• ४ असार २०८१, मङ्गलबार

मेयर कप ब्याडमिन्टनमा पविन र निश्चल च्याम्पियन

blog

उपाधि विजेता खेलाडी । तस्बिर : गोरखापत्र

गोकुल भुजेल

भोजपुर, जेठ १४ गते । भोजपुर सदरमुकाम स्थित कभर्डहलमा सञ्चालित सातौँ संस्करणको मेयर खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाली सेनाका पविन लिङ्गथेप र भोजपुरका निश्चल खत्रीको जोडीले जित्नुभएको छ ।

आइतबार भएको फाइनल खेलमा पविन र निश्चलको जोडीले नेपाली सेनाका नरेन्द्र बम र हिमाल चन्दको जोडीलाई २१–१८, २०–२२, २१–११ ले पराजित गर्दै उपाधि जित्नुभएको हो ।

प्रतियोगितामा एपीएफका भोजबहादुर गुरुङ र भोजपुरका लाक्पा शेर्पा तथा सङ्खुवासभाका सुनिल कार्की र भोजपुरका महेश खड्काको जोडी सेमिफाइनलमा पुग्नुभएको थियो । प्रतियोगितामा विजेता, उपविजेता र सेमिफाइनलिस्टले क्रमशः ५० हजार २५ हजार, १२/१२ रुपियाँ पुरस्कार पाउनुभयो । 

मिक्स डबल्सतर्फ भोजपुरकी नङ्गशल तामाङ र एपीएफका भोजबहादुर गुरुङको जोडी विजयी, सङ्खुवासभाका सुनिल कार्की र इलामकी निसम सुब्बा दोस्रो, उदयपुरका विनय चौधरी र फिदिमकी छाया केरुङ तथा सेनाका नरेन्द्र बम र रिहाना शेरचनको जोडी संयुक्त चौथो हुनुभयो । विजेता, उपविजनेता र सेमिफाइनलमा पुग्नेलाई क्रमशः ३० हजार, २० हजार र १०/१० रुपियाँ पुरस्कार प्रदान गरियो । 

यस्तै यु–१५ छात्रातर्फको उपाधि सेनाकी रिहाना शेरचनले जित्नुभयो । सेनाकी संवृद्धि श्रेष्ठ दोस्रो, बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राई र भोजपुरकी नदिरा तामाङ संयुक्त रूपमा सान्त्वना हुनुभयो ।

सोही विधाको छात्रमासेनाका सुविन श्रेष्ठ पहिलो, सेनाका सुदेश राजकोटी दोस्रो र एनटिएससीका सुजल चौधरी र भोजपुरका सदीप राई संयुक्त सान्त्वना हुनुभयो । यस स्पर्धाको विजेता, उपविजेता र सान्त्वनााले क्रमशः १५ हजार, १० हजार र पाँच  हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

भेट्रान डबल्सतर्फ भोजपुरका राम राई र दानबहादुर तामाङको जोडी विजयी हुनुभयो । यस्तै पुरुष युगल ‘बी’ तर्फको प्रतिस्पर्धामा दमक एनबिएका जुनुन राई र प्रकाश राईको जोडीले बाजी मार्नुभयो । 

प्रतियोगितामा विजयी खेलाडीहरूलाई भोजपुर नगरपालिकाका प्रमुख कैला कुमार आले, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा एक सय ४५ खेलाडीले विभिन्न ६ विधामा प्रतिस्पर्धा गरेका थिए ।