• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममा कम बजेट विनियोजन भयो : मन्त्री चौधरी

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी

काठमाडौँ, जेठ १६ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

बुधबार ललितपुरमा भएका छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएको हो । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपियाँको बजेट विनियोजन गरेको छ ।

मन्त्री चौधरीले आफूले उक्त कार्यक्रमका लागि निरन्तर बजेट बढी विनियोजन गर्न आग्रह गरेको भए पनि त्यसअनुसार बजेट विनियोजन हुन नसकेको जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई सबै महिलाहरूको नाराका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले महिलाको अधिकारका लागि बजेट माग्दा कम बजेट दिनुले आफूलाई ग्लानि महसुस भएको जिकिर गर्नुभयो । उहाँले महिलाहरू आर्थिक रूपले सशक्त नभईकन देश समृद्ध बन्न नसक्ने बताउनुभयो ।

मन्त्री चौधरीले अहिले नेपाली महिलाहरूले संवैधानिक रूपमा धेरै अधिकारहरू प्राप्त गरेको बताउनुभयो । यस वर्ष  ‘हाम्रो अभियान: आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ मनाइँदै छ ।