काठमाडौँ दरबार स्क्वायरबाट सात किलोमिटरको दुरीमा रहेको बौद्धनाथ स्तूप करिब १५ रोपनीमा फैलिएको छ । सय फिटको व्यास भएको गर्भगृह छ भने बौद्ध स्तूपको कुल उचाइ १४१.८ फिट रहेको तथ्याङ्कले देखाउँछ । स्तूपमा विभिन्न भागमध्ये पाँच वटा मुख्य तहलाई सृष्टिका पञ्चत्वकाे प्रतीक मानिन्छ ।
काठमाडौँको बौद्धस्थित बौद्धनाथ स्तूप वि.सं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा पुरात्व विभागको प्राविधिक सहयोग र विभिन्न सङ्घ संस्था तथा निकायको आर्थिक सहयोगमा २०७२ मङ्सिरबाट पुनर्निर्माण कार्य थालनी भएर २०७३ कात्तिकमा सम्पन्न गरी सर्वसाधारणका लागि खुला गरियो ।
काठमाडौँ महानगरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । नेपालको सबैभन्दा ठुलो गोलाकार भएको स्तूपलाई सन् १९७९ मा राष्ट्रसङ्घको विश्वसम्पदा सूचीमा राखिएको हो । स्तूपलाई संस्कृत भाषामा ‘स्तूप:’ र प्राकृत (पाली) भाषामा ‘थुप’ भनिन्छ । संस्कृतमा स्तूपको अर्थ सञ्चित गर्नु, एकत्रित गर्नु, उठाउनु, स्मृति चिह्न वा चिता हो ।
बौद्धनाथ स्तूपको निर्माण पाँचौँ शताब्दीमै भएको मानिन्छ । लिच्छवि राजा शिवदेवको पालामा बौद्धनाथ पत्ता लागेको इतिहास पाइन्छ भने दक्षिणबाट मुगलको आक्रमणमा बौद्ध स्तूप ध्वस्त भएपश्चात् १४ औँ शताब्दीतिर पुनर्निर्माण गरिएको इतिहासमा उल्लेख छ । सन् १९५९ तिब्बतमाथि चीनको आक्रमणले गर्दा हजारौँ सङ्ख्यामा आएका तिब्बती शरणार्थी नेपाल आएपश्चात् बौद्धनाथ स्तूप तिब्बती बुद्ध धर्मको आस्थाको मुख्य केन्द्र बनेको छ । तिब्बती इतिहासमा बौद्धनाथ स्तूपलाई झ्यारुङ् खस्योर नाम उल्लेख गरिएको छ । तिब्बती भाषामा झ्यारुङ्को अर्थ ‘गर्न हुने’ र खस्योरको अर्थ ‘वचन खुस्केको’ भन्ने हुन्छ ।
बौद्धनाथको पौराणिक इतिहासमा बताए अनुसार स्तूप निर्माताले चैत्यका लागि राजालाई जमिनको स्वीकृति माग्दा राजाको मुखबाट चैत्य बनाउने काम थालनी गर्दा हुन्छ भन्ने वचन खुस्केको हुनाले स्तूपको नाम झ्यारुङ् खस्योर रहेको भनाइ प्रचलित छ । झ्यारुङ् खस्योर नाम रहन गएको सन्दर्भमा एकअर्को बौद्ध मिथक पनि रहेको छ, बुद्धले निर्वाण प्राप्त गरेको केही समयपछि नै झ्याझिमा नामक एक महिलाले राजाको अनुमति लिई महाचैत्य निर्माण गरिएको हो ।
बौद्धनाथ स्तूप निर्माणको इतिहासलाई लिएर विभिन्न मतान्तर भए जस्तै नाममा पनि मतान्तर देखिन्छ । विभिन्न समुदायविशेषले विविध नाम दिई पुकार्दै आइरहेको पाइन्छ । तिब्बतीले झ्यारुङ् खस्योर, स्थानीय तामाङ समुदायले खस्योर छ्योर्तेन नामले पुकार्छन् । यस्तै नेपालभाषामा शीतलाई ‘खसूँ’ र त्यही शीतबाट झरेको पानीलाई ‘ती’ अर्थात् खसुती भनियो । शीतबाट बनेको पानी प्रयोग गरी यो स्तूप बनाइएको हुँदा खसुती भनिन थालियो । पछि खसुतीकै अपभ्रंश भई खास्ती बोलिन थालेको भन्ने व्यापक धारणा छ ।
नेपाल संवत् ७९८ तिर लेखिएको ठ्यासफुमा बौद्ध स्तूपलाई ‘खासे चितस’ (खासे चैत्य) भनिएको छ भने गोपाल राजवंशावलीमा भने ‘खासौ चेत’ (खासौ चैत्य) सम्बोधन गरिएको छ । १८ औँ शताब्दीका तिब्बती गुरु आठौँ सितुपन्चेन (सन् १७००–१७७४) जसले काठमाडौँमा पटक पटक भ्रमण गरेर लेखेको टिपोटमा हामीले भन्ने गरेको झ्यारुङ् खस्योरलाई नेपालीमा खासा नाम दिइएको रहेछ । खासा भनेको संस्कृत शब्द खाताको अपभ्रंश रूप हो लेखिएको छ ।
बौद्ध स्तूपलाई विभिन्न नाम दिने क्रममा खासा नाम लामो समयसम्म चलेको पाइन्छ । १९ औँ शताब्दीमा नेपाल आएका डाक्टर हेनरी ओल्ड फिल्डले काठमाडौँमा छ वर्ष बसेर तयार पारेको ‘स्केचेज फ्रेम नेपाल’ नामक पुस्तकमा खासा लामाको अवतार राजा मानदेव भएको र यस कारणले गर्दा बौद्धनाथ चैत्यलाई खासा चैत्य भनिन्छ भनी लेखिएको छ ।
डानियल राइटद्वारा सम्पादित १९ औँ शताब्दीको एक वंशावली अनुसार भने यो महाचैत्य राजा मानदेव प्रथमले सन् ४६४–५०५ मा निर्माण गर्न लगाएको कुरा उल्लेख गरेको छ भने नेपाली समाजमा प्राप्त अन्य भाषा वंशावली, सङ्क्षिप्त वंशावली, नेपाली भूपवंशावली, देवमाला नामक आधुनिक कालका थुप्रै वंशावलीले पौराणिक ढङ्गबाट भूपकेशरी मानदेवको बौद्ध मन्दिर (खासा चैत्य) निर्माणको कथालाई प्रस्तुत गरिएबाट नेपाली समाजमा राजा मानदेवलाई नै बौद्ध स्तूपको निर्माताको श्रेय दिइएको छ ।
काठमाडौँ दरबार स्क्वायरबाट सात किलोमिटरको दुरीमा रहेको बौद्धनाथ स्तूप करिब १५ रोपनीमा फैलिएको छ । सय फिटको ब्यास भएको गर्भगृह छ भने बौद्ध स्तूपको कुल उचाइ १४१.८ फिट रहेको तथ्याङ्कले देखाउँछ । स्तूपमा विभिन्न भागमध्ये पाँच वटा मुख्य तहलाई सृष्टिका पञ्चत्वको प्रतीक मानिन्छ । सबैभन्दा तल्लो भागको दक्षिणपथका १४७ वटा खोपामा ६४९ माने छन् ।
‘ओम् मणि पद्मे हुँ‘’ मन्त्र जप्दै महाचैत्यको परिक्रम गर्ने गर्दछन् बौद्ध धर्मावलम्बीहरू । पेमा काथाङ नामक बौद्ध ग्रन्थ अनुसार शुद्धचित्त र आसयले स्तूपको परिक्रमा गरेमा अकल्पनीय र अवर्णनीय पुण्य लाभ मिल्ने उल्लेख गरिएको छ ।
गर्भदेखि मुन्तिर १०८ वटा खोपामा वोधिसत्व, डाकिनी, इष्टदेव, सिद्धहरूको १०८ वटा प्रस्तर मूर्ति रहेका छन् । स्तूपमा दुई वटा आँखा रहेको भागलाई ‘हार्मिका’ भनिन्छ । चारै दिशातर्फ रहेको यस आँखाले चार आर्यसत्य र आर्यअष्टाङ्गिक मार्गको सङ्केत गर्दछ । आँखामुनिको प्रश्नचिह्न जस्तो देखिने भागलाई निर्वाणको प्रतीक चिह्न मानिन्छ; जसलाई पाली भाषामा अङ्क एक मानिन्छ भने आँखाको बिच माथितिर रहेको टीकाले प्रज्ञा पारमिताको सङ्केत गर्दछ । यस्तै आँखाभन्दा माथि १३ वटा तह छन्; जसलाई बौद्ध सिद्धान्त अनुसार प्रत्येक बोधिसत्वले पार गर्दै जाने तेह्र भुवनका रूपमा लिइन्छ ।
१८ औँ शताब्दीको अन्त्यमा चीन सरकारले विशेष लामाको नियुक्ति गरी बौद्धनाथ कुण्डको रेखदेख, पूजापाठ र सुरक्षा व्यवस्था गरेका थिए । उनै लामाका सन्तानलाई अझै चिनियाँ लामा भन्ने गरिन्छ । स्तूपको निर्माण चरा वर्षबाट सुरु गरेको र चरा वर्षमा नै सम्पन्न भएको अर्थात् १२ वर्ष लागेको विश्वास गरिन्छ । यही भएर प्रत्येक १२ वर्षमा यो मेला लाग्दछ ।
बौद्ध पात्रो अनुसार हरेक १२ वर्षको चरा वर्षमा बौद्धनाथ कुण्ड दर्शन गर्ने परम्परा भएकाले देश–विदेशबाट हजारौँ सङ्ख्यामा स्तूप परिसरमा अवस्थित कुण्ड दर्शन गर्न तथा जल निकाल्नका लागि बौद्ध धर्मावलम्बीको ठुलो मेला लाग्ने भएको हुनाले हरेक १२ वर्षमा बौद्धनाथ कुण्डमा पानी भरिन्छ । यो कुण्ड दर्शन मेला नेपालको हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको महान् चाड ल्होसारको बेला पर्दछ ।
यस्तै तामाङ समुदायले प्रत्येक वर्ष चैत्र शुक्लचतुर्दशीका दिन बेलुकी दिवङ्गत आत्माको शान्तिको कामना गर्दै बौद्ध चैत्यमा बत्ती बाली लामागुरुद्वारा ङोवा (पूजापाठ) गर्ने गरिन्छ । जात्रा सुरु भएकोबारे यकिन नभए पनि काभ्रेस्थित तिमालका अन्तिम राजा रिञ्जेन दोर्जे वलले आफ्ना जनतालाई दिवङ्गत आत्माको शान्तिका लागि बौद्धमा गएर बत्ती बाल्नका लागि व्यवस्था मिलाएर राजकीय मान्यता दिएको जनविश्वास रहेको पाइन्छ ।