• १३ साउन २०८१, आइतबार

सामूहिक आलु खेतीमा किसानको आकर्षण

blog

रमेश विश्वकर्मा

गुल्मी, जेठ १ गते। गुल्मीको चन्द्रकोट गाउँपालिका–१, दिवुरङ्ग लुग्दीका ३४ घरपरिवार सामूहिक व्यवसायिक आलु खेतीमा लागेका छन्। आलु पकेट विकास कार्यक्रम अन्तर्गत १५० रोपनी क्षेत्रफलमा सामूहिक आलु खेती गरेका हुन्। यहाँका कृषकले ढोरपाटनबाट आलुको बिउ ल्याएर सामूहिक खेती सुरु गरेका हुन्। अहिले ‘एमएस’ ४२ नामक उन्नत जातको आलु लगाइएको छ। 

आलुको उत्पादनबाट भएको आम्दानीले घर खर्च चलाउन सहज सहज भएसँगै छोराछोरीको पढाइ र रोजगारीको लागि श्रीमान् विदेश जानुपर्ने बाध्यता टरेको कृषक राधिका खरेलले बताउनुभयो। आलु एकै पटक उत्पादन हुने तर एकै पटक बिक्री नहुँदा कुहिने र सड्ने डर भएको हुँदा गाउँपालिकाले कोल्ड स्टोरको व्यवस्था गरिदिन उहाँले आग्रह गर्नुभयो। 

सामूहिक आलु खेतीबाट गत वर्ष ४० लाख रुपियाँ आम्दानी भएको थियो। आलुले राम्रो उत्पादन दिएपछि गाउँका कृषक सन्तुष्ट रहेको उद्यमशील कृषक समूहका अध्यक्ष घनश्याम खरेलले बताउनुभयो। 


त्यहाँका कृषकले यस वर्ष ५२ लाख रुपियाँ बढीको आलु उत्पादन गर्ने लक्ष्य लिएका छन्। आलु पकेट विकास कार्यक्रम अन्तर्गत १८ लाख र उद्यमशीलता अन्तर्गत समूहको १३ लाख ६८ हजार गरेर कुल ३१ लाख ६८ हजार रुपियाँ लगानी भएको बताइएको छ। 

महिला तथा युवालाई गाउँमै स्वरोजगार तथा उद्यमी बनाउने उद्देश्य राखेर आलु खेती गरिएको चन्द्रकोट गाउँपालिका–१ का वडाध्यक्ष घनश्याम खरेलले बताउनुभयो। उहाँ विगत दुई वर्षदेखि आलु खेती गर्दै आउनुभएको छ। ग्रामीण क्षेत्रका कृषकलाई रोजगारी सिर्जना गर्दै गाउँमै आत्मनिर्भर बनाउनका लागि सामूहिक आलु खेतीमा गाउँपालिकाले जोड दिएको छ। 

आलु खेतीप्रति कृषकको आकर्षण बढेको हुँदा आलु पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिका अध्यक्ष युवराज खत्रीले जानकारी दिनुभयो। 

माटो सुहाउँदो बाली तथा फलफूल व्यावसायिक खेतीलाई विशेष प्राथमिकतामा राखिएको भन्दै उहाँले कृषिको माध्यमबाट युवालाई गाउँमै रोजगारीसँगै गाउँपालिकालाई कृषि तथा पशुपालनमा आत्मनिर्भर बनाउनेतर्फ लागिएको बताउनुभयो।