• ७ जेठ २०८१, सोमबार

लुम्बिनीमा चार सय २१ आगलागीका घटना, पाँचको मृत्यु

blog

डढेलोबाट प्रभावित बनेको बाँकेस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रको दायाँबायाँको वन । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, वैशाख २६ गते ।
 वैशाख महिनाको सुरुआतसँगै लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा फैलिएको आगलागी तथा वन डढेलोको प्रकोपका प्रदेशभर चार सय २१ वटा आगलागीका घटना भएका छन् भने आगलागीमा परी पाँचको ज्यान गएको छ ।

लुम्बिनी प्रदेशमा रहेका १२ वटा जिल्लाहरूमा वैशाखको सुरुआतसँगै फैलिएको आगलागी तथा वन डढेलोको प्रकोपका चार सय २१ वटा घटना भएको र ९३ वटा नगरपालिका तथा गाउँपालिका प्रभावित बनेको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिनुभयो ।

सचिव कवारीका अनुसार आगलागीमा परी विभिन्न जिल्लाका पाँच जनाको ज्यान गएको छ भने १७ जना नागरिक घाइते भएका छन् । आगलागीले तीन सय ६४ घर पूर्णरुपमा क्षति भएको र ४१ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी तीन सय ६० वटा गोठमा क्षति पुगेको छ भने चार सय ५८ वटा पशु चौपायाको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

आगलागीमा परी मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मी जिल्लाका रहेका छन् । गुल्मी जिल्लामा तीन जनाको मृत्यु भएको सचिव कवारीले जानकारी दिनुभयो । उहाँका अनुसार गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं. ५ की एक महिला, छत्रकोट गाउँपालिका ४ की एक महिला र मुसीकोट नगरपालिका वडा नं. १ का एक पुरुषको मृत्यु भएको छ ।

यसैगरी, भुमिकास्थान नगरपालिका वडा नं. ५ अर्घाखाँचीमा एक जना महिला र लमही नगरपालिका वडा नं. ९ दाङका एक पुरुषको आगलागीमा परी ज्यान गएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट प्रभावित परिवारहरूलाई राहतस्वरुप दुई करोड ७१ लाख २५ हजार रुपियाँ निकासा भई उपलब्ध गराइएको छ । जसमध्ये ७२ लाख ९५ हजार रुपियाँ राहतस्वरुप रकम प्रदान गरिएको र एक करोड ९८ लाख ३० हजार रुपियाँ पुनर्निर्माणका लागि उपलब्ध गराइएको हो ।

राहत वितरण कार्यलाई थप प्रभावकारी र समन्वयात्मक बनाउन मन्त्री र प्रदेश विपद् व्यवस्थापन समितिका पदाधिकारीहरूबाट प्रभावित क्षेत्रमा स्थलगत भ्रमण तथा अनुगमन हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

सुख्खा मौसम तथा हावाहुरीका कारण आगलागी तथा वन डढेलो अधिकांश स्थानमा फैलिन गई धेरै जनधन, वन्यजन्तु तथा पशुपन्क्षीमा क्षति पुगेको र सर्वसाधारण नागरिकहरूमा वन डढेलो सम्बन्धी गलत बुझाइ र अवधारणाका कारण पनि पछिल्ला वर्षमा वन डढेलोका प्रकोपहरू बढ्दै गएको मन्त्रालयले जनाएको छ ।

आगलागी तथा वन डढेलो प्रकोप नियन्त्रण गर्न पर्याप्त आधुनिक उपकरण र औजारको कमी हुनुका साथै दक्ष जनशक्तिको अभावले गर्दा समयमै नियन्त्रणमा लिन कठिनाइ भएको र प्रभावित परिवारको अवस्था र आसन्न मनसुनलाई मध्यनजर गरी राहत र पुनर्निर्माणका लागि थप रकम निकासा भई उपलब्ध गराउँदै आएको तथा प्रदेश सरकार प्रभावित परिवारको सहज बसोबासको व्यवस्था र पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय सहकार्य गरी अगाडि बढिरहेको मन्त्रालयले जनाएको छ ।