हरिप्रसाद कोइराला
उर्लाबारी, जेठ १५ गते । विराटनगर महानगरपालिका–१९ को वैजनाथपुरमा निर्माण प्रस्ताव गरिएको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको डिपिआर अझै बन्न सकेको छैन । गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला कोशी प्रदेशको सरकारी स्तरको एक मात्र क्रिकेट मैदान हो । २०५४ सालमा बहुउद्देश्यीय रङ्गशाला बनाउने योजनासाथ तत्कालीन सरकारले २०५५ सालमा यो जग्गा अधिग्रहण गरेको थियो । त्यसपछि सातौँ राष्ट्रिय खेलकुद आयोजनाका क्रममा त्यहाँ क्रिकेट खेल आयोजना गर्न पिच तयार गरिएको थियो । त्यसयता कुनै ठोस काम भएको छैन ।
स्थानीय, प्रदेश सरकारको बजेट आए पनि ती बजेटबाट उल्लेखनीय काम नभएको मोरङ क्रिकेट सङ्घका प्रशिक्षक महेश रिजालले बताउनुभयो । रिजालका अनुसार अहिले पनि वर्षायाममा खेल खेल्न सकिने अवस्था छैन । प्रदेशस्तरीय ठुला प्रतियोगितासमेत आयोजना भइसकेको क्रिकेट मैदान मर्मतमै वार्षिक तीन लाखभन्दा बढी खर्च हुन्छ । पूरै घाँस मार्न मिल्दैन । लगातार प्रतियोगिता गर्न सक्ने हाम्रो क्षमता छैन । प्रतियोगिता नभएका बेला घाँस उम्रिन्छ र समस्या हुन्छ । उहाँले एक साताभित्र नै १९ वर्षमुनिका खेलाडी छनोटका लागि खेल हुन लागेको बताउनुभयो ।
युवा तथा खेलकुद मन्त्रालयको योजना अनुगमन तथा विकास सहायता शाखाका अधिकृत गणेश गुरुङले मन्त्रालयबाट क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेर तीन वर्षभित्र सम्पन्न गर्ने गरी राष्ट्रिय योजना आयोगमा पत्राचार गरिएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/८१ मा ६६ करोड ९३ लाख, २०८१/८२ मा एक अर्ब ११ करोड ८९ लाख र २०८२/८३ मा ९७ करोड ९० लाख रुपियाँ आवश्यक पर्ने भनी बजेट माग गरिएको थियो तर आव २०८०/८१ सकिन ५० दिन मात्र बाँकी हुँदासम्म आयोजनाको डिपिआरले पूर्णता पाएको छैन । शाखा अधिकृत गुरुङले भन्नुभयो, “यो आवभित्रमा डिपिआरले पूर्णता पाउन सक्छ । अहिले डिपिआरको काम धमाधम भइरहेको छ ।”
कोशी प्रदेश खेलकुद बोर्डका प्राविधिक प्रमुख सोभित प्रसाईंका अनुसार यो मेघा प्रोजेक्ट हो । अर्बौं पैसा चाहिन्छ । टुक्राटुक्री बजेट आउँछ । त्यो टालटुलमै सकिन्छ । नेपाल सरकारको बजेट भाषणमा बजेटको सुनिश्चितता नभएसम्म रङ्गशाला निर्माण हुन गाह्रो छ । जिल्ला क्रिकेट सङ्घ मोरङका अध्यक्ष मोहम्मद साद कुरेसीका अनुसार सामाजिक विकास मन्त्रालयले दिएको एक करोड रुपियाँको बजेटबाट समेत काम सम्पन्न भएको छैन । कोभिडअघि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक करोड रुपियाँ विनियोजन गरेको थियो । पभेलियम रुमसहितको चार तला भव्य भवन बनाउन थालेको क्रिकेट सङ्घले काम बिचमै रोक्नु प¥यो । कोभिडको बहानामा काम रोकिएपछि उक्त आयोजना अहिले अलपत्र अवस्थामा छ ।
बहुउदेश्यीय खेल मैदानको अवधारण अनुसार खरिद गरिएको १५ बिघा १० कट्ठा जग्गामा टेनिस कोर्ट र सुटिङ हल (सुटिङ खेल्ने घर) समेत निर्माण भइसकेका छन् । ती दुवै अहिले संरक्षणको पर्खाइमा छन् । क्रिकेट मैदान वरिपरि घेरिएको भए पनि खेल मैदानको अरू जग्गा गौचरन बनेको छ ।
आयोजना परिसरको एउटा घरमा २०७० साल देखि ६५ वर्षीय सुकरेतलाल सरदार बस्दै आउनुभएको छ । चौकीदारका रूपमा बस्दै आउनुभएका सरदारले महिनौँदेखि तलब पाउनुभएको छैन । चौकीदारी गरेबापत खेल मैदानको एक बिगाहा जग्गा खेती गरेर उब्जनी सरदारले लिने गर्नुभएको छ । विराटनगर महानगरपालिका–१९ मा पर्ने यो विशाल आयोजनाभित्र चौकीदार गर्ने सुकरेतलालले मटीतेलको बत्ती बालेर बसेको १४ महिना भयो । आयोजनाले बिजुलीको बिल भुक्तानी नगरेपछि विद्युत् प्राधिकरणले लाइन काटेको प्रशिक्षक महेश रिजालले बताउनुभयो ।
क्रिकेट रङ्गशाला मात्र नभएर स्विमिङ पुल, कभर्ड हल, फुटबल मैदानसमेत निर्माण गरेर वैजनाथपुरलाई खेलकुद कम्प्लेक्स बनाइने महानगरको सपना छ । महानगरका प्रमुख नागेश कोइरालाले भन्नुभयो, “महानगरको स्रोतले धान्ने आयोजना होइन । हामीले हाम्रै पालामा रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउन पहल गरेका हौँ । हाम्रो बजेटले भ्याएसम्म रङ्गशालासम्म पुग्ने सडक र बत्तीका लागि सहयोग गरेका छौँ ।”
हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट करिब तीन करोडभन्दा बढी खर्च भइसकेको छ । क्रिकेटको टर्फ विकेट निर्माण भएको छ । जमिनलाई घेरा गरेर टर्फ विकेटसहित स्कोरर बोर्ड, साइड स्क्रिन र करिब सय जना अटाउने प्यारापिटसमेत निर्माण भइसकेको छ तर बजेटको सुनिश्चितता नभई सानातिना खर्चले मात्र यो आयोजना सम्पन्न हुने देखिँदैन ।