• २ असार २०८१, आइतबार

कबड्डी टोली बङ्गलादेश प्रस्थान

blog

बंगबन्धु कपमा भाग लिने नेपाली कबड्डी टोली ।

काठमाडौँ, जेठ १० गते । चौथो वङ्गबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बङ्गलादेशको ढाका प्रस्थान गरेको छ । मे २६ देखि जुन ३ तारिखसम्म हुने प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहनेछ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । नेपाल रहेको समूह ‘ए’ मा बङ्गलादेश, श्रीलङ्का, इराक, मलेसिया र इन्डोनेसिया रहेका छन् । समूह ‘बी’ मा थाइल्यान्ड, जापान, पाकिस्तान, दक्षिण कोरिया, केन्या र पोल्यान्ड छन् ।

नेपाली टोलीको खेलाडीमा घनश्याम रोक्का मगर (कप्तान), गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा हुनुहुन्छ । 

टोलीका कप्तान घनश्यामले भारतको प्रो कबड्डी लिग खेलिसक्नुभएको छ । १०औँ संस्करणमा हरियाणा स्लिर्समा १३ लाख भारतीय रुपियाँमा अनुबन्ध हुनुभएको थियो ।

टोलीमा विष्णुदत्त भट्ट प्रशिक्षक, महेश चन्द व्यवस्थापक तथा तर्कराज भट्ट र रमेशचन्द्र ओझा अफिसियलको भूमिकामा बङ्गलादेश जानुभएको छ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बिहीबार नै बिदाइ गर्नुभयो ।