• ८ मंसिर २०८१, शनिबार

पर्यटन प्रवर्धन गर्दै सर्जक

blog

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख ३१ गते । पर्यटनको राजधानी पोखरा र गण्डकी प्रदेशको सांस्कृतिक र पर्यटन प्रवर्धनमा लेखक/साहित्यकारको विशेष भूमिका छ । पोखराको सुन्दरता बखान गरिएका केही गीत मान्छेको जिब्रामै झुन्डिएका छन् भने पानी रङको सहरका रूपमा यसको पृथक् पहिचान पनि छँदै छ । साहित्यकारहरूले पोखराका समस्या, सम्भावना र सुन्दरता मात्र सिर्जनामा उतारेका छैनन्, अभियानै चलाएर सर्वसाधारणलाई संस्कृति बुझाउने र पर्यटन प्रवर्धन सँगसँगै गर्दै आएका छन् । 

२०५५ सालबाट सुरु भएको संरक्षण कविता आन्दोलनले साठी शृङ्खला पार गरेको छ भने २०६२ सालमा सुरु भएको अक्षरयात्राका २१० शृङ्खला भइसकेका छन् । संरक्षण कविता आन्दोलनका संयोजक सरुभक्त कार्यक्रम सुरु गर्दा मुस्ताङको मुक्तिनाथ हिँडेरै पुगेको र ठाउँ ठाउँमा कार्यक्रम गर्दै पैदलै पोखरा फर्किएको सम्झनुहुन्छ । यस्ता अभियानले नेपाली वाङ्मयलाई जनस्तरसम्म चिनाउने र पर्यटन प्रवर्धन पनि गर्ने उहाँको ठम्याइँ छ । उहाँका अनुसार, “पहिलो काम त यस्ता अभियानले साहित्य, संस्कृतिबारे सर्वसाधारणलाई बुझाउन मद्दत गर्छन्, दोस्रो ती अभियानमा सर्जकहरू ठाउँ ठाउँमा पुग्दा र ती ठाउँ र बासिन्दाका समस्या र सम्भावनाबारे लेख्दा पर्यटन प्रवर्धन पनि हुन्छ ।”

‘जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने उद्घोषका साथ अक्षरयात्रा–२०६६ मा घोषणापत्र नै जारी भएको छ । २०६२ साल असार १८ गते पोखरा महानगरको बेगनासताल छेउको सुन्दरीडाँडामा पहिलो कार्यक्रम भएदेखि अहिलेसम्म दुई सय १० वटा कार्यक्रम भइसकेका छन् । गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले संयुक्त रूपमा चलाउँदै आएको यो अभियानमा सर्जकले कुनै ठाउँमा पुगेर त्यहीँको परिवेशमा सिर्जना गर्ने गरेका छन् । गजल सन्ध्या पोखराका अध्यक्ष मन क्षेत्री जहाँ गरिएका सिर्जना हुन्, त्यहीँ स्थानीयको समेत सहभागितामा रचना सुनाउने गरिएको बताउनुहुन्छ । अभियानले भाषा, साहित्यसँगै पर्यटनका सम्भावनालाई सिर्जना, समाचारका माध्यमबाट उजागर गर्ने गरेको उहाँको भनाइ छ । अक्षरयात्री सुरज उपाध्याय अक्षरयात्रा स्थानीय प्रतिभा र सम्भावनालाई केन्द्रीय प्रतिभा र सञ्चार जगत्मा जोड्ने सेतु बन्दै गएको विचार राख्नुहुन्छ । 

संरक्षण कविता आन्दोलन, अक्षरयात्रा जस्ता अभियानले सर्जकलाई परिष्कृत हुँदै राष्ट्रिय पहिचान स्थापित गर्न पनि सघाएका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ साहित्य, सङ्गीत, सिनेमा जस्ता माध्यम पर्यटन प्रवर्धनमा निकै प्रभावकारी हुने बताउनुहुन्छ । “साहित्य, सिनेमा, कलाबाट सम्पदाको अन्तर्राष्ट्रियकरण गर्न बल मिल्छ,” उहाँ भन्नुहुन्छ । अभियानका सहभागीले गाउँ र सहरलाई जोड्ने काम पनि गरेका छन् । सँगसँगै नीतिनिर्माता र सरोकारवालालाई सजग पनि गराउँदै आएका छन् ।