• १३ साउन २०८१, आइतबार

दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने

blog

मकवानपुर समाचारदाता

हेटौँडा, वैशाख ३१ गते । मकवानपुरका दुग्ध उत्पादक किसानले उत्पादन गर्दै आएको दुध मिल्क होलिडे, उचित मूल्य नपाउनेलगायतका समस्या झेलिरहेको समयमा पूर्वी मकवानपुरको बकैया गाउँपालिकाका किसानले उत्पादन गरेको दुध बिक्री सुनिश्चित भएको छ ।

बकैया गाउँपालिकाभित्र उत्पादन हुने दुध १० वर्षसम्म खरिद बिक्री गर्ने गरी गाउँपालिका र डेरी उद्योगबिच सम्झौता भएको हो । बकैया गाउँपालिका कार्यालय र भक्तपुरको चाँगुनारायण नगरपालिका–५, खरिपाटीस्थित शिवपुरी फ्रेसडे डेरी उद्योगबिच बकैया गाउँपालिकामा उत्पादित दुध खरिदसम्बन्धी १० बर्से सम्झौता गरिएको हो । 

गाउँपालिकाका तर्फबाट पालिका अध्यक्ष धर्मराज लामिछाने र उद्योगका तर्फबाट विश्वराम खड्काद्वारा हस्ताक्षरित सम्झौतापत्रमा पालिकाले उद्योगलाई दैनिक सात हजार लिटर दुध उपलब्ध गराउनुपर्ने उल्लेख छ । अध्यक्ष लामिछानेले अहिले दैनिक सात हजार लिटर दुध उपलब्ध गराउने बताउँदै आगामी दिनमा पालिकाभित्र उत्पादित सबै दुध उद्योगलाई उपलब्ध गराउने गरी सम्झौता भएको बताउनुभयो । 

अब पालिकाभित्रका किसानबाट उत्पादित बिक्रीको समस्या रहँदैन अध्यक्ष लामिछानेले भन्नुभयो, “यो सम्झौतासँगै पालिकाभित्र उत्पादित दुध बिक्रीको सुनिश्चितता भएको छ ।” कच्चा दुध खरिद बिक्रीसम्बन्धी सम्झौतामा दुधको मूल्य, गुणस्तर र उपलब्ध गराउनुपर्ने परिणामका बारेमा उल्लेख गरिएको छ । दुधको ढुवानी उद्योगले बकैया गाउँपालिका–७ स्थित पालिकाले स्थापना गरेको उद्योग ग्राममा रहेको दुध चिस्यान केन्द्रबाट गर्नुपर्ने गरी सम्झौता गरिएको छ । 

उद्योगले सम्झौतापत्रमा तोकिएबमोजिमको गुणस्तरयुक्त चिस्याइएको फ्याट प्रतिकेजी ७१५ रुपियाँ, एसएनएफ प्रतिकेजी ४५५ रुपियाँ र टिएस प्रतिकेजी ३७.५० रुपियाँका दरले भुक्तानी दिने र नेपाल सरकारले कच्चा दुधको मूल्य वृद्धि गरेमा दुवै पक्षको आपसी समझदारीमा मूल्य हेरफेर गर्न सक्ने उल्लेख छ । दुध बिक्रीको विवरण उद्योगले प्राप्त गरेपछि महिनाको १ देखि १५ गतेसम्मको सोही महिनाको २५ गतेभित्र र १६ गतेदेखि मसान्तसम्मको भुक्तानी आगामी महिनामा एकमुष्ट भुक्तानी गर्नुपर्ने र तोकिएको समयमा उद्योगले भुक्तानी नगरेमा प्रतिलिटर १५ पैसाका दरले जरिबाना भुक्तानी गर्नुपर्ने गरी सम्झौता गरिएको छ ।