• ७ जेठ २०८१, सोमबार

नवनिर्वाचित सांसद नेम्वाङद्वारा शपथ

blog

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङ सभामुख देवराज घिमिरेसमक्ष शपथ लिनुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, वैशाख २६ गते । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिनुभएको हो ।

सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतीक चिह्न प्रदान गर्नुभयो । सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान/ऐन/नियमका सामग्री प्रदान गरेका थिए ।

कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित हुनुहुन्थ्यो ।


यही वैशाख १५ गते भएको उपनिर्वाचनबाट एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुवास नेम्वाङ विजयी हुनुभएको थियो । तर गतवर्ष भदौमा सुवासको निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो । सुहाङले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई हराउँदै विजयी हुनुभएको थियो ।