेको भन्दै प्रशंसा पनि गर्नुभयो । राजदूतावासका उपनियोग प्रमुख रोशन खनालले सञ्चालन गरेको कार्यक्रममा बेलायतमा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिका साथै नेपाली डायोस्पराको उल्लेखनीय उपस्थिति थियो । 

ब्रिटिस काउन्सिलको निमन्त्रणामा बेलायतको म्यानचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ मा सहभागी हुन आउनुभएका उपप्रमुख डंगोल नेतृत्वको टोली स्कटल्याण्डमा नेपाल स्कटल्याण्ड एसोसिएसनले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुनुभएको थियो ।

स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका महिलाहरूका बिच अन्तरक्रिया र अनुभव आदानप्रदान हुने फेस्टिभल हरेक वर्ष आयोजना हुने गरेको छ । यसअघिका कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित चर्चित महिला वक्ताका रूपमा सहभागी भई सक्नुभएको छ । लैङ्गिक समानता र समावेशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरूको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य रहेको उपप्रमुख डंगोलले बताउनुभयो । उहाँले आगामी नोभेम्बरमा काठमाडौँमा फेस्टिभल हुने जानकारी पनि दिनुभयो ।